|

बाँके : बार बर्दिया नगरपालिकाभित्र कार्यरत सामाजिक विषयका शिक्षकले सिकलसेल एनिमिया र थालेसिमिया रोगसम्बन्धी शिक्षण सिकाई कक्षा लिएका छन्।  नगरपालिका भित्रका १४ सामुदायिक र तीन निजी विद्यालयका कक्षा ९ को पाठ्यक्रममा सिकलसेल एनिमिया र थालेसिमिया विषय समावेश भएपछि सामाजिक विषयका शिक्षकले शिक्षण सिकाई कक्षा लिएका हुन्। 

कक्षा ९ को पाठ्यक्रममा सिकलसेल र थालेसेमिया विषय नयाँ भएकोले शिक्षकलाई प्रावाेधिकरणमार्फत सिकलसेल अध्यापन सिकाई गरिएको बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर चौधरी 'कविर' ले बताए। उनले बारबर्दियाका सवै माध्यमिक विद्यालयमा सिकलसेल एनिमिया र थालेसिमिया विषयको अध्यापन आइतबारदेखि सुरु भएको जानकारी दिए। 

प्रमुख चौधरीले सिकलसेलको जानकारी विद्यार्थीलाई दिएर यसको न्यूनीकरण गर्न मावि तहका विद्यालयमा पाठ्यपुस्तक लागू गरिएको बताउँदै उनले यसको क्षेत्र विस्तार गर्दै जाने बताए। ‘विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सिकलसेल रोगबारे जानकारी दिन सके युवायुवतीवीच हुने विवाह न्यूनीकरण गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ,’ प्रमुख चौधरीले भने। 

सामाजिक विषयका शिक्षकलाई भेरी अंचल अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले कार्यशालामार्फत सिकलसेल र थालेसिमिया रोगसम्बन्धी प्रबोधिकरण गरेका हुन्। उनले सिकलसेल थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा रहेको बताउँदै सिकलसेलबाट बच्ने उपाय र उपचार पद्दति तथा सर्ने माध्यमका बारेमा अनुशिक्षण दिए। उनले सिकलसेल रोगको संक्रमण नभएका बच्चा जन्माउन सिकलसेल नभएकासँग विवाह गर्नुपर्ने बताए।उनले भने,‘सिकलसेल भएकाले नभएकासँग विवाह गर्दा सर्ने सम्भावना एकदमै कम हुन्छ।’ 

पाठ्यक्रममा सिकलसेल एनिमिया तथा थालेसिमिया विषय नयाँ भएकोले प्रबोधिकरण कार्यशालाले शिक्षण सिकाइमा मद्दत गरेको युवक मावि जोगी गाउँका सामाजिक विषयका शिक्षक नरेशकुमार चौधरीले बताए। उनले सामाजिक विषयको पाठ्यक्रममा समावेश भएको सिकलसेल एनिमिया स्वास्थ्यसँग सम्बन्धित विषय भएकोले अध्यापनका लागि जानकारी आवश्यक भएको बताए। उनले भने, ‘कहिल्यै नपढाएको विषय भएकोले अलि दिनसम्म बुझाउन केही समस्या हुने देखिन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.