|
इलाम जिल्लाको पुरानो नक्शा

  • नमिन ढकाल-

इलाम : इलाममा १० वटा स्थानीय तह बनाउने सहमति भएको छ। ६ गाउँपालिका र ४ नगरपालिका सहित १० वटा स्थानीय तह बनाउने सहमति भएको स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समिति संयोजक तथा स्थानीय विकास अधिकारी मदन कोइरालाले बताए।

स्थानीय तह पुनर्संरचना आयोगले इलाममा आठ देखि बढीमा ११ वटासम्म स्थानीय तह बनाउन संख्या निर्धारण गरेकोमा १० वटा स्थानीय तह बनाउने सहमति भएको हो। १० वटा स्थानीय तह बनाउनेमा जिल्लाका सबै राजनीतिक दलहरुले सहमति जनाएका छन्। प्रस्तावित स्थानीय तहमा फाल्गुनन्द, माङ्गसेबुङ्ग, फाकफोकथुम, माईजोगमाई, रोङ र सन्दकपुर गाउँपालिका रहेका छन् भने नगरपालिकामा सूर्योदय, इलाम, माई र देउमाई नगरपालिका नाम राखिएको छ।

संख्याका साथै स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले गाउँपालिका र नगरपालिकाका केन्द्र र वडा समेत सर्वसम्मत रुपमा विभाजन भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो।

यस्तो छ इलामको १० वटा स्थानीय तहको संरचना

राजनीतिक दलहरुको सहमति अनुसार ४ नगरपालिका सहित ६ गाँउपालिका बन्नेछ। जसमा अन्य गाविस र वडाहरु समेटेर पुरानै इलाम नगरपालिका, सुर्योदय नगरपालिका र देउमाइ नगरपालिका बनाइएको छ भने नयाँ नगरपालिको रुपमा माइ नगरपालिका थपिएको छ। त्यस्तै फाल्गुनन्द, माङसेवुङ,फाकफोकथुम, माइजोगमाई, रोङ र सन्दकपुर गाउँपालिका रहनेछन्। भूगोल र जनसंख्याको आधारमा तह निर्धारण गरिएको हो। यसका लागि २०६८ सालको जनगणनालाई आधार मानिएको छ।

नगरपालिकाहरु

१. माइ नगरपालिका

इलामको दक्षिणी गाविसहरु महमाई, दानावारी, चिसापानी र लक्ष्मीपुर ५ लाई समेटेर माइ गाउँपालिका प्रस्ताव गरिएको छ। जसको केन्द्र सितली गोल्टार रहनेछ भने जनसंख्या ३२ हजार ५ सय ७६ छ। माइ नगरपालिकामा १० वटा वडा रहनेछन्। यसको क्षेत्रफल २ सय ७९.२३ वर्ग किलोमिटर रहेको छ।

२. देउमाई नगरपालिका

हालको देउमाई नगरपालिकामा जितपुर, शान्तिडाँडा, चमैता वडा नम्बर १ देखि ८, सिद्धिथुम्का ७ बाहेक सवै, साङरुम्बा ७, ८ र ९, लाई समेटेर देउमाइ नगरपालिका प्रस्ताव गरिएको छ। जसको केन्द्र हालकै देउमाई नगरपालिकाको कार्यालय रहनेछ। ३२ हजार ९ सय २७ जनसंख्या रहेको नगरपालिकामा ९ वटा वडा रहेनछन्।

३. इलाम नगरपालिका

हालको इलाम नगरपालिकामा गोदक, सोयाक, बरबोटे, सुम्वेक, साखेजुङ, पुवामझुवा, माइपोखरी १ देखि ३, साङरुम्बा १ देखि ६, सिद्धिथुम्का ७ लाई समेटिने भएको छ। जसको केन्द्र अहिलेकै इलाम नगरपालिकाको कार्यालय रहनेछ। ४८ हजार ५ सय ३६ जनसंख्या रहेको नगरपालिकामा १२ वटा वडा रहनेछ।

