|

तेह्रथुम : अाज हरितालिका तीजको दर खाने दिन। दर भन्नाले मीठामीठा खानेकुराहरू पकाएर खाने दिनको रूपमा ऐतिहासिक कालदेखि चलन चल्दै आएको परम्परा हो। पहिले जस्तो शारीरिक परिश्रम कम गर्ने आजकालका मानिसहरूले खानपिनमा पनि होसियार हुनुपर्ने देखिन्छ।

विशेष गरेर दूधका विभिन्न परिकार, प्रोटिनयुक्त खानेकुरा लगायत मिष्ठान्न खाने चलन छ। तर, तेह्रथुममा आज दर खानका लागि मिष्ठान्न भोजन बनाउने कच्चा पदार्थ दूधको अभाव भएको स्थानीयले बताएका छन्। पछिल्लो समय पूर्वी पहाडी जिल्लाका किसान पशुपालनमा आफ्नाे भविष्य खोजिरहेका छन्। यो पेशामा युवा कृषकको आकर्षण पनि बढ्दो छ। कृषि र दूग्ध उत्पादक सहकारी संस्था नै सञ्चालनमा ल्याएर किसान व्यवसायिक दूध उत्पादनमा लागेका छन्। तर पैसा तिरेर पनि बजारमा दूध खरिद गर्न नपाइने गरेको म्याङलुङ बजारवासी बताउँछन्। 

विगतको तुलनामा गाउँमा दूध उत्पादनमा बृद्धि आएको छ। दूध उत्पादक किसानलाई बजारको पनि समस्या छैन। तर बजारका उपभोक्ता भने पैसा तिरेर पनि चाहिए जति दूध खरिद गर्न पाइरहेका छैनन्। किसानले सिधैँ सहकारीमार्फत् धरान, विराटनगरमा रहेका डेरी उद्योगलाई दूध बिक्री गर्ने गरेकाले स्थानीय बजारमा दूधको अभाव हुने गरेको हो। दैनिक रुपमा ३० लिटर दूध लिएर चिया बेच्दै आएकोमा आज भने २० लिटर मात्रै दिएको होटल व्यवसायी खड्ग थापाले बताए। उनले तीजमा दर खान अरू परिकार पनि बनाउनुपर्ने तर दूध कम भएकाले समस्या भएको गुनासो पोखे।

परम्परागत रुपमा किसानले गाईभैंसी पालेर उत्पादन गरेको दूधबाट घिउ, कुराउनी र खुवा बनाउने गर्दथे। यस्ता उत्पादनले बजार नपाउँदा त्यसबेलाका किसानले पशु पालनबाट त्यति उन्नति गर्न सकेका थिएनन्। तर बजारको प्रबन्ध भएपछि दूध बिक्रीबाट किसानले हाल गाउँमा मनग्गे आम्दानी गर्ने गरेका छन्। छोराछोरीलाई राम्रो विद्यालयमा पढाएका छन्। घरजग्गा खरिद गरेका छन्। स्थानीय बजारमा दूध कम आए पनि दूध र दूधजन्य पदार्थको बिक्रीबाट किसानको जीवनस्तरमा सुधार आएको व्यवसायिक रुपमा दूध बिक्री गर्दै आएका यादव भट्टराईले बताए। 

पहिले दूध बिक्रीका लागि बोकेर बजारसम्म ल्याउने किसान अहिले गाउँ घरमै खुलेका दूग्ध सहकारी संस्थामा बिक्री गर्ने गर्दछन्। बजारमा बिक्री गर्नुभन्दा सहकारीमार्फत् दूध बिक्री गर्दा किसानलाई बढी फाइदा हुने गरेकोले स्थानीय बजारमा कम दूध आएको हुन सक्ने तीनजुरे दूग्ध उत्पादक सहकारी संस्था सोल्माका व्यवस्थापक महेश खनालले बताए। सहकारीमा दैनिक ३०० लिटर बढी दूध जम्मा हुन्छ। महिनामा दूध र दूधजन्य उत्पादनको बिक्रीबाट पाँच लाख बढी आम्दानी हुने गरेको उनको भनाइ छ। 

तेह्रथुमको चित्रे बजारमा २०४५ सालमा सरकारी स्वामित्वको दूग्ध विकास संस्थानले दूध चिस्यान केन्द्र सञ्चालनमा ल्याएपछि जिल्लामा दूध उत्पादक कृषकको संख्या बढ्न थालेको हो। यहाँ दैनिक जम्मा हुने दुई हजार २०० देखि दुई हजार ५०० लिटर दूध विराटनगर दूग्ध वितरण आयोजनाले लाने गरेको छ। 

दूध बिक्रीका लागि संकलन केन्द्र र सडक आसपासमा रहेका चिस्यान केन्द्रसम्म ल्याउन ढुवानी प्रमुख चुनौति रहेको छ। वर्षायाम सुरु भएसँगै हिलाम्मे भएका सडकका कारण गाडी नचलेर मान्छेले बाकेरै गाउँगाउँबाट दूध बजारसम्म ल्याउनुपर्ने बाध्यता रहेको कारण पनि बजारमा दूधको माग धान्न नसकिएको दूध व्यवसायीको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.