|

बागलुङ : दीपज्योति महिला समूह काठेखोला–७ रेशमा सोमबार आयोजित दर खाने कार्यक्रममा उपस्थित सबै महिला एकै खालको पोशाकमा थिए। उनीहरूले लगाएका गहना पनि समान थियो।  

स्थानीय महिला समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा महिलाहरू निकै खुसी थिए। उनीहरूले पोशाक र गरगहनाको तडकभडकभन्दा धेरै ध्यान कार्यक्रममा गाउने गीतमा दिए। 

कतिले कापीको पानामा लेखेर ल्याएका थिए भने पाका महिलाले पुराना गीत सम्झिने प्रयास गरे र दुःख सुखका गीत गाए। खुलाचौरमा आयोजना गरिएको कार्यक्रममा छेउमा ढुंगाको चुह्लो बनाएर पुरुषले महिलाका लागि दर काम गरेका थिए। गाउँमै उत्पादिन दुधबाट खिर बन्दै थियो, आलु काँक्रो र न्युरो मिसाएर अचार तयार पारिएको थियो। वडा अध्यक्षलाई अथितिको रूपमा बोलाइएको थियो।

पछिल्लो समय दरखाने कार्यक्रमका नाममा तडकभडक भइरहेकाले त्यस्तो प्रवृत्ति तोड्न समान पोशाकको व्यवस्था गरेको समूहकी अध्यक्ष जमुना कार्कीले बताइन्। ‘तीज गहना, कपडा प्रदर्शन गर्ने पर्व होइन’ कार्कीले भनिन्, ‘यो त दिदीबहिनीले सुखदुःख साट्ने पर्व हो, त्यसैले कार्यक्रमको आयोजना गरेका हौँ।’ माइतीघर जान नपाएकालाई न्यास्रो नलागोस् भनेर दरखाने कार्यक्रम आयोजना गरिएको उनले बताइन्।

बागलुङकै लोकतान्त्रिक चोकमा आयोजना भएको महिला समूहको दर खाने कार्यक्रमलाई नजिकबाट नियालेका लेखक कृष्णराज शर्मा दर खाने कार्यक्रम भड्किलो बन्दै गएको बताउँछन्। दर खाने बहानामा उत्ताउला प्रवृत्तिका गीत गाउने र गहना प्रदर्शन गर्ने काम भइरहेको शर्माले बताए। हुने खानेले प्रर्दशन गर्ने र हुँदा खानेको मनमा खिन्नता पैदा गर्ने काम दर खाने कार्यक्रमबाट भइरहेको शर्माको ठहर छ। 

पछिल्लो समय बजारमा आएका तिजका गीत र तिनै गीतमा नाच्नको लागि आयोजना हुने दरखाने कार्यक्रमप्रति गीत लेख्नेहरु पनि खुसी छैनन्। ‘तिजमा विकृति निम्तिने खतरा बढाेको छ’, शब्द संकलक शिव अंखेलीले भने, ‘वेदना साट्ने पर्वले उन्माद सिर्जना गरिरहेको छ, यो दु:खद पक्ष हो।’ उनले तिजलाई रत्यौली र कुनै विवाहको पार्टी नभएर तिज जस्तै बनाएर मनाउन आग्रह समेत गरे। 

पछिल्लो समय तिज महिलामा मात्रै सिमित नरहेर सबैको रूपमा विकास भइरहेको कतिपयको धारणा छ। ‘पछिल्लो समय तीजलाई पारिवारिक रूपमा मनाउन थालिएको छ’ नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले भनिन्, ‘दिदी ल्याउँदा भिनाजु र बहिनी ल्याउँदा ज्वाइँलाई एक्लै किन छोड्नु भनेर दुवैलाई ल्याउने चलन आएको छ।’ यसरी पारिवारिक रुपमा मनाइने तिजले खर्च बढाउने उनको भनाइ छ। ‘हुनेले बहिनीज्वाइँ दुवैलाई बोलाएर भोज गराउँला’ शर्माले भनिन्,‘नहुनेले परिवार नै बोलाएर कसरी पर्व मनाउनु।’ यस्तो प्रवृत्तिले हुने र नहुनेको बिचमा फरक छुट्टाइरहेको शर्माले बताइन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.