लक्ष्य भन्दा बढी उत्पादन

|
फोटोः भागवत भट्टराई

काठमाडौं : 'फोहोरबाट मोहोर।' हामीले सुन्दै आएको यो नारा बास्तविकतामा परिणत भएको छ।

काठमाडौंमा थुप्रिएको फोहोरबाट बिजुली, ग्यास र कम्पोस्ट मल उत्पादन गर्ने सरकारी योजनाले अहिले मुर्त रुप पाएको छ। काठमाडौंको टेकुमा फोहोरबाट बिजुली निकाल्ने, ग्यास उत्पादन गर्ने र मल बनाउने काम सुरु भएको छ। 

काठमाडौं महानगरपालिका, युरोपियन युनियन र हिमालय एलाइन्स फर क्लाइमेट चेन्जको संयुक्त लगानीमा सुरु भएको यो परियोजनाको प्राविधिक परीक्षण गत शुक्रबार सम्पन्न भएको छ। झण्डै चार करोड रुपैयाँ लगानीमा सुरु गरिएको परियोजनाको शुक्ररबारबाटै ट्रायल सुरु गरिएको छ। गत भदौ महिनामा भारतबाट डाइजस्टर (प्लान्‍ट) ल्याएपछि बिजुली, ग्यास र मल उत्पादनको लागि प्राविधिक परीक्षण सुरु भएको थियो। आउँदो मंगलबारसम्म परीक्षण गरेपछि महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ। 

ट्रायल परीक्षणमा कुनै समस्या देखिए मर्मत सम्भार गर्ने तथा समस्या नदेखिए महानगरपालिकालाई हस्तान्तरण गर्ने प्राविधिक कामको जिम्मा पाएको राज एन्ड रिवाज कम्पनीका प्रमुख कार्यकारी अधिकृत सनोज महतले बताए।

'हामीले प्राविधिक काम सकेका छौं, प्राविधिक काम सकिनु भनेको अब सञ्चालनमा आउनु हो', महतले थाहाखबरसँग भने, 'हाम्रो काम पूरा भएपछि महानगरपालिकालाई हस्तान्तरण गर्छौ।'

काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले पनि तिहारपछि उक्त परियोजना उद्‍घाटन गरिने बताए। 'काम भैरहेको छ। तिहार लगत्तै बायो ग्यासको उद्‍घाटन गर्ने छौँ', कार्कीले भने। 

यसरी हुन्छ उत्पादन

ग्यास, विद्युत र मल उत्पादनको लागि अहिले काठमाडौंको कालिमाटी तरकारी बजारको फोहोर प्रयोगमा ल्याइएको छ। ल्याइएको फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टयाइन्छ। नकुहिने फोहोर ल्यान्डफिल्ड साइटमा डम्पिङका लागि लगिन्छ भने कुहिने बस्तुहरु ग्याँस उत्पादनमा प्रयोग गरिन्छ।

सेरेगेसन भागमा कुहिने वस्तुहरुलाई मिसाइन्छ। त्यहाँबाट निस्कने कुहिने प्रकृतिका फोहोरलाई ५०/५० प्रतिशतको अनुपातमा पानी र कुहिने बस्तुको घोललाई प्रि–डाइजेस्टरमा हालिन्छ। त्यहाँ एरोबिक प्रक्रियाबाट अक्सिजन डाइजेसनको काम हुन्छ। त्यहाँको तापक्रम निकै उच्च रहन्छ।

त्यसपछि उक्त घोल डाइजेसन अर्थात सेकन्डरी डाइजेसन पार्टमा पुग्दछ। त्यहाँ ३५ डिग्रीको सन्तुलित तामक्रममा अक्सिजन फ्रि डाइजेसनको काम हुन्छ र यही भागमा ग्यास उत्पादन हुन्छ।  

यसरी उत्पादन भएको ग्यास पाइपका माध्यमबाट ग्यास स्टोरेज बेलुनमा लगेर जम्मा गरिन्छ। यसरी बेलुनमा ग्यास जाने पाइपमा मिटर जडान गरिएको हुन्छ। त्यसले कति ग्यास उत्पादन भयो भन्ने मापन गर्दछ। अहिले सम्म ९९५ क्युबिक मिटर ग्यास उत्पादन भइ फ्याकिएको छ।

बेलुनमा भएको ग्यासलाई फिल्टरको माध्यम हुँदै प्रि–डाइजेस्टर नजिकै रहेको जेनेरेटरमा पठाइन्छ, जसबाट विद्युत उत्पादन गरिन्छ।  त्यस्तै, डाइजेस्टरबाट पानीयुक्त मल पनि उत्पादन हुन्छ। जुन डाइजेसनको छेउमै रहेको वाटर ट्रिटमेन्ट युनिटमा गएर मल र पानीका रुपमा छुट्टिन्छ। यस्तो मल उत्पादन हुनको लागि भने ३५ देखि ४० दिन समय लाग्छ।

लक्ष्य भन्दा बढी उत्पादन

काठमाडौं महानगरपालिकाले प्लान्टबाट दैनिक ३ टन फोहोर प्रयोग गरी ८० क्युबिक मिटर ग्यास उत्पादनको लक्ष्य राखेको छ। त्यस्तै १४ किलोवाट विद्युत र ७०० किलो कम्पोस्ट मल उत्पादनको लक्ष्य राखिएको छ।

तर उत्पादनको काम सकी ट्रायल राउन्डमा आइपुग्दा लक्ष्य भन्दा दुई गुणा बढी उत्पादन हुने देखिएको छ। अहिले गरिएको ट्रायलबाट दैनिक २७ किलोवाट बिजुली र २५० क्युबिक मिटर ग्यास उत्पादन हुने देखिएको छ।

‘यो परियोजनाबाट लक्ष्यभन्दा बढी नै ग्यास र विद्युत उत्पादन हुने देखिएको छ, अझै दुई दिन ट्रायल गरेपछि कति उत्पादन हुन्छ भन्न सकिन्छ', महतले भने, 'अहिलेसम्म हेर्दा २७ किलोवाट ग्यास र २५० क्युबिक मिटर बिजुली उत्पादन हुने देखिन्छ।'

पुगेन बेलुन

लक्ष्यभन्दा बढी उत्पादन हुने भएपछि ग्यास राख्ने बेलुन अपुग भएको छ। ८० क्युबिक ग्यास उत्पादन हुने लक्ष्य सहित ८० क्युबिक क्षमताको बेलुन राखिएकोमा उत्पादित ग्यास नअट्ने देखिएको छ। ग्यास राख्नको लागि थप दुई बेलुन आवश्यक पर्ने इन्जिनियर शाह बताउछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.