|

काठमाडौं : संयुक्त राष्ट्रसंघको स्थापना दिवस सोमबार ‘पहिले स्वतन्त्रता’ अर्थात ‘फ्रिडम फस्ट’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 

दोस्रो विश्वयुद्धको समाप्तिपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको हो। सन् १९४८ देखि अक्टोबर २४ लाई संयुक्त राष्ट्रसंघ दिवसका रुपमा मनाउन लागिएको हो। 

दिवसका अवसरमा सन्देश दिँदै महासचिव वान कि मुनले दिगो विकास लक्ष्यको प्राप्तिका लागि सबै सदस्य राष्ट्र एक भएर लाग्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रसंघ नवौं महासचिव चयन हुने प्रक्रियाको संक्रमणकालमा रहेको भन्दै मुनले १० वर्ष सेवा गर्ने अवसर प्राप्त भएकोमा सदस्य राष्ट्रप्रति आभारसमेत व्यक्त गरेका छन्। 

पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघका नयाँ महासचिव हुने तय भएको छ। आगामी डिसेम्बरमा मुनको कार्याकाल सकिँदैछ। 

विश्वमा शान्ति स्थापना, मानव अधिकारको रक्षा र अन्तर्राष्ट्रिय कानुनको कार्यान्वयनका लागि संयुक्त राष्ट्रसंघको स्थापना गरिएको हो। अमेरिकाको न्यूयोर्क शहरमा मुख्यालय रहेको संयुक्त राष्ट्रसंघमा हाल १ सय ९३ राष्ट्र सदस्य रहेका छन्। 

सन् १९७१ मा संयुक्त राष्ट्रसंघको महासभाले स्थापना दिवसका दिन सार्वजनिक बिदा दिएर मनाउन सदस्य राष्ट्रलाई आग्रह गरेको थियो। प्याकेज डिलका रुपमा नेपालसहित १४ वटा देशले सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेका थिए। 

दिवसका अवसरमा नेपालमा रहेका संयुक्त राष्ट्रसंघका निकायले पनि विभिन्न कार्यक्रम गर्दैछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.