|

काठमाडौं : जनताको शान्ति सुरक्षा कायम गर्न जनतासँग प्रत्यक्ष जोडिएको सुरक्षा निकाय हो, नेपाल प्रहरी। अझ अपराध नियन्त्रण र जनताको सुरक्षा गर्नु नै प्रहरीको प्रमुख दायित्य हो।

कुनै ठाउँमा अपराध भइहाले अपराध अनुसन्धान गरी अभियुक्त पत्ता लगाउने काम प्रहरीले नै गर्छ। त्यही कारण प्रहरी प्रशासनप्रति आमजनताको विश्वास रहन्छ र पीडितले न्यायको अपेक्षा राख्छ।

उसो त 'दबाब र प्रभावमा प्रहरीलाई नपार्ने हो भने जस्तो अपराध पनि पत्ता लगाउन सकिन्छ' यो प्रहरीका धेरै अधिकृतहरूले बोल्ने वाक्य हो। हुन पनि यसअघि प्रहरीले लामो अनुसन्धानपछि सफलता पाएका थुप्रै उदाहरणहरू पनि छन्। 

अपराध अनुसन्धानमा निकै नै अगाडि मानिने विश्वका धेरै देशका प्रहरीलाई छक्याएर भाग्न सफल ‘बिकिनी किलर’ भनेर चिनिने चार्ल्स शोभराजलाई नेपाल प्रहरीले नै पक्राउ गरेको हो। उनी हाल केन्द्रीय कारागार सुन्धारामा जेल जीवन भुक्तान गरिरहेका छन्। त्यस्तै, सर्वोच्च अदालतका न्यायाधीश रणबहादुरका बमका हत्यारादेखि १४ वर्ष पुरानो रानीबारी हत्याकाण्डका दोषी मनराज गुरुङ र प्रमेश चौहानलाई पक्राउ गर्नु नेपाल प्रहरीको इतिहासमा ठूलो सफता मान्ने गरिन्छ ।

तर नेपाल प्रहरीमा अहिले त्यो अवस्था नरहेको पूर्व प्रहरी नायव महानिरीक्षक (डिआइजी) हेमन्त मल्लको भनाइ छ। 'अपराध अनुसन्धानको पहिलो खुड्किलो भनेकै क्राइम सिन अर्थात् घटनास्थल हो। अपराध अनुसन्धानमा घटनास्थलमा भेटिएका प्रमाण संकलनमा त्रुटि भयो भने अपराधीसम्म पुग्न कठिन हुन्छ', मल्लले भने।

त्यस्तै, पछिल्लो केही समययता प्रहरी संगठनमा राजनीतिको रङ मिसिएको र संगठन विवादमा फस्दै गएको उनको बुझाइ छ। त्यही कारण अहिले प्रहरीप्रति जनताले विश्वास गर्न छाडेका छन्। प्रहरीले गरेका पछिल्ला केही अपराध अनुसन्धानका घटनाहरूमा समेत प्रहरी निकै विवादित बन्दै गएको छ। यस्ता छन् नेपाल प्रहरीका पछिल्ला केही विवादित घटनाहरू।

घटना एक

गत साउन १० गते साँझ आफ्नै साथीको घर गएकी कंचनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्त हराइन्। उनको साउन ११ गते ९ बजेतिर बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा शव भेटियो। तर एक महिनासम्म कंचनपुर प्रहरीले दोषी पत्ता लगाउन सकेन।

स्थानीयबासी यस घटनामा प्रहरी अधिकृतकै आफन्त र केही राजनीतिक दलका प्रतिनिधिका सदस्यहरूको संलग्नता रहेको आशंकामा आक्रोशित छन्। स्थानीय प्रहरीले नसकेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट गएको टोलीले करिब एक महिनापछि पन्तको बलात्कारपछि हत्या गरेको अभियोगमा दीलिपसिंह विष्टलाई पक्राउ गर्‍यो।

यसअघि कर्तव्य ज्यान मुद्दामा नौ वर्ष जेल बसेर एक वर्षअघि आममाफी पाएका विष्ट मानसिक रोगी भएको र उनको यस घटनामा संलग्नता नरहेको स्थानीयको भनाइ छ। यही विरोधमा स्थानीयबासीले प्रदर्शन गरेका थिए। स्थानीयबासीको प्रदर्शन हिंसात्मक भएको भन्दै प्रहरीले गोलीसमेत चलाएको थियो। प्रहरीको गोली लागेर एक जनाको मृत्युसमेत भएको छ।

