|

काठमाडौं : विपीन कार्की नेपाली फिल्म क्षेत्रमा पछिल्लो समयका चर्चित अभिनेता हुन्। विपीन कार्कीलाई उनको वास्तविक नाम भन्दा पनि फिल्म 'पशुपति प्रसाद'को 'भष्मे डन' भनेर चिन्ने धेरै छन्। झण्डै एक दशकदेखि कलाकारितामा रहेका विपीनलाई चिनाउने पात्र त्यही 'भष्मे डन' भयो। 

उनलाई दर्शकले 'छड्के' फिल्मको बिन्दु माझी, 'पशुपतिप्रसाद' फिल्मको 'भष्मे डन' र 'जात्रा' फिल्मको फडिन्द्र तिमल्सिना उर्फ 'फडु'ले चिन्छन्। उनले 'छड्के', 'पशुपति प्रसाद', 'जात्रा', 'कालो पोथी', 'सुन्तली', 'लुट २', 'लालपुर्जा', 'नाका'लगायतका फिल्ममा अभिनय गरिसकेका छन्। विपीन अहिले फिल्म 'गोपी'को छायांकनमा व्यस्त छन्। उनी अभिनित 'प्रसाद' भने रिलिजको तयारीमा छ।

नाटक हेरेर जागेको अभिनय इच्छा

मोरङको बाहुनीमा जन्मिएका विपीनले २०५६ सालमा काठमाडौं आएर क्याम्पस पढ्न थाल्दासमेत कलाकारिताबारे सोचेकै थिएनन्। बिएको पढाइमा नाटक पढ्दा उनले काठमाडौंमा गुरुकुल नाटकघर छ भन्नेसम्म थाहा पाएका थिए। उनको गाउँका दाइ कमलमणि नेपाल त्यहीँ अभिनय सिक्थे। पछि उनै कमलमणिसँगै विपीन पनि गुरुकुल जान थाले, नाटक कसरी गर्दा रहेछन् भनेर हेर्न।

जब उनले निरन्तर नाटक हेरे, उनी पनि नाटकतिर लोभिए। अभिनय गर्ने चाहना हुन थाल्यो। 'म पढ्नका लागि काठमाडौं आएको थिएँ, कलकारिता भनेको के हो, त्यो थाहा थिएन', उनले विगतबारे भने, 'जब म गुरुकुल जान थालेँ, अरूले गरेको अभिनय हेर्दा मलाई पनि अगाडि गएर स्टेजमा अभिनय गर्न मन लाग्थ्यो तर कसरी गर्ने थाहा थिएन।'

उनले गुरुकुलका गुरु र कलाकार विद्यार्थीहरूसँग पनि राम्रो सम्बन्ध बनाए। एक दिन गुरुकुलका संस्थापक नाटक गुरु सुनिल पोखरेलले विपीनलाई सडक नाटक खेल्ने प्रस्ताव गरे। विपीनले पनि उक्त कुरालाई सहजै स्वीकारे। उनी भन्छन्, 'मैले चाहिरहेको पनि त्यही थियो र सहर्ष स्वीकारेँ।'

सडक नाटकमा अभिनय गरेपछि उनले गुरुकुलमा नाटकका सानातिना भूमिका पनि पाउन थाले। आफूले पाएको भूमिकामा उनले निकै मिहिनेत गर्थे। उनको कामबाट प्रभावित गुरु सुनिल पोखरेलले उनलाई नियमित काम गर्न प्रस्ताव गरे। विपीनले पनि मिहिनेतका साथ काम गर्दै आए।

संवादविहीन 'आचार्य' र 'लुट', डेब्यु 'छड्के'

विपीन कार्कीले फिल्म 'आचार्य'बाट फिल्ममा अभिनय यात्रा सुरु गरेका हुन्। उनले आचार्य फिल्ममा कुनै पनि डाइलग बोल्न पाएका थिएनन्। उनले आचार्य फिल्ममा दौडने मात्र काम पाए।

विपीनले लुटमा पनि काम गरे तर त्यहाँ पनि उनले कुनै संवाद बोल्न पाएनन्। यस फिल्ममा पनि उनी कलाकारको पछाडि दौडने भूमिकामा नै सीमित रहे।

विपीनले आचार्य र लुटमा काम गरिसके पनि आफ्नो डेब्यु फिल्म छड्केलाई मान्छन्। 'डाइलगविहीन फिल्मलाई के डेब्यु फिल्म मान्नु र!', उनी भन्छन्, 'मेरो डेब्यु फिल्म त छड्के नै हो, जहाँ मैले मेरो प्रतिभा देखाउन पाएको थिएँ।'

