|

तेह्रथुम : जिल्लाका विभिन्न ठाउँहरुमा धमाधम फरकफरक प्रकृति र पहिचान झल्काउने स्तम्भ निर्माण भइरहेका छन्। पर्यटकीय क्षेत्र वसन्तपुर, लसुने, सक्रान्तिबजार र म्याङ्लुङमा ऐतिहासिकता बोकेका तथा स्थान झल्काउने स्तम्भहरु निर्माण गरिएको हो। 

लालीगुराँस नगरपालिकाको वसन्तपुरमा फुलिरहेको गुराँसको रुख, लसुनेमा लसुनको पोटी, आठराईको सक्रान्तिबजारमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको सालिक र जिल्ला सदरमुकामको बसपार्कमा बिरालोको स्तम्भ बनाइएको छ। यस जिल्लामा स्थानीय क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने चलन बढ्दो छ। तेह्रथुमको प्रवेशद्वार चित्रे बजारबाट अगाडि लागेपछि यस्ता स्तम्भहरु एकपछि अर्को बजारका चोकचोकमा देख्न पाइन्छन्।

२८ प्रजातिका गुराँस फुल्ने गुराँसको राजधानी तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वार वसन्तपुरमा निर्माण गरिएको फुलिरहेको गुराँस स्तम्भले यस क्षेत्रमा पर्यटक लोभ्याइरहेको छ। स्तम्भ निर्माणपछि देशविदेशका गुराँसप्रेमी वसन्तपुर आएर सदाबहार फुलिरहेको गुराँसमा रमाउन थालेको स्थानीयवासीको भनाइ छ। स्थानीय बासिन्दाले रकम संकलन गरी स्तम्भ बनाएका हुन्। गुराँसभूमि यस क्षेत्रको  झल्को दिन फूलसहितको गुराँस स्तम्भ निर्माण गरिएको वसन्तपुरका युवा छिरिङ्ग लामाले बताए। 

लालीगुराँस नगरपालिकाकै लसुने बजारको बीच भागमा लसुनको पोटी आकारको आकर्षक स्तम्भ निर्माण गरिएको छ। यो बजारमा आइपुग्ने जो कोही पनि उक्त स्तम्भ अाउने गरी तस्वीर खिच्न लालायित हुन्छन्। स्थानीय किसानले लसुन खेती लगाएर बेच्न ल्याउने ठाउँमा बजार विकास भएपछि बजारको नाम नै लसुने बजार राखिएको तीनजुरे माध्यमिक विद्यालय, फिर्केका पूर्वशिक्षक ज्ञानबहादुर कार्कीको भनाइ छ। 

आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजारमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको पूर्णकदको सालिक निर्माण गरिएको छ। किरात धर्मावलम्वीहरुको बाहुल्यता रहेको यस क्षेत्रमा किरात धर्मका महागुरु फाल्गुनन्दको सालिक बनाइएको स्थानीय व्यवसायी चुडामणि बरालले बताए।

सदरमुकाम म्याङलुङमा पनि ऐतिहासिकता झल्काउन बिरालो स्तम्भ निर्माण गरिएको छ। म्याङ्लुङको पुरानो नाम मेयङलुङ भएको स्थानीयहरु बताउँछन्। लिम्बू भाषाबाट मेयङ भनेको बिरालो र लुङ भन्नाले ढुंगा भन्ने अर्थ लाग्छ। यहाँको ऐतिहासिकता बिरालोसँग सम्बन्धित रहेकाले बिरालोको स्तम्भ निर्माण गरेर पर्यटक आकर्षित गर्न लागिएको लिम्बु जातीय संस्था किरात याक्थुङ चुम्लुङ, तेह्रथुमका अध्यक्ष गणेश सेनेले बताए। 

मेन्छ्यायेम गाउँपालिकामा रहेको ऐतिहासिक मेन्छ्यायेम ढापमा मेन्छ्या (महिला)को प्रतीक शीरसहितको सालिक निर्माण गर्न लागिएको किरात याक्थुङ चुम्लुङ, तेह्रथुमका सचिव तेजमान कन्दङ्वाले बताए। लिम्बू भेषभूषामा सजिएको उक्त सालिक निर्माणका लागि प्रदेश १ बाट १५ लाख रकम विनियोजन समेत भएको सचिव कन्दङ्वाले जानकारी दिए। 

फरकफरक समयमा यी बजारमा आइपुग्ने आगन्तुकलाई स्थानीय पहिचानबारे अनुमान लगाउन सहज होस् र उनीहरुलाई आकर्षित पनि गर्न सकियोस् भन्ने उद्देश्यले यस्ता स्तम्भहरु निर्माण भइरहेका छन्। बेमौसममा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहन स्थानीयवासीले यस्तो फरक शैली अपनाएको हुन सक्ने भन्दै स्थानीय सरकारले यी लगायत जिल्लाका पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनमा चासो दिनु पर्ने अगुवाहरुले बताउने गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.