|

संखुवासभा : जिल्ला अस्पतालमा खाँदबारीमा आइतबार चैनपुर–४ की सर्मिला राई सुत्केरी भइन्। तर, दुई दिन बितिसक्दा समेत बच्चालाई नाभी मलम नलगाइएको उनका श्रीमान् मनकुमार लिम्बूले बताए। लिम्बूका अनुसार यसबारे अस्पतालका चिकित्सकसँग बुझ्दा नाभी मलम नभएकाले प्रयोग नगरेको जवाफ दिए। आइतबार नै सुत्केरी भएका सभापोखरी–१ की दीपा राईले समेत शिशुको नाभी मलम लगाइएन।

यस अस्पतालमा दैनिक दुई जनाभन्दा बढी सुत्केरी हुन्छन्। जिल्ला अस्पताल खाँदबारीमा दुई महिनादेखि शिशु जन्मिनुबित्तिकै लगाउने नाभी मलमको अभाव भएको छ। सरकारी स्वास्थ्य संस्थाहरुमा निःशुल्क पाइने नाभी मलम जिल्ला अस्पतालमा अभाव भएको हो।

एक गैरसरकारी संस्थाले उपलब्ध गराउँदै आएको नाभी मलम यस वर्षदेखि नेपाल सरकारले उपलब्ध गराउने भनिए पनि हालसम्म उपलब्ध नभएको अस्पतालका निमित्त प्रमुख लक्ष्मण खड्काले बताए।  उनले भने, ‘क्षेत्र र केन्द्रमध्ये कसले उपलब्ध गराउने भन्ने अन्यौल भएकाले अभाव भएको हो।’ मलम आपूर्तिका लागि पहल भइरहेकाले चाँडै उपलब्ध खड्काको भनाइ छ।

जिल्ला अस्पतालमा यति लामो समयसम्म सामान्य मलम समेत व्यवस्था हुन सकेको छैन। अस्पतालमा छ महिनादेखि कार्यालय प्रमुख छैन। कार्यालय प्रमुख नहुँदा अस्पताल प्रशासन, व्यवस्थापन र सञ्चालनमा समेत समस्या भएको छ। चैत महिनामा विनितकुमार झाको अन्यत्रै सरुवा भएपछि अस्पताल प्रमुखविहीन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.