४. सूर्योदय नगरपालिका

साविकको सूर्योदय नगरपालिकामा गोर्खे, समाल्बुङ, श्रीअन्तु, पशुपतिनगर, जोगमाइ ८ र ९ तथा लक्ष्मीपुरको ५ बाहेकका वडा समेटिएका छन्। जसको केन्द्र सूर्योदय नगरपालिकाको कार्यालय फिक्कल रहनेछ। ५५ हजार ३ सय २५ जनसंख्या रहेको नगरपालिकामा १४ वटा वडा रहनेछन्। सूर्योदय नगरपालिकाको क्षेत्रफल १२१.५२ वर्गकिलोमिटर रहेको छ।

गाउँपालिकाहरु

१. फाल्गुनन्द गाउँपालिका

इलामको उत्तरी गाविस चुलाचुली र साक्फारालाई समेटेर फाल्गुनन्द गाउँपालिका प्रस्ताव गरिएको छ। जसको केन्द्र चुलाचुली– ७ पेल्टीमारी रहनेछ र जनसंख्या २० हजार ८ सय २० हुनेछ। फाल्गुनन्द गाँउपालिकामा ६ वटा वडा रहनेछन्।

२. माङसेवुङ गाउँपालिका

इलामको दक्षिणी गाविस इभाङ्ग, बाँझो र गजुरमुखी समेटेर माङसेवुङ गाँउपालिका प्रस्ताव गरिएको छ। जसको केन्द्र इभाङ–चतुरे बजार र जनसंख्या १८ हजार ५ सय ३ रहनेछ। माङ्सेवुङ गाउँपालिकामा ६ वटा वडा रहनेछन्।

३. फाकफोकथुम गाउँपालिका

पश्चिमी गाविस गजुरमुखी, लुम्दे, फुयतप्पा, आमचोक, फाकफोक, एकतप्पा र चमैता वार्ड नं ९ समेटेर फाकफोकथुम गाँउपालिका प्रस्ताव गरिएको छ। जसको केन्द्र फाकफोक–१ साप्तिन तोकिएको छ।  २१ हजार ६ सय १९ जनसंख्या रहेको फाकफोकथुममा ७ वटा वडा रहनेछन्।

४. माइजोगमाइ गाउँपालिका

उत्तरी गाविस नयाँबजार, नाम्सालिङ, सोयाङ्ग, प्याङ्ग, जोगमाई वार्ड नं १ देखि ७ माइजोगमाई गाँउपालिकाका लागि प्रस्ताव गरिएको छ। जसको केन्द्र नयाँबजार गाविस कार्यालय रहनेछ। २१ हजार ४४ जनसंख्या रहने गाउँपालिकामा ६ वटा वडा रहनेछन्। माइजोगमाई गाउँपालिकाको क्षेत्रफल १३८.८० वर्गकिलोमिटर रहेको छ।

५. रोङ गाउँपालिका

कोल्बुङ, इरौटार, जिर्मले र शान्तिपुरलाई समेटेर रोङ गाँउपालिका बनाइने भएको छ। लाप्चा जातिको भाषाबाट नामाकरण गरिएको यस गाउँपालिकाको केन्द्र कोल्बुङ गाविस भवन रहनेछ। १९ हजार १ सय ३५ जनसंख्या रहेको गाँउपालिकामा ६ वटा वडा रहनेछन्। रोङ क्षेत्रफल १८७.२५ वर्गकिलोमिटर रहेको छ।

६. सन्दकपुर गाउँपालिका

माइमझुवा, सुलुवुङ, माबु, जमुना, माइपोखरी ४ देखि ९ रहने गरी गरी सन्दकपुर गाउँपालिका बनाइने भएको छ। जसको केन्द्र देउराली बजार रहनेछ। १६ हजार ६५ जनसंख्या भएको गाँउपालिकामा ५ वटा वडा रहनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • नयाकुरा तयार गर्न गाह्राेहुन्छ पर्तेगाउपालिकामा 1$5/16वटा वडा बनाउन अाबस्यक पर्छवडासंख्या कम भयाे यसमापुनरबिचार गर्नैपर्छ