|

बारा : आफनो नाममा धनीपुर्जा रहेको जमिन अर्कै व्यक्तिले दर्ता गरेको थाहा पाएपछि निजगढ नगरपालिका-९ का लालबहादुर श्रेष्ठ यति बेला चिन्तित बनेका छन्। निजगढ नगरपालिका-८ ‘ग’ को खाली रहेको कित्तानम्बर ९० को १ बिगाहा ९ कठ्ठा ८ धुर मध्ये श्रेष्ठको नाममा धनीपुर्जा रहेको ९ कठ्ठा ८ धुर जमिन काठमाडाैं बस्दै आएका प्रेमबहादुर थापा मगरले दर्ता गरेर धनी पुर्जा बनाएपछि उनी चिन्तित बनेका हुन्। 

जिल्ला मालपोत कार्यालयका कर्मचारीको मिलेमतोमा थापामगरले दुषित दर्ता गराएको स्थानीयको भनाई छ। ‘पछिसम्म पनि कित्ता खाली नै थियो, स्थानीय गोपाल पहरीले भने,'पछिल्लो समय निजगढमा जग्गाको मूल्य बढेपछि कर्मचारीको मिलेमतोमा भुमाफियाले दर्ता गरेका हुन्।’ उनले दुषित दर्ता खारेजी हुनु पर्ने माग पनि गरेका छन्। 

२०२२ सालमा नापीनक्सा हुँदाको बखत देखि नै महल खाली रहेको उक्त कित्ताको अधिकांश जमिन बकैया नदी कटानले बगरमा परिणत गरेपछि श्रेष्ठले २०४२ सालदेखि बाँकी जमिन भोगचलन गर्दै आएका थिए। सोही आधारमा सुकुम्बासी समस्या समधान आयोग बाराले ०५५ सालमा उनलाई जग्गाधनीपुर्जा समेत प्रदान गरेको थियो। नदी कटानमा परेको जमिन भने अहिले पनि बगरको रुपमा छ। 

मालपोत कार्यालयले उपलब्ध गराएको धनीपुर्जामा उक्त जमिन २०५३ सालमा थापामगरको नाममा आएको देखिएपनि एक बर्षअघि मात्र उक्त जमिनको दुषित दर्ता गरिएको स्थानीय शिक्षक मानबहादुर श्रेष्ठले जानकारी दिए। ‘सार्वजनिक र नीजी समेत रहेको जग्गामा रातारात अर्कैको नाममा धनीपुर्जा बनेको छ। श्रेष्ठले भने, दुषित दर्ता बदर गरी श्रेष्ठको निजी बाहेको जमिन सार्वजनिक कायम गरिनुपर्छ।’ 

अझै जग्गा खरिद गर्ने आउने रोकिएनन्    

जग्ग्गा खरिद गर्न भन्दै एउटा समुह जमिन भएको क्षेत्रमा पुगेको छ। जग्गाधनीका छोरा कटकलाल श्रेष्ठले जग्गा खरिद गर्न आएकाहरुलाई आफूले जग्गाको बारेमा सम्झाई बुझाई पठाएको बताए। 

नगरपालिकालाई ज्ञापन

बर्षौदेखि भोगचलनमा रहेको र महल खाली रहेको सार्वजनिक जग्गा ब्यक्तिमा नाममा दर्ता भएको भेटिएपछि आक्रोशित स्थानीयले निजगढ नगरपालिका कार्यालयमा पुगेर दर्ता बदर गराउन माग गरेका थिए। प्रमुख प्रशासकीय अधिकृत भरतचन्द्र अधिकारीले आवश्यक छानविन गरी कारवाही गर्ने प्रतिवद्धता जनाउनु भएको छ। 

खरिद÷बिक्री क्रममा काठमाण्डौंबाट ग्राहकहरु जग्गा निरीक्षण गर्न पुगेपछि उक्त जमिन अर्कैको नाममा दर्ता भएको खुलासा भएको थियो। भोग गर्दै आएकोले जमिन अर्कैको नाममा दर्ता भएपछि आफु पिडित बनेको बताउदै जग्गाधनी श्रेष्ठले आफनो भोग बाहेकको जमिन सार्वजनिक कायम गरिनुपर्ने बताएका छन्। 

स्थानीय सशंकित

वर्षौदेखि भोगचलन भईरहेको पुर्जा भएको जमिन अर्कोले आफ्नो भएको दाबी गर्ने घटना दोहेरिन थालेपछि स्थानीय शसंकित बनेका छन्। स्थानीय बद्रि चिमरियाले कुनै पनि बेला कसैको पनि जग्गा अर्काको नाममा दर्ता हुन सक्ने अवस्था देखिएको भन्दै आवश्यक छानविन गर्नुपर्ने माग गर्नुभयो। कर्मचारीको मिलेमत्तोमा दुषित दर्ताको भएको आंशका स्थानीयवासीको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.