|

तनहुँ : देवघाटका सीमान्तकृत बोटे समुदायलाई खाद्यान्नसहित लत्ताकपडा वितरण गरिएको छ। वर्षाले पीडित देवघाट गाउँपालिका–५ कालीभतेरीका बोटेलाई ६० हजार मूल्य बराबरको खाद्यान्न तथा लत्ताकपडा आइतबार वितरण गरिएको हो। ६ घरपरिवारका ३५ जनालाई खाद्यान्न र लत्ताकपडा प्रदान गरेको लियो क्लव अफ काठमाडौं छाब्दी बाराहीका अध्यक्ष प्रशान्त अधिकारीले बताए।

लियो/लायन्स क्लव अफ काठमाडौं छाब्दी बाराही, लियो/लायन्स क्लव अफ काठमाडौं वेदव्यास, लायन्स क्लव अफ काठमाडौं ब्रदर छाब्दी बाराही, लायन्स क्लव अफ काठमाडौं सिस्टर छाब्दी बाराही, लायन्स क्लव अफ काठमाडौं पराशर र लायन्स क्लव अफ काठमाडौं छिम्केश्वरीको आयोजना र विपद व्यवस्थापन समिति लियो जिल्ला परिषद ३२५ वि १ नेपालको सहआयोजना तथा डिस्टिनेशन कलेक्सन गोंगबु काठमाडौंको सहयोगमा बोटे समुदायलाई सामग्री वितरण गरिएको हो।

नेपाल आदिवासी जनजाति युवा महासंघ तनहुँका अध्यक्ष वीरबहादुर दरैको प्रमुख आतिथ्यतामा सामग्री विरतण गरिएको थियो। कार्यक्रममा बोल्दै अध्यक्ष दरैले जिल्लाका पिछडिएका वर्गको उत्थानलाई सबै स्थानीय तहहरुले चासो दिनुपर्ने बताए। ‘यस्ता कैयौँ पिछडिएका वर्ग जिल्लामा रहेका छन्, त्यस्ता जातिहरूले मुलुकमा भएका काम कारवाहीका बारेमा थाहा नपाउने हुँदा त्यसका बारेमा सरकारले नै खोजी खोजी सेवा सुविधा दिनुपर्छ,’ उनले भने ‘यस्ता सुकुम्बासीहरू अनपढ भएकाले गर्दा पनि सरकारी ऐन, नियमबारे नै जानकारी नपाउने भएकाले स्थानीय तहहरुको ध्यान पुग्नुपर्छ।’

सीमान्तकृत जातिहरु प्रायजसो अशिक्षित रहने भएकाले सचेतनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै सुसूचित गराउनसमेत दरैले वडा तथा गाउँपालिकालाई सुझाए।

देवघाट गाउँपालिका–५ का वडा अध्यक्ष यामलाल गुरुङले वडामा ६ घरपरिवार रहेको जानकारी दिए। उनीहरूको लागि सरकारले दिएको सेवासुविधाका साथै विशेष ध्यान दिएको र सधैँ उनीहरूको सेवासुविधा सम्बन्धी जानकारी गराउँदै सेवा दिने प्रतिबद्धता अध्यक्ष गुरुङले जनाए।

लियो/लायन्स क्लव अफ काठमाडौं छाब्दी बाराहीका अध्यक्ष प्रशान्त अधिकारीको अध्यक्षतामा सामग्री वितरण गरिएको हो। देवघाट गाउँपालिका–५ मा ६ घरपरिवारको मात्रै बसोबास रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.