|

चिरञ्जिबी घिमिरे

दमक : झापाको दमकमा डेंगुका कारण बिरामी हुनेको संख्या दिनहुँ बढ्दै गएको छ। दैनिकजसो २० देखि २५ जनासम्म नयाँ बिरामीहरु फेला पर्न थालेपछि दमकबासीहरु त्रसित बनेका छन्।

झापाका एक चिकित्सक र दूई स्वास्थ्यकर्मीसहित ६० जना डेंगु पोजेटिभ देखिएको छ। लाइफलाइन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दूइ जना स्वास्थ्यकर्मीमा डेंगु फेला परेको हो। शाहलाई उपचारका लागि भारतको सिलगुढी लगिएको छ। 

यस्तै, दमकका पत्राकार गोपाल झापालीलाई समेत डेंगु लागेको छ भने नेकपा एमालेका दमक नगर सचिव इन्द्र गुरुङ धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय निःशुल्क रुपमा डेंगु परिक्षणका लागि सरकारी दमक अस्पताललाई केन्द्र तोकेको छ। यहाँ नेपाल सरकारले तोकेको कीटमा डेंगु परिक्षण हुने गरेको छ।

दमकमा सुविधा सम्पन्न सरकारी अस्पताल नहुदाँ निजी अस्पतालमा बिरामी जानु पर्ने बाध्यता छ। दमकमा रहेको सरकारी अस्पताल दमक अस्पतालमा समेत आफ्नै ल्याब छैन। आफ्नै ल्याब नभएका कारण बिरामीले आफ्नो रिर्पोट फर्कन समेत घण्टै पर्खनु पर्ने बाध्यता छ। 

यसैबीच, रोगको अध्ययन गर्न आएको अन्तराष्ट्रिय टोली समेत एक दिनमात्र रोगीलाई भेटेर शनिबार साँझनै फर्केको जिल्ला जनस्वास्थ्य कार्यालय झापका डेंगुरोग फोकल पर्सन जीवन चौलागाईँले बताए। इन्ष्टिच्युट अफ ट्रपिकल मेडिसिन बेल्जियमका डाक्टर बार्ट अस्टिन सहितको टोली दमकका विभिन्न अस्पतालमा रहेका डेंगु संक्रमित बिरामीको उपचार तथा अध्ययनका लागि दमक आएको थियो। यस्तै, पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका क्षेत्रीय निर्देक डाक्टर महेश प्रसाद खनालले समेत सोमबार दमकका अस्पतालहरुमा रहेका बिरामीहरुलाई भेटेका छन्। 

राज्यको ध्यान चितवनको डेंगु रोग भएको ठाँउमा भएका कारण दमकमा धेरै समस्या भएको उनले बताए। दमकमा डेंगुको जाँच गर्नका लागि सरकारी मान्यता प्राप्त डेंगु किटको अभाव भएकोले इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखामा जानकारी गराइ सकिएको उनले बताए। दैनिक दुई गुणा बिरामी बढ्नु भयानक भएको भन्दै उनले स्थानीयबासीलाई सचेत रहन आग्रह गरेका छन्। डेंगु संक्रमितहरुमा दमकको १०, ११, १२ र १४ नम्बर वडाका धेरै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ। यस्तै दमकमा रहेका निजी अस्पतालहरुले समेत सरकारले डेंगु किट उपलब्ध गराए आफुहरु डेंगु रोगको निःशुल्क उपचार गर्न तयार रहेको एड्भान्स हेल्थ केयर सेन्टरका अध्यक्ष शेर बहादुर भट्टराईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.