|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव पेश भएपछि प्रमुख दलका विद्यार्थी संगठनले प्रस्ताव पारित गर्न दबाब दिँदै शीर्ष नेताहरुको निवास धाइरहेका छन्। 

नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियु, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, लोकतान्त्रिक फोरम निकट मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिक लगायत विद्यार्थी संगठन एकत्रित भएर लोकमान विरूद्धको महाभियोग प्रस्ताव पारित गर्न नेताहरुलाई दबाब दिइरहेका छन्।

शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आफ्ना माग बुझाएका उनीहरुले आइतबार बिहानै बुढानिलकण्ठ पुगेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समक्ष सोही माग पेश गरेका थिए।

माइतीघरबाट बानेश्वरसम्मको सडक आइतबार युवा विद्यार्थीका नारा र चर्का भाषणले तातेको थियो। जसको नेतृत्व गरिरहेका थिए, अनेरास्ववियुकी अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले र मधेसी विद्यार्थी फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष कपिलेश्वर यादवले।

माइतीघर मण्डलाबाट निस्केको चर्को नारासहितको र्‍याली बानेश्वर पुगेपछि विद्यार्थीहरुले संसद भवनतर्फ औंला तेर्स्याउदै लोकमान विरुद्धको महाभियोग पारित गर्न नेताहरुलाई खुट्टा नकमाउन भनेका थिए।

चर्को नारा र भाषणले गला अवरुद्ध भएर स्वर धोद्रो भएको थियो नविना लामाको। थाहाखबरसँगको कुराकानीमा लामाले नेताहरुका निवासमै पुगेर माग राखेपछि सडकमा उत्रिएको बारे भनिन् 'संसदमा लोकमानसिंह कार्कीको विरुद्धमा महाभियोग प्रस्ताव पेश भएको छ। त्यसलाई पारित गर्नपर्‍यो भनेर हामीले प्रदर्शन गरेका हौं।'

अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले संविधानबाट स्थापित हुन लागेका परिवर्तनका अजेन्डामाथि लोकमानले धावा बोलेकाले उनलाई हटाउन विद्यार्थी सडकमा उत्रिनुपरेको बताए।

उनले भने 'लोकमानसिंह कार्की अहिले कानुन विपरित गएर संविधान र परिवर्तन विरुद्ध जे गतिविधि गरिरहेका छन् त्यसको विरुद्धको आवाज हो यो।' त्यस्तै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थी जहिले पनि विधि र नीतिको पक्षमा आवाज उठाउने बताए। उनले लोकमानले 'जनताको हित गर्नुपर्ने पदमा बसेर जनताको सरोकार र राज्यलाई हित हुने काम गरेन त्यसैले संयुक्त विद्यार्थीले आन्दोलन गर्नुपरेको' बताए।

मधेसी दलका अन्य विद्यार्थी संगठनले शनिबारको प्रदर्शनमा सहभागिता नजनाउने भने पनि फोरम लोकतान्त्रिकको विद्यार्थी संगठनले भने सहभागिता जनाएन मात्र त्यसको नेतृत्व नै  गर्‍यो। नारा लगाउदा र भाषण गर्दा उत्साहित भएका फोरम लोकतान्त्रिकको विद्यार्ती संगठनका अध्यक्ष यादवले विद्यार्थी प्रदर्शनको औचित्य यसरी पुष्टी गरे 'अहिले लोकमानको बर्खास्तगी राष्ट्रको अजेन्डा बनेको छ। राष्ट्रिय राजनीतिमा भाँडभैलो ल्याउने काम गर्न खोज्ने लोकमानलाई निस्तेज पार्न हामी लागेका हौं।'

लोकमानविरुद्ध सडकमा उत्रिएका विद्यार्थीका नेतृत्व यी चारजना विद्यार्थी नेताले गरेका थिए। सत्ताको नेतृत्व गरिरहेको पार्टी माओवादी केन्द्रको संसदीय दलको बैठकले महाभियोगको पक्षमा मतदान गर्ने औपचारित निर्णय आन्दोलनकै क्रममा थाहा पाएका न्यौपाने लोकमानको बहिर्गमन निश्चित भएकोमा ढुक्क देखिन्थे। उनले माओवादीले गरेको निर्णयले सहज बाटो देखाएको बताउदै एमाले अध्यक्ष र कांग्रेस सभापतिले विद्यार्थी नेतालाई भनेको कुराले थप उत्साह दिएको बताए।

न्यौपानेले भने 'हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकमानले समानान्तर सत्ता सञ्चालन गरिरहेकोले उनलाई बचाउन सकिदैन, भन्नुभएको छ। आज बिहान मात्र कांग्रेस सभापति शेरबहादुर देउवाले- जनताको भावनालाई कदर गरेर निर्णय गर्छौ, भन्नुभएको छ। जनताको भावना लोकमानको विरुद्धमा भएकोले हामी उनलाई महाभियोग लाग्नेमा आशावादी छौं।'

नविना लामाले विद्यार्थीहरुले लोकमानलाई कारबाही नभएसम्म आन्दोलन गरिरहने बताइन्। उनले भनिन् 'लोकमानविरुद्धको महाभियोग पारित नहुन्जेल हामी विद्यार्थी आन्दोलन जारी राख्छौं। लोकमानले गरेका ज्यादती अत्याचारका विरुद्धमा विद्यार्थी एकढिक्का भएर लागेका छौं।' त्यस्तै भनाइ रह्यो नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको। काफ्लेले भने 'लोकमान अख्तियारबाट हट्नेगरी यो विषय किनारा नलागेसम्म विद्यार्थी आन्दोलन जारी रहन्छ। हामी जस्तोसुकै आन्दोलन गर्न तयार छौं।'

संसदमा पेश भएको महाभियोगमा सबै दलले समर्थन जनाउनुपर्ने भनाइ थियो कपिलेश्वर यादवको। उनले भने 'संसदमा पेश भएको महाभियोगमा सबै पार्टीले मत जाहेर गरेर पारित गर्नुपर्छ भन्ने हाम्रो माग हो। सबै दलले यसमा सहमति जनाउनुपर्छ।'

जसरी पनि लोकमानलाई अख्तियारको प्रमुख आयुक्तबाट हटाउनुपर्ने माग राखेर नेताका निवासमा  माग राख्नेदेखि सडक तताउनसम्म पछि नपरेका विद्यार्थीका नेता आइतबार बेलुकीसम्म लोकमानलाई अख्तियारबाट विदाई गरिनेमा एकमत र दृढ देखिएका थिए। लोकमानलाई बचाउन खोजे आन्दोलन गर्न पछि नपर्ने उनीहरुले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.