|
Photo : chelsea-news.co

इङग्लिस प्रिमियर लिग प्रतियोगिता अन्तर्गत आइतबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ४-० गोलअन्तरले पराजित गरेको हो। 

चेल्सीले खेलको पहिलो मिनेटमा नै गोल गर्दै अग्रता लिएको थियो। पेड्रो रोड्रिगेजले पहिलो मिनेटमा नै विपक्षी गोलकिपरविरुद्ध वन भर्सेस वनमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। यसपछि खेलको २१ औँ मिनेटमा चेल्सीले पाएको कर्नरलाई उत्कृष्ट भली प्रहार गर्दै ग्यारी चाहिलले गोल गरेका थिए। पहिलो हाफमा २-० ले अग्रता लिएको चेल्सीले दोस्रो हाफमा पनि राम्रो प्रदर्शन गर्दै थप दुई गोल गर्‍यो। खेलको ६२ औँ मिनेटमा इडन हजार्डले उत्कृष्ट गोल गरेका थिए भने खेलको ७० औँ मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई ४-० गोलअन्तरको जित दिलाउन सफल भए। 

यस्तै, आइतबार राति नै सम्पन्न अर्को खेलमा म्यानचेस्टर सिटि साउथम्प्टनसँग १-१ गोलको बराबरीमा रोकिएको छ। सिटिको घरेलु मैदान इथियाड स्टेडियममा भएको खेलमा साउथम्प्टनले अग्रता लिएको थियो। खेलको २७ औँ मिनेटमा नाथन रेडमोन्डले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले पछि परेको सिटिका लागि खेलको ५५ औँ मिनेटमा केलाची इहेनाचोले गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि थप गोल हुन सकेन र खेल बराबरीमा टुंगियो। 

बराबरीपछि म्यानचेस्टर सिटिले ९ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ। यस्तै, समान खेलबाट समान अंक जोडेका आर्सनल र लिभरपुल क्रमश: दोस्रो र तेस्रो स्थानमा रहेका छन्। चेल्सी र टोटेनह्याम होट्स्पुर समान ९ खेलबाट समान १९ अंक जोड्दै चौथो र पाँचौ स्थानमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.