|

दैलेख : भैरवी गाउँपालिका पूर्व छामघाट खोला, पश्चिम गडजिउला खोला, उत्तर कालिकोट जिल्ला, दक्षिण दुल्लु नगरपालिकाभित्र रहेको रमणीय गाउँपालिका हो। हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती, पशुपालन व्यवसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका भएकै कारण यस गाउँपालिकामा कृषि, पशुपालन, पर्यटन, व्यापार एवं साना घरेलु व्यवसायको प्रचुर सम्भावना छ।

दैलेखको सबैभन्दा महत्त्वपूर्ण तीर्थस्थलसँगै पेट्रोलियम पदार्थ उत्खनन्‌को सम्भावना भएको शिरिस्था मन्दिर यसै गाउँपालिकामा रहेको छ। सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटीसमेतको सम्भावना उत्तिकै छ। २०७४ वैशाख २१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले, हाल नेपाल कम्युनिस्ट पार्टीका प्रेमबहादुर बुढा यो गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन्। गाउँपालिकाको विकास, समृद्धि र भावी योजनाबारे थाहाखबरकर्मी उदयराज अधिकारीले अध्यक्ष प्रेमबहादुर बुढासँग गरेको कुराकानी प्रस्तुत छ।

एक वर्षको अवधिमा जनताको हितमा हुने खालका कस्ता काम सम्पन्न भएका छन्? यस वर्षका योजना केके छन्?

निर्वाचन भएको एक वर्ष पूरा भएको छ। यस अवधिमा हामीले मुख्य गरी भैरवी गाउँपालिकामा सातवटा वडामा वडा कार्यालयको व्यवस्था सँगै सञ्चालन गरेका छौँ। सबै जनताले सेवा आफ्नो वडा कार्यालयबाट लिएका छन्। एउटा राष्ट्रिय महत्त्वको सडकको काम तीब्र रूपमा अगाडि बढिरहेको छ। दैलेख जिल्लाको माथिल्लो डुंगेश्वर, बैंक, मालिका, छिउडी पुसाकोट, दुल्लु वडालम्जी डाँडीमाडी सिलंगी, कुसापानी हुँदै कालीकोटबाट जुम्लाको मुगु हुँदै तिब्बतको नाक्चे जाने सडक हो।   त्यो सडकलाई हामीले उच्च प्राथमिकता दिएर प्रदेश सरकारको ध्यानाकर्षण गर्न सफल भएका छौँ। 

यसैबीच खानेपानीतर्फ भैरवी गाउँपालिकाको वडा नं. ४ पश्चिमको भूभागमा काम भइरहेको छ। त्यहाँ काम सम्पन्न हुने तयारीमा छ। त्यसको लगतै भैरवी गाउँपालिका वडा नं.५ को कपुरखोला खानेपानी आयोजना, जुन डोक्रा बाहाचौरमा क्षेत्रमा पर्छ, त्यहाँ काम गर्ने तयारीमा छौँ। केही विद्यालय भवनहरू बनेका छन्। भैरवी गाउँपालिकाको स्रोतबाट विभिन्न सडक निर्माण भएका छन्। डाँडीमाडीबाट विष्टवाडा हुँदै अगाडि बढ्ने सडकको काम पनि भइरहेको छ। ७ नम्बर वडाको कालीकोट जिल्लातर्फ बढ्ने सडक, जुन कुसापानीको माथिल्लो बेल्टमा छ, त्यसमा १५ लाख रुपैयाँ बराबरको काम गरेका छौँ।

एक वर्षदेखि गाउँपालिकाको केन्द्रको विवाद अझै समाधान भएको छैन, विवाद समाधानका उपाय केके खोज्नुभएको छ?

गाउँपालिका केन्द्रतर्फको विवाद त्यति ठूलो छैन। भैरवी गाउँपालिकाको केन्द्र साविक भैरीकालिकाथुमकै एरियामा रहने हो। विवाद समाधानका लागि हामीले तीन सदस्यीय कार्यदल बनाएका छौँ। कार्यदलले जुन ठाउँमा उपयुक्त निर्णय गर्छ, त्यही ठाउँमा गाउँपालिका केन्द्र रहनेछ र सर्वसम्मत मान्नेछौँ। 

भैरवी गाउँपालिकाका सबै जनताले सिंहदरबारको अधिकार गाउँगाउँमा महसुस गर्न पाएका छन् कि छैनन्?

