|

सुनसरी : सुनसरी ग्रामीण क्षेत्रमा घर भएकी एक युवतीको आर्थिक अवस्था एकदम कमजोर छ। बस्नका लागि घर छ तर घर भएको जग्गा आफ्नो होइन। उनका बुबा गाडी चलाउँछन् तर यसबाट कमाएको पैसा घर पुग्दैन। बेलुका रक्सीमा सकिन्छ। उनकी आमाले घाँस, दाउरा काटेर बेचेको आम्दानीको भरमा दुई छोराछोरी पाल्न धेरै नै कठिनाइ थियो।

कक्षा ७ मा पढ्दै गरेकी १४ वर्षीया ती किशोरीले सबै माया मारेर आफ्नो पेट पाल्न होटलमा काम गर्न शहर पस्ने निर्णय गरिन्। यो पाँच वर्षअघिको कुरा हो।

होटलमा भाँडा माझ्ने काम त पाइन् तर होटल मालिकले उनलाई राख्नुको उद्देश्य अर्कै थियो। जबर्जस्ती उनले होटलमा ग्राहकको यौन सन्तुष्टि पूरा गर्नुपर्‍यो उनले। यस्तो काम गर्दिनँ भन्दा उल्टै काम छोड्न धम्की आयो। खान लाउन नै समस्या भएपछि उनी बाध्य भएर यौन बजारमा प्रवेश गरिन्। 

पूर्वी पहाडी जिल्लाबाट सुन्दर सपना देखेर २१ वर्षकी अर्की युवती सुनसरी आइपुगिन्- २०७० सालमा, जति बेला उनी १९ वर्षकी मात्र थिइन्। दुई जना दिदी र तीन जना दाजुभाइकी चेली उनलाई सुनसरी आउनुपर्नाका कारण थियो- घरमा हुने हिंसा र विभेद। घरको आर्थिक अवस्था कमजोर थियो। पाखोबारीमा फलेको अन्न पातले घरमा खान लाउन मुस्किल पर्थ्यो। आर्थिक अवस्था कमजोर भएका कारण यसैको निहुँमा घरमा झगडा भइरहन्थ्यो। छोरी भएका कारण पनि उनले हिंसा र विभेद सहनुपर्‍यो।

झगडा र विभेदले उनलाई घर छाड्न पाए पनि हुन्थ्यो जस्तो लाग्थ्यो। घरभित्रै भाइलाई माया र आफूलाई हेला भएपछि उनको मनमा ग्लानि बढ्दै गयो। सुनसरी आएर काम गरेर घर फिरेकाहरूले भन्ने गर्थे- सुनसरीमा गएपछि काम पाइन्छ। उनले पनि सुनसरी आउने र दुई चार पैसा कमाएर घरको गर्जो टार्ने सपना देखिन्। एसएलसी पास नभएपछि शहरी सपना देखेर सुनसरी हानिएकी उनलाई शहरको सपनाले झन् दु:ख दियो। आफन्तकहाँ सुरुका केही दिन बस्दा एउटा पसलमा काम त पाइन् तर महिनावारी पाउने ३५ सय रुपैयाँले उनको जिन्दगी चलेन। खान लाउनै धौधौ परेपछि चिनेजानेका साथीसँग होटलमा काम गर्न पुगिन् तर होटलमा भनेजस्तो काम पाइनन्। शहरमा टिक्नकै लागि उनले यौन बजारमा ग्राहकको चित्त बुझाउनुपर्ने काम गर्नुपर्‍यो। 

पूर्वी नेपालको झापाको ग्रामीण क्षेत्रबाट सुनसरीमा भविष्य खोज्न आइपुगिन् २५ वर्षीया अर्की युवती। एउटा कम्पनीमा काम गरेर पेट पाल्नै नसक्ने भएपछि झापाको एउटा होटलमा काम थालिन् उनले। खाना पकाएर बेच्ने होटलमा काम गर्दागर्दै उनले पनि ग्राहकको मनोरंजनका लागि बाध्यताबस प्रयोग हुनुपर्ने दिन आयो। 

यी माथिका तीन जना युवतीको घटना प्रतिनिधिमूलक मात्र हुन्। उनीहरू जस्ता धेरै युवतीहरू अहिले यौन पेसामा पस्न बाध्य छन्। यसको मुख्य कारण विपन्नता र हिंसा रहेको पाइएको छ। एकातिर परिवारमा आर्थिक कमजोरी, अर्कातिर आफन्तबाटै कुटपिट तथा दुर्व्यवहार। यस्तै समस्याका बाबजुद पूर्वी पहाड तथा तराईका गाउँठाउँबाट किशोरीहरू कामको खोजीमा शहरमा भौँतारिने गर्छन्। 

