|

लहान : घटना नं. १ : सिरहाको मिर्चैयामा उपचारका लागि आएकी २१ वर्षीया किशोरी सामूहिक बलात्कारको शिकार भइन्। बिसञ्चो भएपछि उपचारका लागि उदयुपरबाट ११ भदौमा मिर्चैया आएकी किशोरी गर्मी भएपछि साँझ बाहिर निस्किने क्रममा तीन जनाको समूहले मिर्चैयाको मुख्यबजार क्षेत्रदेखि करिब ५००मिटर पश्चिम पर्ने जीवा खोलादेखि उत्तरतिर पर्ने आँपको बगैंचामा पुर्‍याएर सामूहिक बलात्कार गरेको पीडित किशोरीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बगैंचामा पुर्‍याएकी किशोरीलाई तीन जनाले प्रतिबन्धित लागूऔषध फेन्सिडिलको बोतल थमाएर फोटो खिच्दै प्रहरीलाई खवर गरिदिने धम्की दिंदै सामूहिक बलात्कार गरिएको हो। प्रहरीले घटनामा संलग्न मध्ये मिर्चैया नगरपालिका-५ का २२ वर्षीय रितेशकुमार साहलाई पक्राउ गरी जबरजस्ती रकणीको मुद्दा चलाएको छ। प्रहरीका अनुसार बलात्कारमा संलग्न आरोपी दुईजना २२ वर्षीय नविन साह र २१ वर्षीय विजय साहको खोजी भइरहेको छ। 

घटना नं. २ :  सिरहाको अर्नामा गाउँपालिका-३ का २४ वर्षीय जितेन्द्र दासलाई पक्राउ गरी जबरजस्ती करणीअन्तर्गत मुद्दा चलाएको छ। २० वर्षीया महिलालई ६ भदौमा जबरजस्ती करणी गरी फरार रहेका दासविरुद्ध जिल्ला प्रहरी कार्यालय १८ भदौमा किटानी जाहेरी परेपछि पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जनाएको छ।

घटना नं. ३ : सिरहाको अर्नामा गाउँपालिका ३ का ३० वर्षीय सनसे महतोलाई पनि जबरजस्ती करणी अन्तर्गतको मुद्दामा पक्राउ गरिएको छ। १४ भदौमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी फरार भएपछि पीडित परिवारले दिएको किटानी जाहेरीको आधारमा महतोलाई पक्राउ गरी सिरहा जिल्ला अदालतबाट म्याद थपसहित अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

पछिल्लो समयमा सिरहाका विभिन्न ठाउँमा महिला तथा बालिकामाथि भएका हिंसाका घटना प्रहरीमा परेको किटानी जाहेरीको आधारमा बाहिर आएका हुन्। जिल्लाका दूरदराजका गाउँहरू जहाँ महिला तथा बालबालिकामाथि हुने जबरजस्ती करणीसहित यौन हिंसा तथा दुर्व्यवहारका घटनाहरू प्रहरी तथा न्यायिक निकायसम्म नआउँदै स्थानीय स्तरमै मिलापत्र गरिन्छन्। त्यस्ता घटनाहरूलाई समेत जोड्ने हो भने जिल्लामा महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र दुर्व्यवहारका घटनाहरूको संख्या उकालो लागेको देखिन्छ।  

बढ्दो यौन हिंसा र दुर्व्यवहार  

जिल्ला प्रहरी कार्यालय सिरहा, महिला अधिकारको क्षेत्रमा काम गरिरहेका सामाजिक संघ संस्थाहरूको तथ्यांकलाई मात्र आधार मान्ने हो भने पनि महिला तथा बालबालिकामाथि हुने यौन हिंसा र दुर्व्यवहारका घटना बढेको देखिएको छ। जिल्ला प्रहरीको तीन वर्षीय तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा भएका २६ वटा जबरजस्ती करणीका घटना आव २०७४/०७५ मा ३२ वटा पुगेको छ।

चालु आ.व. २०७५/०७६ को साउन महिनामा मात्र तीन वटा जबरजस्ती करणी र तीन वटा जबरजस्ती करणी प्रयासका घटना भएका छन् भने भदौको तेस्रो हप्तासम्म मात्र जिल्लाका दुई ठाउँमा एक सामूहिक बलात्कारसहित तीन वटा बलात्कारका घटना भएका छन्। त्यस्तैआर्थिक वर्ष २०७३/०७४ मा भएका ११ वटा जबरजस्ती करणी प्रयासका घटना आव २०७४/०७५ सम्म आइपुग्दा ३० वटा पुगेको छ। 

मुक्तिका लागि महिला अभियान नेपाल सिरहाका अनुसार सन् २०१८ को जनवरीदेखि जुलाई सात महिनाको अवधिमा ६० वटा महिला हिंसासम्बन्धी घटना भएका छन्। जसमा एक सामूहिक बलात्कारसहित छ वटा बलात्कारका घटना छन्। उक्त सबैभन्दा बढी ३३ प्रतिशत अर्थात् २० वटा घटना घरेलु हिंसासँग सम्बन्धित छन्। त्यस्तै अनौपचारिक क्षेत्र सेवा केन्द्र सिरहाका अनुसार तयही अवधिमा महिला तथा बालबालिकामाथि २०/२० वटा बलात्कार र बालत्कार प्रयासका घटना भएका छन्। 

सचेतना अभियान चलाउँदै प्रहरी   

जिल्लाका विभिन्न ठाउँमा लैंगिक हिंसा, जबरजस्ती करणी, मानव बेचविखन, लगायतका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय सिरहाले जिल्लाका सामाजिक संघ संस्थाहरूसँगको सहकार्यमा जिल्ला व्यापी रुपमा सचेतना अभियान चलाउँदैछ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार सचेतना अभिबृद्धिका लागि रेडियो कार्यक्रम, पर्चा पम्प्लेट वितरण, भित्तेलेखन र होर्डिङ बोर्ड, जबरजस्ती करणी र लैंगिक हिंसाविरुद्ध अभिमुखीकरण र विद्यालय क्याम्पसमा अनुशिक्षण कार्यक्रम संचालन गरिंदैछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.