'लुट'को प्रभावबाट 'छड्के' अफर

फिल्म लुटमा मुख्य सहायक निर्देशक थिए, निगम श्रेष्ठ। निगमले विपीनको काम हेरिरहेका थिए। विपीनको कामबाट निकै प्रभावित थिए निगम। लुट सकिएलगत्तै निगमले छड्के निर्माण गर्ने निधो गरे। विपीनबाट प्रभावित निगमले विपीनलाई नै हेरेर एक पात्र सिर्जना गरेका थिए, विन्दु।

निगमले विपीनलाई अफर गरे। निगमको प्रस्तावबाट निकै खुसी भए विपीन। विपीन सम्झिन्छन्, 'म मुख्य भूमिकामा त थिइनँ तर मेरै लागि भनेर कुनै पात्रको सिर्जना गरिएको थियो। त्यसैले पनि निकै खुसी हुँदै फिल्ममा काम गर्न तयार भएँ।'

पहिलो फिल्मले नै दर्शकमाझ चिनायो

'छड्के' प्रदर्शनमा आएपछि उनको भूमिका 'नोटिस' भयो। दर्शकको ध्यान उक्त फिल्ममा मुख्य कलाकारमा भन्दा पनि विन्दु (विपीन कार्की)तिर नै तानियो। धेरैले उनको कामको तारिफ गरे।

'छड्के'बाट राम्रो प्रशंसा पाएसँगै उनलाई फिल्मका धेरै अफरहरू आए। चित्तबुझ्दो भूमिका नपाएका कतिपय फिल्म उनले रिजेक्ट पनि गरे। उनी सानो रोल नै किन नहोस्, फिल्ममा 'नोटिस' हुने खालको भूमिका खोज्थे। 'मैले धेरै स्क्रिप्टहरू पढेँ, राम्रो नलागेकाहरू रिजेक्ट गरेँ', विपीन भन्छन्।

'पशुपति प्रसाद'ले हिट बनाइदियो, 'जात्रा'ले करिअरमा इट्टा थपिदियो

छड्केपश्चात विपीनले केही फिल्ममा काम गरे तर उक्त फिल्मबाट उनले सफलता पाउन सकेनन्। यद्यपि, उनले अभिनय गरेको फिल्म 'पशुपति प्रसाद'बाट उनले नसोचेको सफलता पाए। उनले यति धेरै प्रशंसा पाउँछु भन्ने सोचेका पनि थिएनन्। 'फिल्म राम्रो बनेको छ भन्ने थियो तर यति धेरै मनपराउनु हुन्छ र मलाई माया गर्नुहुन्छ भन्ने लागेको थिएन', उनले भने।

पशुपति प्रसादबाट त उनको परिचय नै परिवर्तन भयो। उनलाई विपीन कार्कीभन्दा पनि पशुपति प्रसादको 'भष्मे डन' भनेर चिन्न थालियो। पशुपति प्रसादका लागि विपीनले धेरै मिहिनेत गरेका थिए। पशुपति प्रसादको स्क्रिप्ट पढ्दा उनी मोहित नै भएका थिए। अब दर्शकका लागि केही नयाँ दिनुपर्छ भन्ने भावना उनमा थियो, त्यो चाहना पशुपति प्रसादबाटै पूरा हुनेमा उनी आशावादी बने। पशुपति प्रसादको भूमिका खोज्न र स्वर परिवर्तन गर्न डेढ महिना लागेको विपीन बताउँछन्। फिल्म सफल भएपछि मिहिनेत सम्झिँदै उनी भन्छन्, 'मिहिनेतको फल पाएजस्तो लाग्यो।'

'जात्रा'बाट पनि विपीनले धेरै चर्चा पाए। उनले 'जात्रा'मा निर्वाह गरेको फणीन्द्रको भूमिका पनि धेरैले मनपराए। उनलाई यस फिल्मले स्थापित हुन मद्दत गर्‍यो।

विपीनले 'भष्मे डन' तथा 'फडु' पात्रबाट उनले धेरै फ्यानहरू कमाएका छन्। पशुपति प्रसादबाट युवा पुस्तामा लोकप्रिय बनेका उनले फिल्म जात्राबाट वृद्धवृद्धाको पनि मन जित्न सफल भए। पशुपति प्रसादमा उनले गरेको छुच्चो क्यारेक्टर अनि उनको स्वरले युवा पुस्तामाझ उनी लोकप्रिय भए भने 'जात्रा'मा उनले गरेको सोझो भूमिका वृद्धवृद्धाले मनपराइदिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.