|

चिरञ्जिबी घिमिरे

दमक : दैनिक रुपमा बजारबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न दमक नगरपालिकाले तयारी सुरु गरेको छ। दमक नगरपालिकाको बजार क्षेत्रबाट निस्कने सबै किसिमको फोहोरको प्रशोधन गरिने भएको छ। 

नगरपालिकाको फोहोरमैला ब्यवस्थापनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्र पुल्चोकबाट आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा १ करोड ३० लाख रुपयाँ बजेट निकाशा भएको छ। बजेटबाट पूर्वाञ्चलमानै पहिलोपटक फोहोरबाट आम्दानी गर्नका लागि फोहोरमैला प्रशोधन केन्द्रको स्थापना गर्न लागिएको हो।

दैनिकरुपमा उत्पादन हुने जैविक फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने र अजैविक फोहोरमध्ये पुनः प्रयोगमा आउने फोहोरलाई पुन: प्रयोगमा ल्याउने तथा प्रशोधन हुने फोहोरलाई प्रशोधन गरि फोहोरलाई स्रोतको रुपमा व्यवस्थापन गर्नका लागि प्रशोधन केन्द्रको स्थापना गर्न लागिएको हो।

यसका लागि दमक-३ स्थित हंसे दुम्से सामुदायीक वन क्षेत्रमा ३ विगाहा क्षेत्रफलमा फोहोरमैला प्रशोधनस्थल निर्माण भइरहेको दमक नगरपालिकाका वातावरण शाखा प्रमुख द्रोण थापाले बताए। ‘प्रशोधन केन्द्रमा अहिलेसम्म बार, फोहोरमैला व्यवस्थापनका लागि पक्की ३ कोठे कार्यालय भवन, फोहोर प्रशोधनका लागि फलामे ड्रस(फलामको डण्डी र जस्ताले बनेको खुल्ला सेड) को निर्माण, फोहोर प्रशोधनस्थलसम्म विद्युत लाइन बिस्तार लगायतका कार्य सकेका छौ’, उनले भने, ‘यही प्रशोधन केन्द्रका लागि नगरपालिकाले नै ३ किलोमिटर विद्युतलाईन बिस्तार गरि १५० किलोभोल्टको ट्रान्सर्फमर हामी आफैँले राखेका छौँ।'

पूर्व क्षेत्रमा नै पहिलोपटक मेसिन जडान गरेर फोहोरमैला व्यवस्थापनको कार्य अघि बढेको उनले बताए। यसबाट नगरको बजार क्षेत्रबाट दैनिक उत्पादन हुने १५ टन फोहोरमैला व्यवस्थापनको स्थायी समाधान हुने दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए। उनले भने, ‘दुई वर्ष अघि हामीले सार्वजनिक निजी साझेदारीमा दीर्घकालीन फोहोर ब्यवस्थापनकालगि पाथ वे नेपाल प्रालि जेभिसँग सहकार्य गरेका थियौँ, यो प्रशोधन केन्द्र स्थापनाले फोहोरमैला ब्यवस्थापनमा अझैबढी महत्व राख्छ।'

प्रशोधन केन्द्रमा लगेको विद्युत लाइनका लागि विद्युत मिटर उपलब्ध नहुँदा फोहोरमैला प्रशोधन मेसिन जडान गर्न नसकिएको उनले बताए। उनले भने, ‘प्रशोधन केन्द्रमा मेसिन जडान गरिसकेपछि हामी अन्य आसपासका नगरपालिकाको फोहोर पनि दमकमा किनेर ल्याउँछौँ। त्यसबाट हामी कम्पोष्ट मल उत्पादन गरि आम्दानी गर्छौँ।' 

केही दिन भित्रमा नै मिटर आउने र प्रशोधन केन्द्र सञ्चालनमा आउने उनको भनाइ छ। उनले भने,‘विद्युत वितरण केन्द्र दमकबाट अहिले मिटर वितरण नहुने रहेछ। हामीले केन्द्रमा कुरा गरेका छौँ। तिहार लगत्तैँ आउँछ र मेसिन जडानको काम सुरु हुन्छ।’

सम्बन्धित समाचार:

निस्कियो फोहोरबाट बिजुली र ग्यास, तिहारलगत्तै औपचारिक उद्‍घाटन

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.