|

पर्वत : नेपाली लोक संगीतमा कुनै बेला राम्रो नाम र दाम कमाएका कलाकारहरूको अग्रपंक्तिमा आउने कलाकार हुन् बुद्धिराम शर्मा। उनले सुन्तला फूल खेल्दै आयो, जुन उदाए तारा मधुरो, फूल झर्‍यो र, रुमाल रझाउँछु, हावा चलोस पात नझरोस्, पानी कुवाको लगायतका हिट गीत बनाएका उनले झण्डै २ दर्जन एल्बम बजारमा ल्याएका छन्।

हे हिउँद महिना कुम जोडी सँगसँगै बसियो,
आजभोलि लायो बर्खा झन माया कसियो।।
हे सुन्तला फूल खेल्दै आयो, अब त बर्खा लाई गयो।

स्टेजमा पनि राम्रो ठाउँ पाउने गरेका बुद्धिराम शर्माका लयहरू नेपाली लोकगीतको मुटु जस्तै छन्। तर यिनै कलाकार गुमनाम छन् हिजोआज। उनको नाम न त मिडियामा आउँछ, न त उनका एल्बमहरू नै बजारमा आएका छन्। लोक संगीतमा लय र शब्दका लागि एकताका बुद्धिराम भनेपछि सबैले खोजी गर्थे। झण्डै एक दशक अगाडिसम्म पनि कोही कलाकारको गीत सफल बन्नको लागि कि त बुद्धिरामको लय चाहिन्थ्यो, कि त उनले लेखेका शब्द।

सफल कलाकारको पहिचान बनाएका शर्मा हिजोआज भने गीत छोडेर गाइमा रमाउन थालेका छन्। लोकसंगीतबाट टाढिएका उनलाई अहिले गीतको भन्दा गोठभरि पालिएका गाइको चिन्ता बढी छ। गाईपालन बाहेक कफी खेती, कुखुरापालन, माछा पालन गर्नमा नै बुद्धिरामका दिन बितिरहेका छन्। पर्वतको फलेवास नगरपालिका-१० कुर्घाको आँगाखेतमा  वि.सं. २०२६ सालमा जन्मिएका शर्मा सांगीतिक जीवनबाट टाढिएपछि कृषि फर्म खोलेर जिल्लाकै नमुना कृषकको पहिचान बनाउन सफल भएका छन्। ‘सुन्तला फूल खेल्दै आयो’ गीतबाट आफूलाई देश बिदेशमा परिचित बनाएका बुद्धिरामले आफ्नाे कृषि फर्मको नाम पनि ‘सुन्तला फूल खेल्दै आयो गाई फर्म’ भनेर नामकरण गरेका छन्। उनको गोठमा अहिले ७ ओटा होलीस्टोन जातका गाई पालिएका छन्।

शर्माले पालेका गाइले दैनिक झण्डै ८० लिटर दूध दिन्छन् जसलाई उनले बृहत कुर्घा गाईपालन समूह मार्फत पोखरा निर्यात गर्दै आएका छन्। दूध बेच्नु बाहेक उनले लगाएका ३०० कफीका बोटबाट पनि राम्रै आम्दानी हुने गरेको छ। गीत क्षेत्रमा रहँदा गीतमै रमाउने उनी गाईपालन क्षेत्रमा आएपछि गाई कै क्षेत्रमै खुसी छन्। कृषि कर्मबाट समेत सफल बनेका बुद्धिराम भन्छन्, ‘गीत संगीतबाट असफल भएर यता लागेको होइन। संगीतमा रहँदा रहँदै अब गाउँमै गएर केही गर्नुपर्छ भन्ने भावना जाग्यो, काठमाडाैं छोडेर गाउँमै आएर कृषि फर्म खोलेँ, अहिले यसैले जिल्लाको नमुना कृषकको रुपमा चिनाएको छु।’ 

शर्माले महिनामा झण्डै सवा लाख रुपैयाँ सम्मको कारोबार गर्दै आएका छन् भने झण्डै ६० हजार रुपैयाँ नाफा हुने गरेको उनले सुनाए। यो आम्दानीबाट उनी खुसी छन्। शर्माले भने, ‘३ छोराहरू बिदेशमा छन्। यहाँ म श्रीमती, बुहारी र नाति नातिनाका साथमा छु। यति पैसा भएसी पुगेकै छ।’ कृषिमा काम गर्न उत्तिकै चुनौती रहेको पनि बुद्धिरामको भोगाई छ। तर व्यवसायिक रुपमा गर्ने हो भने हरेक कुरामा सफलता पाउन सकिने उनको भनाई छ।

पछिल्लो पटक उनले पालेका गिरीराज जातका केही कुखुरा बाघले खाएको उनले सुनाए। ‘खोरमा ३ तहमा जाली लगाउँदा पनि बाघले च्यातेर खाइदिएछ। २५/३० हजार रुपैयाँ घाटा भयो’ उनले भने। शर्मालाई कृषिमा प्रेरणा दिनकै लागि फलेवास नगरपालिकाले एक लाख रुपैयाँ अनुदान समेत उपलब्ध गराइसकेको छ।त्यसबाहेक आवश्यक प्राविधिक ज्ञान तथा सल्लाहको लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालय पर्वतबाट पनि आवश्यक सहयोग पाएका थिए।

 बुद्धिरामलाई सफल कृषक बनाउन प्रेरणा दिने व्यक्ति वर्तमान कार्यालय कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मी हुन्। बुद्धिराम भन्छन्, ‘बासु सरले सुरुमा कुर्घाको जमिन उत्पादनशील छ। कलाकारितासँगै गाउँमै केही गर्नुपर्छ भन्नुभयो। उहाँकै सल्लाहमा गाउँमै पुगेर गाईपालन, कुखुरापालन, माछापालन, कफी खेती र तरकारी खेती सुरु गरेँ।’

आफ्नै प्रेरणाबाट कृषिमा लागेका देशकै गहना कलाकार सफल कृषक बनेको देख्दा रेग्मी पनि दंग छन्। त्यसैले पनि उनले हरेक कार्यक्रमहरुमा सफल कृषकको नाम लिनुपर्दा ‘कुर्घाका बुद्धिराम शर्मा जस्तै बन्ने प्रयास गर्नुहोस्’ भनेर नाम लिने गरेका छन्। रेग्मीले भने,‘अहिले कृषि भ्रमणमा जानेहरू कुर्घासम्म पुग्छन्।बुद्धिरामको काम र दैनिकी हरेर आउँछन्। उहाँ जिल्लाकै सफल र नमुना कृषक बन्दा म त सबैभन्दा खुसी छु।’

लोक संगीतको क्षेत्रबाट अझै पनि नटाढिएको बुद्धिराम बताउँछन्। केही समय अगाडि आफूले नै लय बनाएको गीत बजारमा आएको बताउँदै उनले भने, ‘होइन होइन म संगीतक्षेत्रबाट हराएको छैन। फेरि गीत लिएर आउँछु नि। यता व्यस्त भएका कारण गीत बनाउन नभ्याएको भएर हराए जस्तो देखिएको हो।’ आफ्ना गाई, कुखुरा, माछा, कफी र तरकारीको माया जति लाग्छ, गीत र संगीतको क्षेत्रमा पनि माया उत्तिकै लाग्ने बुद्धिराम बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.