|

काठमाडौं : राज्यको जिम्मेवार निकायदेखि विभिन्न ठाउँमा नेपालको निशान छापमा नेपालको नक्सा गलत प्रयोग भएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक्सन लिएको छ।

मन्त्रालयले विभिन्न मन्त्रालयदेखि सरकारी कार्यालयहरूमा समेत नेपालको आधिकारिक निशान छापभन्दा फरक खालको नेपालको सिमाना झल्किने नक्सा प्रयोग भएपछि मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी गलत नक्सा प्रयोग नगर्न निर्देशन दिएको छ। नेपालका राष्ट्रियस्तरका संचार माध्यमहरूले समेत विभिन्न समाचारमा नेपालको नक्सा प्रयोग गर्दा गलत नक्सा प्रयोग गरेको पाइएको बताइएको छ।

नक्साको गलत प्रयोग भएपछि मन्त्रालयले हरेक मन्त्रालय, विभागहरूमा नापी विभागले प्रकाशन गरेको नेपालको आधिकारिक नक्सा मात्र प्रयोग गर्न निर्देशनसहितको पत्राचार गरिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले जानकारी दिइन्।

२०७४ असोज २ गतेको गोरखापत्र दैनिकमा नेपालको गलत नक्सा प्रयोग भएको निशान छाप प्रयोग भएपछि विभागले पत्रिकालाई पत्राचार गरी सच्याउन लगाएको थियो।

तर पछिल्लो समय नेपालको साँधसिमाना गलत भएको नक्सा प्रयोग बढ्दै गएपछि मन्त्रालयले पत्रकार सम्मेलन नै गरेर आधिकारिक नक्सा प्रयोग गर्न निर्देशन दिनुपरेको नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए। 'हामीले प्रकाशन गरेको नक्सा नै आधिकारिक नक्सा भएपछि अरूले बाहिर पनि नक्सा बनाएर त्यसको गलत रूपमा प्रयोग बढ्दै जान थाल्यो', उनले भने, 'यो क्रम इन्टरनेटमा अझ बढी देखिन्छ। कतिपय हाम्रै मन्त्रालय तथा सरकारी निकायमा पनि यस्तो देखिएको छ। त्यसलाई रोक्नका लागि हामीले कदम चालेका हौँ।'

राष्ट्र र राष्ट्रको गरिमासँग जोडिएको विषय भएकाले सबै पक्ष बढी गम्भीर रूपमा लागिदिन मन्त्रालयका सचिव गोपीनाथ मैनालीले आग्रह गरे। 'हामीले गलत नक्सा प्रयोग बढ्दै गएपछि यसलाई रोक्नका निम्ति पहलकदमी थालेका हौँ', उनले भने, 'मन्त्रालयले सावधानी ल्याउन भनेर गरिएको पहल हो यो। यसमा तपाईंहरू बढी संवेदनशील भइदिनुहोस्।' सचिव मैनालीले सिमानाका सन्दर्भमा सूक्ष्म अध्ययनसमेत गरिरहेको बताए।

यस्तो कार्य कुन क्षेत्रबाट कसरी भएको हो भन्ने पत्ता लगाएर त्रुटिपूर्ण नक्सालाई विस्थापन गरेर आधिकारिक नक्साको प्रयोग बढाउने मन्त्री अर्यालले बताइन्। 'नापी विभागबाट प्रमाणित गरिएका नक्साको साटो गलत नक्सा प्रयोग भएका छन्। नेपालको आधिकारिक नक्सा छापेर सकभर हामी निःशुल्क, नभएमा न्यूनतम् मूल्यमा नक्सा वितरण गर्छौं', मन्त्री अर्यालले भनिन्, 'आजैदेखि मन्त्रालयहरूमा प्रयोग भएका त्रुटिपूर्ण नक्सा झिकेर नयाँ नक्सा प्रयोग गर्न लगाइनेछ।'

मन्त्री अर्यालले केन्द्रीय तहदेखि जनस्तरसम्म नेपालको आधिकारिक नक्सा प्रयोग गर्न आग्रहसमेत गरिन्। भनिन्. 'यसलाई अझ प्रचारात्मक ढंगले आधिकारिक नक्सा जनस्तरसम्म पुर्‍याउन आग्रह गर्छु। आधिकारिक नक्सालाई स्थापित गरौँ।' मन्त्री अर्यालले गलत नक्सालाई तत्काल विस्थापन गरी आधिकारिक नक्सा प्रयोग गर्न निर्देशनसमेत दिइन्।

जग्गा (नापजाँच) ऐन, २०१९ को दफा ११ 'घ' र जग्गा (नापजाँच) नियमावली, २०५८ को नियम २४ बमोजिम नेपालको आधिकारिक राष्ट्रिय नाप नक्सा निकायको रूपमा रहेको नापी विभागले तयार गरेको नेपालक सही सीमासहितको नक्सा मात्र प्रयोग गर्ने व्यवस्था गरेको छ।

सोहीअनुसार नापी विभाग अहिले सबै ठाउँमा सही नक्सा प्रयोग गराउने अभियानमा लागेको विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले जानकारी दिए। साथै त्रुटिपूर्ण नक्सा कहाँबाट प्रयोगमा आयो भन्ने कुराको पनि खोजी गरिने उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.