|

सुनसरी : इटहरी मुख्य चोकको २०० मिटरपूर्व टेङ्ग्रा खोला छ। खोलाको दक्षिण-पश्चिम किनारमा दैनिक एक हुल बालबालिका बाटोको छेउमै गुन्द्री ओछ्याएर पढ्न व्यस्त देखिन्छन्। सँगै एक जना पाका व्यक्ति मुडामा बसेर ती बालबालिकालाई निर्देशन दिइरहेका हुन्छन्। बाटो हिँड्ने जोकोहीले भन्छन्- यहाँ के भइरहेको छ?

एकछिन मज्जाले नियालेपछि सहजै अनुमान लगाउँछन्- त्यहाँ कुनै नाटक मञ्चन नभएर ट्युसन पढाइ भइरहेको छ। खोला किनारमा बालबालिकालाई शिक्षाको ज्योति छर्न व्यस्त शिक्षक हुन्, चन्द्र भण्डारी। भण्डारी चार दर्जन बढी बालबालिकालाई दिनहुँ पढाउँछन्। उनले यसरी पढाउन थालेको २२ वर्ष भयो। २०५१ माघ २८ गते कठ्यांग्रिँदो जाडोमा उनले पहिलोचोटि पढाउन सुरु गरेको दिन दश जना बालबालिका थिए। अहिले इटहरीका आधा दर्जन विद्यालयका चार दर्जन बढी विद्यार्थीलाई उनले पढाइरहेका छन्- त्यो पनि नि:शुल्क।

प्रत्येक दिन बिहान बालबालिकालाई नि:शुल्क पढाउनु उनको २४ वर्षदेखिको दिनचर्या नै बनेको छ। उनी पढाएवापत एक रुपैयाँ पनि लिँदैनन्। त्यसैले सुनसरीमा उनको परिचय नै नि:शुल्क पढाउने शिक्षक भनेर बनिसकेको छ।

यस कारण पढाउँछन् भण्डारी नि:शुल्क

२०२४ सालमा धनकुटाको कागतेमा जन्मिएका चन्द्र भण्डारीले आफ्नो उच्च शिक्षा पढ्ने इच्छा अधुरो भएपछि अरूलाइ पनि यस्तो अवस्था नआओस् भन्ने विचार पलाएर आएपछि नि:शुल्क पढाउन सुरु गरेको बताउँछन्। धनकुटाको गोकुण्डेश्वर माविबाट २०४३ सालमा एसएलसी पास गरेपछि उनी धनकुटा बहुमुखी क्याम्पसमा भर्ना भए। गरिबीको जालोभित्र जेलिएका उनलाई थप आर्थिक संकट आइपर्‍यो। उनले पढाइ पूरा गर्न सकेनन्।

दयनीय आर्थिक अवस्थाले धनकुटामा पढ्न गाह्रो भएपछि पढाइ छाडेर उनी २०४४ सालमा काम खोज्दै इटहरी हानिए। खोलाले उल्टाउँदै पल्टाउँदै बगाएर ल्याएको ढुंगा जस्तै भएर इटहरी आइपुगेका चन्द्रले सेलर मिल बनाउने एउटा वर्कसपमा काम पाए। उनी त्यहाँ काम गर्न थाले। अब भने उनको राम्रै कमाइ हुन थाल्यो।

कमाइ पनि राम्रै भएका चन्द्रलाई घरजम गर्ने सोच पलायो। उनले २०५१ सालमा सावित्रासँग विवाह गरे। विवाह गरेपछि उनले व्यापार गर्न थाले। 'कमाइ अझ राम्रो हुन थाल्यो। त्यसबेला गाउँका स्कुलमा त्यति राम्रो पढाइ हुँदैनथ्यो', चन्द्र सम्झिन्छन्। कतिपयले आर्थिक अभावले पढ्न पाइरहेका थिएनन्। उनले गरिबीको जालोभित्र जेलिएर पढाइ पूरा गर्न नसकेको आफ्नै कथा सम्झिए अनि ट्युसन पढाउने विचार पलायो। त्यसपछि गरिब बालबालिकालाई नि:शुल्क पढाउने अठोट गरे। उनी आफैँले रोजेको टेङ्ग्रा खोलाको किनारमा रहेको पीपलको फेदमा बालबालिका पढाउन सुरु गरे। अझै उनी निरन्तर पढाइरहने अठोटका साथ शिक्षाको ज्योति फैलाइरहेका छन्। 

श्रीमतीलाई समेत पढाए

उनकी श्रीमती सावित्राले एसएलसी पास गरेर पढाइ छाडेकी थिइन्। पढ्नुपर्छ भन्ने मन्त्र सिकेका उनले श्रीमतीलाई पनि पढाउने अठोट गरे। आफूले पढ्न नपाएको पीडा श्रीमती पढाएर सन्तुष्टि लिने निर्णयमा पुगेको भण्डारी बताउँछन्। श्रीमतीलाई पढ्न निरन्तर उत्प्रेरणा दिएका भण्डारीले श्रीमतीलाई विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट आइए पास गराए। बच्चा आफूले हेरेर उनले श्रीमतीलाई कलेज पठाएका स्मरण गरे।

श्रीमानको उत्प्रेरणा पाएकी चन्द्रकी श्रीमतीले पनि मिहिनेत गर्दै पढिन्। इटहरीकै जनता क्याम्पसबाट बीए र विराटनगरको स्नातकोत्तर क्याम्पसबाट एमए सकिन्। अहिले इटहरीकै एक विद्यालयमा उनी शिक्षिकाका रूपमा कार्यरत छन्। श्रीमती पढाएर आफू पढ्न नसकेको मनभित्रको तृष्णा मेट्न पाएकोमा आफू औधी खुसी रहेको उनको भनाइ छ। 

