|

हेटौँडा : प्रदेश-३ प्रहरी कार्यालय हेटौँडाले यौनजन्य हिंसा न्यूनीकरणका लागि 'विद्यालय सम्पर्क कार्यक्रम' सुरु गरेको छ। कार्यालयले प्रदेशका सबै सामुदायिक र संस्थागत विद्यालयमा विद्यालय सम्पर्क कार्यक्रम सुरु गरेको हो।

‘प्रदेश प्रहरी कार्यालय अन्तर्गतका १० जिल्लाका सबै सामुदायिक र संस्थागत विद्यालयहरूमा यो कार्यक्रम संचालन गरिनेछ’ प्रहरी प्रदेश ३ नम्बर कार्यालय हेटौँडाका सम्पर्क अधिकृत प्रहरी निरीक्षक रोशन थापाले भने। कार्यक्रमअन्तर्गत प्रहरीले शिक्षकलाई यौनजन्य हिंसा लगायतको बारेमा अवगत गराउने र शिक्षकमार्फत कक्षा एकदेखि १२ सम्मका विद्यार्थीलाई यसबारे जानकारी गराउने छन्।

प्रदेशमा रहेका सबै प्रहरी इकाईले विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत यौनजन्य अपराध, यस्ता अपराधबाट को को व्यक्ति कसरी पीडित हुन सक्छन्, को को व्यक्तिबाट कसरी कुन अवस्थामा यस्तो घटना हुन सक्छ, कस्ता क्रियाकलापहरू यौनजन्य अपराधका घटनाहरू हुन्, यौनजन्य अपराधका घटनाहरू भएमा कसरी जानकारी दिने, कसुर गर्नेलाई हुने सजाय, पीडितलाई कानुनी उपचारमा सहयोग गर्न शिक्षक, आफन्त, नातेदार, साथीभाई, प्रहरीको भूमिका लगायतका बारेमा जानकारी दिने थापाले बताए। कार्यक्रम एक महिना संचालन हुनेछ।

प्रदेश प्रहरी कार्यालयको आयोजना एवं जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला तथा बालबालिका सेवा केन्द्रको संयोजनमा विद्यालय सम्पर्क कार्यक्रम आयोजना भएको छ। हेटौँडा-६ चौघडामा रहेको बंशगोपाल माविमा आइतबार विद्यालय सम्पर्क कार्यक्रम भएको हो।

कार्यक्रममा प्रदेश-३  प्रहरी कार्यालय प्रहरी निरीक्षक चुडा खड्का, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला तथा बालबालिका सेवा केन्द्रकी प्रहरी नायव निरीक्षक दिपा कार्की र प्रहरी सहायक निरीक्षक अञ्जना उप्रेतीले सहजीकरण गरेका थिए। 

कार्यक्रममा कक्षा ८,९ र १० का विद्यार्थीलाई महिला हिंसा तथा बालबालिकाविरुद्ध हुने अपराध, अपराध न्यूनीकरणका लागि अपनाउनुपर्ने सावधानी, कानुनी व्यवस्था लगायतको बारेमा जानकारी दिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.