|

बागलुङ : खानेपानीको चरम समस्या रहेको जिल्लाको बरेङ गाउँपालिका ५ सुखौरामा ‘एक घर, एक धारा’ योजना निर्माणका लागि स्थानीयले झण्डै १५ लाख रुपैयाँ श्रमदान गरेका छन्। कुल ४६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको योजनाको लागि स्थानीयले नगदसहित श्रमदान जुटाएका हुन्।

एक लाख रुपैयाँ नगद जम्मा गरेका स्थानीय ८५ घरधुरीले १४ लाख २६ हजार रुपैयाँभन्दा धेरैको श्रमदान गरेको खोलाखर्क कमरको पुछार खानेपानी तथा सरसफाई योजनाका अध्यक्ष पुनम थापा पुनले बताए। उच्च पहाडी, भौगोलिक अवस्था, सुख्खा भूभाग र खानेपानी मुहानको व्यवस्थापन नहुँदा खानेपानीको समस्या झेल्दै आएका स्थानीयले आफ्नै सक्रियतामा ‘एक घर, एक धारा’ पुर्‍याउँने गरी खानेपानी आयोजना निर्माणको काम सुरु गरेका हुन्। 

बढ्दो बसाइँसराइँका कारण पातलिँदै गएको सुखौरावासीलाई गाउँमै बस्ने वातावरण सिर्जना गर्नका लागि घरघरमा धारा पुराउँने अभियान सञ्चालन गरिएको पुनले बताए। ‘साविक सुखौरा गाविस बागलुङ जिल्लाको विकट तथा सबैभन्दा थोरै जनसंख्या भएको गाविस हो’ पुनले भने, ‘यहाँबाट बसाइँ सर्नेहरूको संख्या बढ्दो छ। खानेपानीको अभाव रहेको यस गाउँको उपल्लो भेगमा लिफ्टिङ प्रविधि र घैँटोमा पानी संकलन गरेर उपभोग गर्दै आइरहेका छन्।’ 

लिफ्टिङ र घैँटोबाट आयोजनाबाट छुटेका ८५ घरधुरीले यो आयोजनाबाट लाभान्वित हुने छन्। उनीहरूले गाउँदेखि करिब चार किलोमिटर टाढा भित्री वनमा रहेको मुहानबाट ल्याएको पानी उपभोग गर्न पाउनेछन्। ४६ लाख रुपैयाँ लागत अनुमान गरिएको यस आयोजना सम्पन्न गर्नका लागि स्थानीयको १४ लाख ३६ हजार जनश्रमदान, एकलाख नगद बाहेकको रकम नेपाल सरकार र फिनल्याण्ड सरकारको ५०/५० प्रतिशत अनुदान रहेको परियोजनाका फिल्ड सुपरभाइजर गणेश शर्मा पौडेलले जानकारी दिए।

नेपाल सरकार र फिनल्याण्ड सरकारले सहयोग गर्ने रकम पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरफाई परियोजनामार्फत उपलव्ध गराइने छ। स्थानीयले परम्परागत रुपमा प्रयोग गर्दै आइरहेको मुहानलाई नै संरक्षण तथा पानीलाई एकीकृत गरी छ हजार घनमिटर र चार हजार घनमिटरका ट्यांकीमार्फत स्थानीयको घरघरमा खानेपानी पुर्‍याइने पौडेलले बताए।

‘सुखौरा क्षेत्रको भुगोल अति पातलो भएकाले मुहानभन्दा माथिका घरधुरीले लिफ्टिङ प्रविधि तथा घैटोमा पानी संकलन गरेर खानेपानीको उपभोग गरिरहेका छन्।पौडेलले भने, ‘मुहानदेखि मुनि रहेका साविक सुखौरा गाविस १, ३, ४, ५ र ६ वडाका छ सार्वजनिक स्थान र दुई विद्यालय र ८५ घरधुरीलाई पायक पर्ने गरी ३५ वटा पक्की धारा निर्माणको काम भइरहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.