|

बाँके : जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा बेहोस भई उपचारका क्रममा मृत्यु भएका राममनोहर यादवका आफन्तले दोषीलाई कारवाहीको माग गर्दै नेपालगन्जमा प्रदर्शन गरेका छन्। हिरासतमा रहेका यादवलाई कुटपिट गरि घाइते बनाएको र सोही कारण उपचारको क्रममा उनको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।

मृतक यादवका तीन छोराछोरीसहित आफन्तले त्रिवेणी मोडबाट प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय बाँके पुगेका थिए। राममनोहर यादव घटना छानबिन गर्न माग गर्दै आफन्तले क्षतिपूर्तीको मागसमेत गरेका छन्।

प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन-पत्र बुझाएका छन्। संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव प्रमुख अतिथि रहेको कार्यक्रममा कालो झण्डा देखाएको आरोपमा पक्राउ गरी राज्य विप्लवको मुद्दा लगाउनु न्याय संगत नभएको राममनोहरका भाइहरू विष्णु यादव र रामकुमार यादवले बुझाएको ज्ञापन-पत्रमा उल्लेख छ।

मृतक यादवलाई पक्राउ गर्नुपर्ने, हिरासतमा राख्नु पर्ने र मुद्दा चलाउनु पर्ने कारणको माग गर्दै आफन्तले हिरासतमा रहेका यादवको मृत्यु भएको घटनाको सत्य, तथ्य छानबिन गर्न मागसमेत गरेका छन्। ‘दोषीलाई कारबाही र मृतक यादवका परिवारलाई उचित क्षतिपूर्ती तथा सहिद घोषणा गर्न सरकारसँग माग गर्दछौँ,’ ज्ञापन-पत्रमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.