केहि असन्तुष्टि मानवीय स्वभाव पनि हो। धेरै काम राम्रा भएका छन्। शिक्षा क्षेत्र एक ठूलो क्षेत्र हो। विगत दुई वर्षदेखि पिसिएफ कोटामा पढाएका शिक्षकहरूले तलब भत्ता पारउनुभएको थिएन। उहाँहरूलाई असार मसान्तभित्र १० लाख रुपैयाँ छुट्याएर उहाँहरू प्रत्येकको खातामा तलब हालिदिएका छौँ। यो वर्षमा एक करोड २० लाख ४४ हजार रुपैयाँ शिक्षा क्षेत्रमा छुट्याएका छौँ। यसबाट शैक्षिक क्षेत्रमा पहुँच नपुगेका बालबालिका, शिक्षक अभावमा भएको पठन पाठनको समस्या जस्ता धेरै समस्याहरू समाधान भएका छन्। 

पाँचवटा ठाउँमा नयाँ स्वास्थ्य संस्था स्थापना गर्ने काम अगाडि बढाएका छौँ। विशेष गरेर शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा हामीले रकम विनियोजन गरेका छौँ। यसबाट पनि जनताहरूले सिंहदरबारको अधिकार गाउँघरमा आएको महसुस गरेका छन्। सुधारतर्फ राम्रा खालको नीतिहरू पनि लागू गर्दै सिंहरदबारको महसुस जनतालाई गराउने अभियानमा छौँ। संघको कानुन र प्रदेशको कानुन आएपछि देखिएका थप जटिलताहरू समाधान हुनेछन्। त्यसपछि केवल विकासका लागि मात्रै हाम्रो सोच अगाडि बढ्छ। हामी जनतालाई सिंहदरबारको अधिकार गाउँघरमा आएको महसुस गराउनतर्फ लागिपरेका छौँ।

दैलेखको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय स्थल शिरिस्थान हो। यसको व्यवस्थापन, प्रचार प्रसारका लागि स्थानीय सरकारले कस्ता योजना सुरु गरेको छ? प्रदेश र संघले कस्ता कामहरू गर्नुपर्ने देख्नुभएको छ?

भैरवी गाउँपालिका वडा नं.- १ मा रहेको शिरिस्थान मन्दिरमा चौबीसै घण्टा ज्वाला बलिरहेको छ। पर्यटकीय हिसाबले र देशको आर्थिक हिसाबले यो क्षेत्र महत्त्वपूर्ण छ। नेपालमा पेट्रोलियम पदार्थको चरम संकट परेका बेला सरकारले दैलेखको शिरिस्थानमा आएर उत्खनन्‌को उद्घोष गर्‍यो। यो क्षेत्रलाई नेपालकै महत्त्वपूर्ण पर्यटकीय क्षेत्र बनाउने घोषणा पनि भयो। हामी अहिले पनि आशा गरिरहेका छौँ। सरकारले कि त यहाँको ग्यास उत्खनन् गर्नुपर्‍यो नभए यसलाई धार्मिक पर्यटकीय क्षेत्र भनेर लाखौँ पर्यटकहरू आउने वातावरण तयार गर्नुपर्‍यो। यो काम गाउँपालिकाको क्षमताभित्र पर्देन तर पनि २०७४/०७५ मा भैरवी गाउँपालिकाबाट हामीले पाँच लाख रुपैयाँ छुट्याएर अक्षय कोष जस्तो मुद्दति खाता खोलिसकेका छौँ। प्रदेश सरकार, केन्द्र सरकारलाई पनि हामीले तुरुन्तै यस विषयमा ध्यानाकर्षण गराएर पत्र पठाएका छौँ।

देशैभर जथाभावी कर बढ्यो भनेर विभिन्न टिप्पणीहरू भएका छन्, भैरवीले करको दायरा कस्तो बनाएको छ?

हामीले करको दायरा जनतालाई मर्का नपर्ने गरी तोकेका छौँ। जनतामा कर तिर्न अग्रसर हुनुपर्छ भन्ने जनचेतना अभियान जस्तो गरेर करलाई व्यस्थित गरेका छौँ। कर संकलन नगरेपछि राज्य व्यवस्था चलाउन पनि सकिँदैन। नियमित सरकारलाई कर तिरिरहेका व्यक्तिहरूका लागि सरकार कडा भएको छैन। करोडौँ रुपैयाँ कारोवार गरेर शून्य कर देखाउनेहरूलाई सबै तहका सरकारहरू कडा हुनुपर्ने मैले आवश्यकता देखेको छु। भैरवी गाउँपालिकाले कर लिने सवालमा जनताको ढाड सेक्ने गरी कुनै पनि कर निर्धारण गरेको छैन। जनताको ढाड सेक्ने गरी कुनै पनि स्थानीय तहले कर लिनुहुँदैन। भैरवी गाउँपालिकाले लिएको पनि छैन।

तपाईंले निर्वाचनको बेला जनता सामु गर्नुभएका घोषणा वा प्रतिबद्धता दुई वर्ष पुग्नै लाग्दा कति पूरा भए?

सबैभन्दा पहिला निर्वाचनको बेलामा भनिएका सडक, बत्ती, खानेपानी, सिँचाइ जस्ता ठूलाठूला कामहरू अगाडि बढाएका छौँ। त्यसपछि पर्यटन विकासका बारेमा  भैरवीतर्फ हामीले बाटो अगाडि बढाएका छौँ। ब्याउलीमा पनि एउटा पर्यटकीयस्थल बनाउनुपर्छ भनेर तीनवटा क्षेत्रलाई निकट गरेका छौँ। पर्यटनको काम यसरी नै अघि बढेको छ।  

