|

पाल्पा : पाल्पाली हास्य कलाकार पूर्ण रानाको शनिबार निधन भएको छ। ५३ वर्षीय रानाको बिहान सवा पाँच बजे युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारको क्रममा निधन भएको हास्य कलाकार किरण चित्रकारले बताए। दुई वर्षपहिले बाटोमा हिँड्नेक्रममा लडेर टाउकोमा चोट लागेका उनको काठमाडौंमा उपचार भएको थियो। पछिल्लो समयमा शारीरिक अवस्थामा सुधार हुँदै गएको थियो। तर, एक हप्तादेखि पुनः सुगर र निमोनियाले ग्रस्त पारेपछि उनलाई मिसन अस्पतालमा भर्ना गरेर उपचार भइरहेको थियो।

 स्वर्गीय राना झण्डै तीस वर्ष पहिलेदेखि पाल्पामा हास्य कलाकारिता गर्दै आएका थिए। साथै उनले जीवनलीला फिल्मसमेत निर्माण गरेका थिए भने साहित्यमा समेत कलम चलाउँथे। पाल्पामा देखाइँदै आएको विभिन्न जात्राको निर्देशनसमेत गर्थे उनले। संस्कृतिको धनी रहेको पाल्पामा बहुप्रतिभावान् हास्य कलाकार रानाको निधनले अपुरणीय क्षति पुगेको उनका सहकर्मीसमेत रहेका हास्य कलाकार चित्रकारले बताए।

स्वर्गीय रानाले २८ वर्ष युनाइटेड मिसन अस्पताल तानसेनमा धरौटी शाखामा रहेर काम गरेका थिए। पाल्पाकै रिब्दीकोट गाउँपालिका-६ ठिमुरेमा जन्मिएका राना तानसेन नगरपालिका-३ बस्दै आएका थिए। उनको श्रीमती र दुई छोरा छन्। २० वर्षीय जेठो छोरा अपांग छन्। स्वर्गीय रानाको आजै पाल्पा र स्यांङजाको संगमस्थल राम्दीघाटमा अन्त्येष्टि गरिएको कलाकार चित्रकारले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.