|

ओखलढुंगा : झलक्क हेर्दा सामान्य लाग्छ तर उनको आवाज आउँदैन। कान सुन्दैनन्। बोल्न सक्दैनन्। आवाज नभए पनि उनी धेरै मानिसमा परिचित छन्। उनको कर्मले धेरै संस्थासंगठनलाई परिचित बनाउँछ।

उनी हुन्, ओखलढुंगा सदरमुकामका विश्व श्रेष्ठ, जो सुन्न र बोल्न नसक्ने भए पनि एक कुशल पेन्टर हुन्। उनको कलाले धेरैको कार्यालय परिचित बन्ने गरेको छ। 

सदरमुकामको राम बजारमा पिता रामललाल र आमा धनलक्ष्मी श्रेष्ठको कोखबाट वि.सं. २०१६ सालमा उनी जन्मेका हुन्। सुन्न र बोल्न नसक्ने भएकै कारण अध्ययन गर्न नसकेको र औपचारिक रूपमा जिल्ला सदरमुकामकै श्री सगरमाथा जनता माविबाट कक्षा ८ सम्मको मात्रै अध्ययन गरेको श्रेष्ठ बताउँछन्। इशाराको भरमा कुरा गर्नुपर्छ तर पनि उनले केही समय सांकेतिक भाषाको अध्ययन गरेकाले पछिल्लो समय सांकेतिक कुरा गर्न सहज भएको नेपाल पत्रकार महासंघ ओखलढुंगाका अध्यक्ष दीपेन्द्र रुम्दाली राई बताउँछन्।  

आफूलाई एसएलसीसम्म अध्ययन गर्ने ठूलो रहर भए पनि पनि त्यतिबेला भाषाकै कारण पढ्ने धोको अधुरै रहेको उनको भनाइ छ। 'आफ्नो रहर हुँदा पनि पढ्न सकिएन', सांकेतिक भाषामा उनले भने, 'अहिले भए त माथिसम्म अध्ययन गर्ने थिएँ। मेरो सपना सपनामै रह्यो। ठीकै छ, छोराछोरीलाई पढाएको छु, त्यसैमा सन्तुष्ट छ।' 

कलिलो उमेरमै २०३० सालदेखि साइनबोर्ड लेख्न सुरु गरेका श्रेष्ठ अहिले पनि साइनबोर्ड लेखिरहेका छन्। उनले ओखलढुंगामा मात्र नभएर रामेछाप, खोटाङ र सोलुखुम्बुसम्मका सरकारी कार्यालय र विद्यालयहरूका साइनबोर्ड लेखेका छन्। ओखलढुंगामा रहेका सरकारी तथा निजी विद्यालय ,कार्यालय र जिल्लाभर रहेका प्राय: सबै कार्यालयमा झुन्डिएका साइनबोर्ड उनैले लेखेका हुन्। चुपचाप तथा विश्व आर्टले चिरपरिचत विश्व श्रेष्ठ अहिले पनि जिल्लामा रहेका सरकारी कार्यालय तथा गाउँपालिकाका साइनबोर्ड बनाइरहेका छन्। साविकका गाविस र जिल्ला सदरमुकाममा रहेका सबै सरकारी कार्यालयहरूमा उनैले लेखेका बोर्डहरू देखिन्छन्।

कसरी सुरु भयो यो यात्रा? भन्ने प्रश्नमा उनले भने, 'देखेर लेख्न लागेको कसैले लगाएको होइन।' जिल्लाभरका सबै स्कुल र सरकारी कार्यालय साइनबोर्ड आफूले लखेको उनले बताए।

सधैँ आफ्नै पसलमा व्यस्त रहने श्रेष्ठ साइनबोर्ड बनाएर नै परिवार चलाउन सहज भएको बताउँछन्। एउटा साइनबोर्ड बनाउन १५० देखि दुई हजार ५०० रुपैयाँसम्म लाग्ने उनको भनाइ छ। यही पेसाबाट मासिक १८ हजारदेखि २५ हजार रुपैयाँसम्म कमाइ हुने उनले बताए। उक्त रकममध्ये मासिक रूपमा अाठ देखि १० हजार रुपैयाँ बैंकमा जम्मा गर्ने र बाँकी रकम घरखर्च र व्यक्तिगत खर्च गर्ने गरेको बताउँछन् उनी।

कतिपयले फरक क्षमता भएकै कारण परिवारको आश्रयमा बस्नुपरेको आफूले देखे पनि आफू परिवारको आश्रयमा जीवन चलाउनु नपरेको उनको भनाइ छ। छोराछोरीलाई राम्रै शिक्षा दिन सफल भएको र स्थानीय विद्यालयमा एसएलसीसम्मको अध्ययन गराई उच्चशिक्षाका लागि काठमाडाैं पठाएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.