|

युवा अवस्थामै मृत्युवरण गरेका मोतीराम भट्टको सम्झनामा ४० वर्ष मुनिका युवा स्रष्टालाई  प्रदान गरिने  युवा वर्ष मोती पुरस्कार यस पटक साहित्यकारद्वय केशव सिग्देल र चन्द्र रानहँछालाई प्रदान गरिएको छ। 

पुरस्कारको राशि ५० हजार रुपैयाँ र स्वर्ण पदक रहेको छ। हालसम्म ६५ जना स्रष्टा यो पुरस्कारबाट सम्मानित भइसकेका छन्। यसै विषयमा केन्द्रित भएर युवास्रष्टा, समालोचक तथा अनुवादक केशव सिग्देलसँग थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानी प्रस्तुत छ। 

युवा वर्ष मोती पुरस्कार प्राप्त गर्नुभएको छ, कस्तो अनुभव भइरहेको छ?

लामो इतिहास भएको र मोतीराम जस्ता एक राष्ट्रिय विभूतिका नाममा स्थापित पुरस्कार पाउँदा अवश्य नै खुसी लागेको छ।

चालीस वर्षमुनि व्यक्तिलाई दिइने यस प्रकारको पुरस्कारको सम्मानित स्रष्टा तपाईं हुनुभयो। तपाईं सम्मानित हुनुको कारण के जस्तो लाग्छ?

भाषा साहित्यको क्षेत्रमा निरन्तर काम गरिरहेको छु। हुनत यी सबै काम मैले स्वान्त सुखायको भावले गरेको हुँ। म जस्तै काम गरिरहेका अरू थुप्रै स्रष्टाहरू पनि हुनुहुन्छ। पुरस्कार चयन समितिले मलाई पनि पुरस्कारको सिलसिलामा जोड्यो। मेरा लागि एउटा सुखद संयोग भयो यो। यसले भाषा साहित्यका लागि निरन्तर सक्रिय रहने हौसला पनि बढेको छ।

नेपालमा प्रतिष्ठितदेखि सामान्य पुरस्कारसम्म निष्पक्ष र स्वतन्त्र छैनन् भन्ने आलोचनाका बीच तपाईंले प्रतिष्ठित पुरस्कार प्राप्त गर्नुभएको छ, यसमा कतिको निष्पक्ष र स्वतन्त्र निर्णय भएको होला जस्तो लाग्छ?

पुरस्कारका लागि चयन गर्ने विषय सजिलो अवश्य छैन। पुरस्कारको चयन वस्तुगत आधारमा गरिनुपर्छ भन्ने मेरो पनि मान्यता छ। पुरस्कार नपाउँदैमा कुनै योगदान गरेको छैन भन्ने अर्थ पनि लगाउन मिल्दैन।

पछिल्लो समय स्रष्टामा सम्मान र पुरस्कार मोह बढेको भन्ने आलोचना छ, तपाईं आफूमा यस्तो मोह कतिको पाउनुहुन्छ?

सिर्जना गर्ने सर्जकले आफ्नो सिर्जनालाई अरूले 'रिकग्नाइज' गरिदेओस् भन्ने चाहना राख्नु स्वाभाविक हो। लेखकका कृतिहरू बढी बिक्नु पनि आफैँमा एउटा ठूलो पुरस्कार हो। तर पुरस्कार पाउनकै लागि भनेर म भाषा साहित्यको क्षेत्रमा लागेको होइन। अरू कोही स्रष्टा पनि त्यसरी लाग्छ जस्तो लाग्दैन। तर आफ्नो कामको 'रिकग्निसन' होस् भनेर कसैले चाहना राख्नुलाई अन्यथा मान्नुपर्ने पनि देख्दिनँ।

रामायण अंग्रेजीमा अनुवाद गरेर चर्चामा हुनुहुन्थ्यो। अबका योजनाहरू केके छन्?

म अहिले बाँके, बर्दियाको सेरोफेरोमा रहेर आख्यान लेखिरहेको छु। कविता, निबन्ध र अनुवादमा मैले काम गरिरहेको हुँ। यो आख्यान मेरा लागि पहिलो प्रयोग हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.