|

रामेछाप : रामेछापको मन्थली नगरपालिका ६ अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा चालू शैक्षिक सत्रबाट अंग्रेजी माध्ययममा पढाइ सुरु गरिएको छ। शिक्षालाई गुणस्तरीय बनाउने उद्देश्यले वडा कार्यालयको पहलमा चालू शैक्षिक सत्रबाट वडाअन्तर्गत रहेका विद्यालयमा अंग्रेजी माध्ययमबाट पढाइ सुरु गरिएपछि विद्यार्थी संख्यासमेत वृद्धि भएको छ।

वडाअन्तर्गत रहेका ११ वटा विद्यालयमध्ये विद्यार्थी संख्या कम भएका तीनवटा विद्यालयलाई यसै शैक्षिक सत्रमा समायोजन गरिएको र बाँकी रहेका आठवटा विद्यालयमा अंग्रेजी माध्ययममा पढाइ सुरु गरिएको वडा अधयक्ष गोपालबहादुर माझीले बताए।

सामुदायिक विद्यालयमा विद्यार्थी संख्या शून्य हुँदै गएपछि सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने उद्देश्यले अंग्रेजी माध्ययममा पढाइ सुरु गरिएको अध्यक्ष माझीको भनाइ छ।  शिशु कक्षा र कक्षा १ मा पूर्ण रूपमा अंग्रेजी माध्ययममा र माथिल्ला कक्षामा केही अंग्रेजी विषय थप गरी पढाइ भइरहेको छ। अंग्रेजी माध्ययमा कक्षा सञ्चालन गर्नको लागि वडा कार्यालयले विद्यालयको आवश्यकताअनुसार एउटा विद्यालयलाई पाँच लाख रुपैयाँसम्म बजेट विनियोजन गरेको अध्यक्ष माझीले जानकारी दिएका छन्।

अंग्रेजी माध्ययमा पढाइ सुरु गरिएपछि वडाका विद्यालय भर्ना हुने बेला भएका बालबालिका वडाकै आफूलाई पायक पर्ने विद्यालयमा भर्ना भएका छन्। नयाँ भर्ना हुन निजी विद्यालमा जाने बालबालिका यस शैक्षिक सत्रमा सामुदायिक विद्यालयमै भर्ना भएको पञ्चकन्या आधारभूत विद्यालय कुनौरीका प्रधानाध्यापक गोपालप्रसाद घिमिरेले बताए।

महिनाको एकपटक अभिभावक भेला गरेर बालबालिकाको पढाइको बारेमा नियमित छलफल गर्ने गरेको पनि उनले बताए। अंग्रजी माध्ययमा पढाउँन थालिएपछि आफ्नो बालबालिकाको पढाइमा निकै सुधार आएको अभिभावक नवराज माझीले बताए।

अंग्रेजी माध्ययमा पढाउन दक्ष शिक्षकको अभाव भएकाले सम्बन्धित निकायले अंग्रेजी माध्ययमा पढाउन सक्ने शिक्षकको ब्यवस्था गर्नुपर्ने सिद्धेश्वर आधारभूत विद्यालय हात्तिटारका प्रधानाध्यापक केदारप्रसाद प्रसाईंको भनाई छ। मन्थली नगरपालिका–६ मा १ माध्यमिक विद्यालय र सातवटा आधारभूत विद्यालय रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.