यस्तो छ पढाउने तालिका

दैनिकजसो उनी बिहान साढे ४ बजे उठेर नित्यकर्म सकेर साढे ६ बजे घरबाट निस्किसक्छन्। त्यसपछि ७ बजेदेखि ९ बजेसम्म विद्यार्थीलाई रूखमुनि खोला किनारमा गुन्द्रीमाथि राखेर ट्युसन पढाउँछन्। ट्युसनमा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूलाई सबै विषय पढाउँछन् उनी। सामुदायिक स्कुलदेखि बोर्डिङका समेत विद्यार्थीको घुइँचो लाग्छ।

इतबार र सोमबार गणित, मंगलबार अंग्रेजी, बुधबार विज्ञान, बिहीबार नेपाली र शुक्रबार सामाजिकलगायतका अरू विषय पढाउने गरेको उनले बताए। धेरै कक्षाका विद्यार्थीलाई सबै विषय पढाउँदा पनि आफूलाई अप्ठ्यारो नलाग्ने उनी बताउँछन्। यद्यपि, अंग्रेजी विषय भने अलिक गाह्रो हुने गरेको अनुभव सुनाउँछन उनी। सरकारी स्कुल भन्दा बोर्डिङका विद्यार्थी पढाउन अलि गाह्रो हुने गरेको बताउँदै भण्डारी भन्छन्, ‘नेपाली स्कुलमा पढियो, फेरि धेरै पढ्न पनि सकिएन, त्यसैले अंग्रेजी अलिक कमजोर छ।'

'एनजिओ र आइएनजिओको लोभमा पर्दिनँ'

दुई दशकभन्दा लामो समयसम्म खोला किनारमा बालबालिकालाई नि:शुल्क ट्युसन पढाइरहेका भण्डारीले विद्यार्थीलाई घामपानीबाट जोगाउन खोलाको छेउमा एउटा बाँसको टहरोसमेत बनाएका थिए। तर केही समयपश्चात नगरपालिकाले भत्काइदिएको उनले गुनासो गरे। त्यसपछि अहिले उनी भुइँमै पढाइरहेका छन्। बेलाबेला विद्यार्थीका लागि कसैले नि:शुल्क रूपमा पढाउने एउटा कोठाको व्यवस्था गरिदिए हुन्थ्यो जस्तो लाग्ने गरेको उनले सुनाए। तर विभिन्न एनजिओ र आइएनजिओ लोभ देखाउँदै आउने गरेको उल्लेख गर्दै उनले त्यसलाई स्वीकार नगर्ने अठोट लिएको बताए। 

प्रेरणाका स्रोत भण्डारी सर 

चन्द्र भण्डारी अध्यापन कर्म र प्रेरणाका लागि मात्र होइन, शिक्षण पेसामा लागेको नयाँ पुस्ताका लागि उत्प्रेरकका रूपमा रहेका छन्। सुनसरी र मोरङमा उनी दर्जनौँ क्षेत्रबाट सम्मानितसमेत भएका छन्। शिक्षा क्षेत्रमा नि:शुल्क सेवा गरेको भन्दै यस कर्म क्षेत्रमा यस किसिमको सम्मान पाउने व्यक्तिको लिष्टमा उनी नै पहिलो नम्बरमा आउने व्यक्ति हुन्। उनले पढाएका विद्यार्थीहरूमध्ये कतिले स्नातकोत्तरसमेत गरिसकेका छन्। उनले पढाएका विद्यार्थी कति सरकारी र गैरसरकारी क्षेत्रमा र कतिले विदेशमा जागिर खाइरहेका छन्। 

नयाँ पिँढीलाई सुझाव

बोलीमा मात्र होइन, व्यवहारमा पनि उस्तै रहेका भण्डारी विगत सम्झेर दुःखी हुनुभन्दा भविष्यप्रति आशावादी हुनु राम्रो ठान्नुपर्ने बताउँछन्। उनी बालबालिकालाई सानैदेखि राम्रो शिक्षा दिन थाल्यो भने पछिसम्म त्यही बानी पर्ने भएकाले बेलैमा विचार गर्नुपर्ने बताउँछन्।

जस्तोसुकै परिस्थितिमा पनि पढ्न छाड्न नहुने उनको सुझाव छ। शिक्षा नै ज्ञानको ज्योति भएकाले शिक्षाबिना मानिस अपुरो र अधुरो हुने उनको बुझाइ छ। 'अझ बालबालिका काँचो माटो हो, जुन माटोलाई आफूलाई अनुकूल पर्ने भाँडा बनाउन सकिन्छ, त्यसरी नै आजका बालबालिकालाई भोलिको डाक्टर, पाइलट, वकिल या देश चलाउने र बनाउने कर्मठ नेपाली बनाउन सकिन्छ', उनी भन्छन्। यस कारण पढाइ छाड्न नहुने भण्डारी सरको सुझाव छ।

आजका बालबालिका भोलिका कर्णधार भएका कारण पनि सानातिना दु:खमा अल्झिन नहुने भन्दै सुख र दु:ख सँगसँगै आउने भएकाले अरूलाई पनि दु:खमा नआत्तिन उनी सुझाव दिन्छन्। आफूले केही गर्न नसक्नुको दोष समय, भाग्य र अरू मान्छेलाई लगाउनुको साटो आफूभित्रको क्षमता पहिचान गर्नुपर्ने उनको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.