प्रदर्शनले उग्र रूप लिएपछि प्रहरी प्रधान कार्यालयले तत्कालीन कंचनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरेको छ। उनको ठाउँमा हाल प्रहरी उपरीक्षक कुवेरसिंह कठायतलाई पठाइएको छ। त्यस्तै, प्रमुख जिल्ला अधिकारी कुमार खड्कालाई मन्त्रालय तानेर उनको ठाउँमा तारानाथ अधिकारी गएका छन्।

निर्मला बलात्कार र हत्याकाण्डको घटना अनुसन्धानका लागि हाल सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) ठाकुर ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको छ। त्यस्तै, गृह मन्त्रालयले समेत मन्त्रालयका सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। समितिले पन्तको हत्या अनुसन्धान गरिरहेको छ तर समिति गठन भएको दुई साता बढी समय बितिसक्दासमेत कुनै नयाँ सफलता पाउन सकेको छैन।

घटना दुई

साउन २० गते भक्तपुर काँडाघारीबाट ११ वर्षीय बालक निशान खड्का अपहरणमा परे। अपहरणमा परेका बालकको ‘सर्च अपरेसन’मा महानगरीय अपराध महाशाखा महानगरीय प्रहरी परिसर काठमाडौं र भक्तपुर प्रहरीबाट ठूलो मात्रमा प्रहरी परिचालन भए। तर बालकको जीवितै उद्धार गर्न सकेनन्। बालकको जीवितै उद्धार गर्न नसक्नुमा प्रहरीकै आन्तरिक कमजोरी भएको कतिपय उच्च प्रहरी अधिकृतहरूकै भनाइ छ। यस वियषमा समेत प्रहरी आलोचित भएको छ।

निशानको शव प्रहरीले साउन २१ गते बिहान भक्तपुरको ठिमी नगरपालिका- ७ नगदेशमा गाडिरहेको अवस्थामा फेला परेको थियो। अपहरणकारी भने फरार थिए। अपहरणकारीको खोजी गर्ने क्रममा अपहरणकारी भक्तपुरको पाइलटबाबा जंगल पुगेको सूचनाको आधारमा प्रहरी त्यहीँ पुग्यो।

पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि अपहरणकारीले गोली चलाएपछि प्रहरीको 'इन्काउन्टर'मा अपहरणकारीद्वय गोपाल तामाङ र अजय तामाङ मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताएका थिए।

तर उक्त इन्काउन्टर प्रहरीको फेक इन्काउन्टर भएको भन्दै प्रहरीमाथि गम्भीर आशंका गरिएको छ। स्थानीयका अनुसार तामाङद्वयलाई प्रहरीले उनीहरू बसेको कोठाबाट पक्राउ गरेर जंगलमा लगेर मारेको बताएका छन्। तर प्रहरी त्यो कुरा स्वीकार गर्न तयार छैन। यसअघिका प्रहरीले इन्काउन्टरमा मारिएका भनिएका सबै घटनामा समेत प्रहरी विवादित हुँदै आएको छ।

घटना तीन

भदौ ४ गते पूर्वराजदूत केशवराज झा मृत भेटिए। उनी थापाथलीस्थित आफ्नै कोठामा मृत भेटिएका थिए। उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो।

प्रहरीका अनुसार झाको कसैले हत्या गरिएको हो। तर प्रहरीले झाको हत्या कसले र किन गर्‍यो? त्यो अझैसम्म पत्ता लगाउन सकेको छैन। हत्याको आशंकामा प्रहरीले झाकै घरमा सुरक्षा गार्ड रहेका सानु तामाङ र दुई जना मालीलाई नियन्त्रण गर्नुबाहेक अरू कुनै प्रगति विवरण सार्वजनिक गरेको छैन।

अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्रप्रसाद उप्रेतीका अनुसार घटनाबारे प्रहरीको अनुसन्धान जारी रहेकाले अहिले नै सबै कुरा भनिहाल्न निमिल्ने उनको भनाइ छ।

प्रहरीका अनुसार झाको हत्या भएको दिन घरभित्र पस्ने ढोका सबै लक भएका थिए तर झा सुत्ने झ्यालको जाली भने काटिएको थियो। त्यसकै आधारमा प्रहरी अनुसन्धान गरिरहेको छ। तर झाको हत्या भएको करिब एक महिना बित्न लाग्दासमेत प्रहरीले त्यसको सुइँको सम्म नपाउनुले प्रहरीको अनुसन्धानमाथि प्रश्न चिह्न लागेको छ।

राजधानीको मुख्य केन्द्रमै पूर्वराजदूतको हत्या भएको यति लामो समय बित्दासमेत अपराधीसम्म प्रहरी पुग्न सकेको छैन। झाले नेपालको परराष्ट्र क्षेत्रमा ३४ वर्ष सेवा गरेका थिए। उनी २०४९ सालमा फ्रान्सका लागि नेपाली राजदूत बनेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.