होटल तथा रेस्टुराँमा मनोरंजन क्षेत्रमा किशोरी र केही महिलाहरू पनि संलग्न रहेका पाइन्छ। उनीहरू होटल, रेस्टुराँ, बार, सेकुवा घरहरू र खाजा घरहरूमा कार्य गरिरहेका पाइन्छ। तर उनीहरूमध्ये धेरैजसोलाई सम्मानजनक तरिकाले काम गर्न अप्ठ्यारो परिरहेको छ। विशेषगरी किशोरीहरू यौन तथा विभिन्न जोखिमपूर्ण काममा हिंसामा धकेलिँदै गएका स्थानीय बताउँछन्।

किशोरीहरूले इच्छाले होइन, विभिन्न करकाप तथा बाध्यताले यौन व्यवसाय अँगालेका पाइन्छ। सुनसरीका होटल तथा रेस्टुराँमा सुनसरी र मोरङ, पहाडी जिल्ला संखुवासभा, भोजपुर, धनकुटा, तेह्रथुमलगायतका ठाउँबाट केही गर्ने सपना बोकेर किशोरी र युवतीहरू आउने गर्छन्। अवसरको खोजी गर्दै जाँदा सबैभन्दा पहिलेचाहिँ होटल तथा रेस्टुराँमा भाँडा माझ्ने, खाना पकाउने, सरसफाई, वेटर जे भए पनि गर्ने भन्दै ठोकिन पुग्छन् अनि विस्तारै उनीहरू विभिन्न किसिमको यौनजन्य काममा धेकेलिने गरेको पाइएको प्रहरीको भनाइ छ। 

विपन्नता र हिंसा प्रमुख कारण 

किशोरीहरूले इच्छाले होइन, विभिन्न करकाप तथा बाध्यताले यौन व्यवसाय अँगालेको पाइने गरेको एक युवतीले बताइन्। उप्का नेपाल नाम गैरसरकारी संस्थाले केही समयअघि गरेको एउटा सर्भेअनुसार सुनसरीको इटहरीमा एक हजार बढी होटल रहेका छन्। तीमध्ये झण्डै ४०० मात्र दर्ता छन्। सुनसरीको धरान, इनरुवामा पनि इटहरीको तुलनामा केही कम होटलहरू रहेका छन्। उप्का नेपालको तथ्यांकमा १३७ महिला तथा किशोरीहरू होटलमा जोखिमपूर्ण काम गरिरहेका छन्। उप्का नेपालको सम्पर्कमा १८ वर्षमुनिका चार जना मात्र छन्। २५ वर्षमाथिका ३८ जना रहेका छन्। पहिले १८ वर्षमुनिका दुई हजारको हराहारीमा भएकोमा अहिले यो संख्या घटेको छ।  

शैली फेरियो, पेशा फेरिएन  

चार वर्षअघि सुनसरीको इटहरीमा प्रहरी नायव उपरीक्षक विनोद शर्मा आएपछि इटहरीमा हुने गरेको यौन व्यवसाय धरासायी भयो। शर्माको पहिलो प्राथमिकता नै यौन व्यवसाय र गुण्डागर्दी हटाउने थियो। उनको यो कामलाई नागरिक समाज, संचारकर्मी, बुद्धिजीवी, आमा समूह, महिला अधिकारकर्मी सबैले साथ पनि दिए। डिएसपी शर्माले एक्सन लिएपछि यौन व्यवसाय चलाउनकै लागि करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका केही भवन अहिले पनि रित्तै छन्। कतिपय भवन भत्काइए भने कतिपय अर्कै प्रयोजनका लागि प्रयोग भइरहेका छन्।

इटहरी उपमहानगरपालिकामा १५ सयको हाराहारीमा होटल तथा रेस्टुराँ रहेको होटल व्यवसायी संघको तथ्यांक छ। चार वर्षअघिसम्म होटलमै युवती तथा किशोरीहरूलाई यौन कार्य गराउन राखिएको अवस्थामा पटक पटक प्रहरीले पक्राउ गरेको थियो। तर अहिले यस्तो अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारी बताउँन्। यद्यपि, छापा मार्दा बेलाबेला एकाध होटलमा यस्तो कार्य भएको प्रहरीको रेकर्ड भेटिएको छ तर पहिले जस्तो होटलमा किशोरी तथा युवतीहरू बस्दैनन् तर सम्पर्कमा भने रहिरहेका पाइन्छ', इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिव श्रेष्ठ भन्छन्। ग्राहक आएपछि होटलहरूले नै युवतीहरूलाई बोलाउने गरेको पाइएको उनको भनाइ छ।

धरान, इटहरी र इनरुवाका प्रहरी कार्यालयले यदाकदा जोडीहरू पक्राउ पनि गरिरहेको छ। 'पहिले खुला रूपमा यौन व्यवसाय हुन्थ्यो सुनसरीमा अब त्यो अवस्था छैन', एक होटल व्यवसायीले भने। होटल व्यवसायीहरू भने होटलहरूमा पूर्ण रूपमा यौन व्यवसाय हटेको दाबी गर्छन् तर होटलबाट प्रहरीले जोडी पक्राउ गर्नुले उनीहरूको भनाइलाइ चुनौती दिएको छ। अहिले होटलबाहिर बसेर नै यौन बजारका ग्राहकहरूको माग पूर्ति भइरहेको बताइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.