|

भद्रपुर : राप्रपाले बहुमतको आधारमा स्थानीय सरकार बनाएको झापाको कचनकवल गाउँपालिकामा असन्तुष्ट जनप्रतिनिधि तथा राजनीतिक दलबीच चर्किएको विवाद साम्य भएको छ। गाउँपालिका अध्यक्ष अञ्जार आलमले असन्तुष्ट पक्षसँग वार्ताका लागि तयार भएपछि दुई दिनदेखि बल्झिएको विवाद साम्य भएको हो। 

शनिवार गाउँपालिकाको दोस्रो गाउँसभामै जनप्रतिनिधिबीच हातपात र आइतबार असन्तुष्ट पक्षले पुनः विरोध र्‍याली निकाल्दै गाउँसभा स्थलमा तालाबन्दी गरेपछि घटनाले उग्र रुप लिएको थियो। घटनाले उग्र रुप लिएपछि गाउँपालिका अध्यक्ष आलम वार्ताका लागि तयार भएका थिए। गाउँपालिकाको कार्यालयमा सुरक्षा घेराकैबीच आइतबार दिउँसो ३ बजे दुवै पक्ष वार्तामा बसेका थिए। 

तीन घण्टा सम्म चलेको वार्तामा गाउँपालिका अध्यक्ष आलमले असन्तुष्ट पक्षको मागलाई सम्बोधन गर्ने आश्वासन देखाएपछि दुवै पक्ष बीच सहमति भएको संर्घष समिति वार्ता टोलीका संयोजक तथा नेपाली कांग्रेसका महासमिति सदस्य भूमिप्रसाद राजवंशीले जानकारी दिए। वार्तामा सकारात्मक भएकोले हाललाई सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको उनले बताए। 

वार्तामा गाउँपालिकाका तर्फबाट अध्यक्ष आलम, उपाध्यक्ष निमसरी राजवंशी, वडाध्यक्षहरू, राप्रपाका जिल्ला सचिव रुद्र आचार्य, सत्यनारायण यादव, राप्रपाका गाउँपालिका अध्यक्ष रवि ओझा र संर्घष समितिबाट वार्ता टोलीका संयोजक भूमिप्रसाद राजवंशी, नेपाली काग्रेसका तुलाराम अधिकारी, कालेन्द्र राजवंशी नेकपाका बुद्धि नेपाल, हरि घिमिरे, शेरबहादुर खत्री, वडा नम्बर ६ का वडाअध्यक्ष कुलबहादुर कार्की र वडा ७ का वडा अध्यक्ष भरत राजवंशी रहेका थिए। 

के भयो वार्तामा?

गाउँपालिकामा बसेको वार्तामा सोमबार बिहान ८ बजे गाउँपालिकाको कार्यपालिकाको बैठक बसी कार्यालय सार्ने खोजिएको जमिनको बिषयमा टुंगो लगाउने र त्यहाँ भएको निर्णय जनताको पक्षमा चित्त बुझ्दो भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने वार्ता टोलीका सदस्य तथा नेकपाका शेरबहादुर खत्रीले जानकारी दिए।

‘कार्यपालिकाको बैठकको निर्णय हेर्छौ’, खत्रीले भने,‘त्यसपछि पुनः संर्घष समितिका आठ सदस्य टोली पुनः गाउँपालिकासँग वार्तामा बसेर अन्य मागहरूको बारेमा टुंगो लगाउनेछ।’ उनका अनुसार गाउँपालिका समक्ष केन्द्र बनियानीलाई सार्न पाइँदैन, तानाशाह एकाधिकार अन्त्य हुनुपर्छ, विकास निर्माण कार्य पारदर्शी गर्नुपर्छ, शिक्षा कार्यविधि खारेज गर्नुपर्छ, गाउँपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बन्द गरिनुपर्छ र पार्टी कार्यकर्ता मुखी बजेटलाई खारेज लगायतका मागहरू राखेका थियौ। साथै वार्ता टोली समक्ष दोस्रो गाउँसभा छलफलको माध्यमबाट नटुंगिएसम्म स्थगन भएको अध्यक्ष आलमले घोषणा समेत गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.