विद्युतीकरणका लागि अहिले हामीले गाउँपालिकाबाट एक करोड आठ लाख रुपैयाँ छुट्याएका छौँ। विभिन्न वडामा केन्द्रले दिएको नियमित विद्युतीकरणको काम पनि जिल्लाबाट अगाडि बढिरहेको छ। झण्डै १५ करोड रुपैयाँ एउटा 'स्टिमेट'सहित म आफैँले ऊर्जा मन्त्रालयमा पठाएको छु। यो काम भयो भने विद्युतीकरणको समस्या समाधान हुने देखिन्छ। 

सिँचाइको विषएमा गीताचौर सिँचाइ कुलोलाई कसरी अगाडि बढाउने भनेर हामीले सोच बनाएका छौँ। हामी निरन्तर अगाडि बढेका छौँ। गीताचौर सिँचाइ कुलाको पहिलाको काम गरेको पैसा पाइएन भनेर गुनासाहरू आइरहेका छन्। के कसरी नपाइएको हो, त्यो जाँचबुझ गरेर सिँचाइ कुलो पनि अगाडि बढाउँछौँ।  

भैरवी गाउँपालिकाका मुख्य समस्या केके हुन्? कर्मचारी दरबन्दीको समस्या कस्तो छ?

भैरवी गाउँपालिकाका मुख्य समस्या भनेका विद्युत र खानेपानीका हुन्। कर्मचारीको विषयमा हामीले जेजति राखेका कर्मचारी छन्, ती करारमा राखेका छौँ। स्थायी साथीहरू थोरै हुनुहुन्छ। केन्द्र सरकारले नै कर्मचारी व्यवस्थापन गरिदियो भने हामीलाई तलतलसम्म काम गर्न सजिलो होला भनेर बाटो हेरिरहेका छौँ। अबको पाँच-छ महिनाभित्र कर्मचारी पठाउने अहिलेका सामान्य प्रशासनमन्त्री लालबाबु पन्डितले बेलाबेलामा सार्वजनिक मिडियामा अभिव्यक्ति दिनुभएको छ। यदि त्यसरी कर्मचारीहरू आए भने हामी सबैलाई सहज होला।  

तपाईंको कार्यकाल सकिने बेलासम्म भैरवी गाउँपालिकाको कस्तो बनाउने योजना छ?

मेरो कार्यकाल सकिने बेलासम्म तिब्बतको नाक्चे नाग्ला जोड्ने महत्त्वपूर्ण प्रादेशिक सडकलाई कालीकोट पानतडी भन्ने ठाउँमा लिएर कर्णाली जोड्नेछु। सातवटै वडामा बत्ती विद्युतीकरणको धेरै काम गर्छु। म घरघरमा त भन्न सक्दिनँ, सातै वटा वडालाई छुनेगरी विद्युतीकरणको व्यवस्था गर्छु। यो पाँच वर्षको अवधिमा पाँचवटा स्वास्थ्य संस्थालाई व्यवस्थित गरिन्छ। प्रत्येक वडामा एउटा स्वास्थ्य संस्था हुन्छ। शिक्षालाई गुणस्तरीय बनाउन सकिन्छ। शिक्षा र स्वास्थ्य भनेको पहिलो कुरा हो। त्यो नभए अरू गर्न सकिँदैन। शिक्षामा पनि हामीले बढी नै ध्यान दिएका छौँ। शिक्षा क्षेत्रमा विगतभन्दा धेरै परिवर्तन गरेर यो काम पूरा गर्नेछु। 

पूर्वाधार विकास धेरै गर्छौं भन्नुभयो, पूर्वाधार विकाससँगै सामाजिक विकासमा तपाईंले कतिको ध्यान दिनुभएको छ?  

मूल काममा गाउँपालिकाले विशेष ध्यान पुर्‍याएको छ। नेपालको सन्दर्भमा संख्यात्मक हिसाबले पुरुषभन्दा महिला बढी छन्। चेतनास्तर बढाउन र सशक्तीकरण गर्न सकिएन भने समाज र मुलुक अगाडि बढ्दैन भन्ने आममान्यता हो। हामीले सामाजिक विकासतर्फ पनि उत्तिकै चासो देखाएका छौँ। महिलाको चेतना विकास तालिमका लागि गाउँपालिकाबाट सातवटा वडाहरूमा ५० हजार रुपैयाँका दरले बजेट छुट्याएका छौँ।

गाउँपालिकाका ४४ वटै विद्यालयमा विद्यार्थी चेतना विकासका लागि काम गरिरहेका छौँ। वडा अध्यक्षको नेतृत्वमा प्रत्येक वडामा सशक्तीकरणका कामहरू भइरहेका छन्। जबसम्म हामीले जनशक्ति र समाजलाई सचेत पार्दैनौँ, त्यो भौतिक विकास गरेर मात्रै टिकाउ हुँदैन। सामाजिक पाटोलाई पनि हामीले सशक्त्त ढंगले अगाडि बढाएका छौँ। भैरवी गाउँपालिकाको मूल मान्यता भनेको जबसम्म चेतनास्तर अगाडि बढाउन सकिँदैन, अरू कुनै पनि काम गर्न सकिँदैन। त्यो चेतना बढाउनुपर्छ भन्नेमा हामी हमेशा लागिपरेका छौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.