|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा पहिलोपटक सुदूरपश्चिमको पहिचान झल्किने लुगा लगाएर देउडा खेलका छन्। यहाँका महिलाहरुले गुन्यु चोलो, कम्मरमा पटुका, गलामा पोते, तिलहरी, माला, हातमा चुरालगायतका गरगहनाहरु लगाएर देउडा खेलेका हुन्।

डडेल्धुरा बस पार्कमा आइतबार हुक्का चिलिम समाज र रेडियो युनिटीले संयुक्त रुपमा आयोजना गरेको हुक्का चिलिम महिला देउडा प्रतियोगितामा उनीहरुले सुदूरपश्चिमेली पहिरन सहित देउडा खेलेका हुन्।

उक्त देउडा खेलमा युवतीदेखि वृद्धासम्मको सहभागी थियो। आफ्नो देउडा संस्कृति संरक्षण गर्ने उद्देश्यले उक्त महिला देउडा प्रतियोगिताको आयोजान गरिएको आयोजकले जनाएको छ। पछिल्लो समयमा देउडा प्रतिको माह घट्दै गइरहेकाले यसको संरक्षण र प्रचारप्रसारका लागि सुदूरपश्चिमको पहिचान झल्किने गरी देउडा प्रतियोगिताको आयोजना गरिएको हो।

सुदूरपश्चिमको संस्कृति संरक्षण गर्नको लागि पहिचानसहितको देउडा खेल खेलेको देउडिया अमरगढी– ९ का पार्वती झुकालले बताइन्। ‘हाम्रो पुरानो संस्कृति हराउँदै गएको छ।’ उनले भनिन्, त्यसको संरक्षणका लागि हामी पनिहरु जम्मा गएर देउडा खेल्यौँ। हामीले खेलेको देखेर अबका युवा पुस्ताहरुले पनि सिको गर्छन होला।’ उनले आजभोलिका युवायुवतीहरुले पुरानो संस्कृति संरक्षण तर्फ ध्यान दिनु पर्ने बताइन्।

देउडामार्फत निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त हत्या काण्डका दोषीलाई यहाँका देउडियाहरुले देउडा मार्फत सरकारसँग कारबाहीको माग गरेका छन्।

१३ वर्षीया किशोरी निर्मलाको बलात्कारपछि हत्या भएको एक महिना बढी पुग्दा समेत मुख्य अभियुक्तलाई पक्राउ गर्न नसकेकोमा देउडा गीत मार्फत आपत्ती जनाउँदै देउडियाहरुले कारबाहीको माग गरेका हुन्।

अभियुक्तका रुपमा दिलिपसिंह विष्टलाई सार्वजनिक गरेर मुख्य अपराधीलाई उन्मुक्ति दिइएको देउडा मार्फत आरोप लगाउँदै उनीहरुले दोषी पत्ता लगाउन सरकारसँग देउडा मार्फत आग्रह पनि गरेका छन्।

कसरी खेलिन्छ देउडा?

देउडा खेलबाट नै देउडा संस्कृतिको उत्पत्ती भएको जानकारहरुले बताउने गरेका छन्। देउडा खेलमा गायकहरु गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा विभाजित हुन्छन्। त्यसपछि गीतै गीतमा सवाल जवाफ हुन्छ। यो खेल डेढ पैतलिको पदचापमा सन्तुलन मिलाएर समूहमा लयवद्ध ढङ्गले गीत गाउँदै खेलिने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.