गौसेवा सदनका अध्यक्ष भन्छन्- 'बन्द भएको होइन, मर्मत हुँदैछ'

|

विराटनगर : विराटनगरपालिका-१४ स्थित जतुवामा संचालन गरिएको बायोग्याँसको सेवा १३ दिनदेखि अवरुद्ध भएपछि सिलिण्डर फालेका सर्वसाधरण पुनः खरिद गर्न थालेका छन्। भदौ ५ गते प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेको बायो ग्याँस सोही ठाउँका ३२ घर परिवारलाई वितरण गरिएको थियो।

बायो ग्याँस उदघाटनका क्रममा प्रधानमन्त्री ओलीले काँधमा सिलिण्डरका डल्ला बोकेर पसल धाउनुपर्ने बाध्यता अन्त्य भएको घोषणा गरेका थिए। प्रधानमन्त्रीको उक्त घोषणा एकमहिना पनि टिक्न सकेन। उतिबेला घरमा भएका सिलिण्डर फिर्ता गरेका सर्वसाधरण अहिले पुनः खरिद गर्न थालेका छन्। विराटनगर-१४ की संगितादेवी गुप्ताले भदौ १८ गते रातीबाट ग्यास आपूर्ति बन्द भएपछि समस्या भएको जानकारी दिइन्। ग्याँस नियमित रुपमा नआइदिँदा समस्या आएको उनले बताइन्।

‘पाइपबाट भान्छामा नै ग्याँस आइसकेपछि सिलिण्ड फर्काएका थियौंं,’ उनले भनिन्, ‘पाइपबाट घरमा आएको बायोग्याँस आपूर्ति केही साताका लागि बन्द भएको जानकारी आएपछि पुनः सिलिण्डर खरिद गरेर ल्याएको छु।’ स्थानीय रीनादेवी मिश्रले प्रधानमन्त्री ओलीले उदघाटन गरेको तीन दिनपछि ग्याँस आपूर्तिमा समस्या हुँदै आएको र भदौ १८ गतेबाट पूर्ण रुपमा ठप्प भएको बताइन्।

विराटनगर-१४ जतुवास्थित घरघरमा पाइपबाट पुर्‍याएको बायो ग्याँसको औपचारिक रुपमा प्रधानमन्त्री ओलीले उदघाटन गरेको १३ दिनपछि  आपूर्ति बन्द भएको छ। ग्यास प्लाण्ट स्टेपलाइजर बिग्रेर र विद्युत्को  भोल्टेज नपुगेर आपूर्ति बन्द गरिएको हो। २०४४  सालमा स्थापना भएको गौसेवा सदनमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको संयोजन र विश्व बैंकको सहयोगमा एक करोड ५० लाखको लागतमा निर्माण भएको बायो ग्याँस प्लान्टको औपचारिक उदघाटन प्रधानमन्त्री ओलीले भदौ ५ गते गरेका थिए।

गौसेवा समितले परीक्षण कालको लागि उपभोक्तालाई साउन २० गतेदेखि नियमित ग्यास आपूर्ति गर्दै आएको थियो। पहिलो चरणमा ४०० मिटर पाइप ओछ्याएर ३२ घरमा ग्याँस आपूर्ति हुँदै आएको थियो। जिल्ला समन्वय समितिका वातावरण तथा उर्जा अधिकृत ज्ञानेन्द्र सिंहले स्टेपलाइजर बिग्रिएपछि ग्याँस आपूर्तिमा समस्या भएको बताए। स्टेपलाइजरको एक फेज जलेको र त्यसको मर्मतकार्य भइरहेको उनको भनाइ छ। एक साता भित्रमा सबै समस्याको समाधान भएर सहज रुपमा आपूर्ति हुने उनले जानकारी दिए।

ग्याँस प्लान्टबाट पाइपमा ग्याँस पठाउनका लागि कम्प्रेसर मेसिन चलाउन भोल्टेज नपुगेर पनि नियमित ग्याँस आपूर्तिमा समस्या भएको सिंहको भनाइ छ। ‘नियमित ग्याँस आपूर्तिका लागि न्यूनतम ३४० भोल्ट विद्युत आवश्यक हुन्छ,’ उनले भने,‘अहिले २२० सम्म मात्रै विद्युत रहन्छ। भोल्टेज समस्या समाधान गर्नका लागि जिल्ला समन्वय समितिले जेनेरेटर दिने भएको छ।’ 

गौसेवा सदनका अध्यक्ष शंकरलाल अग्रवालले महानगरपालिका क्षेत्रमा विद्युत पोल सार्ने काम भइरहेकोले दिनभरिसम्म लाइन नहुनु र लाइन भएको समयमा भोल्टेज नहुनुले नियमित ग्याँस आपूर्तिमा समस्या भएको बताए। उनले स्टेपलाइजर इलेक्ट्रोनिक्स सामान भएकोले बिग्रनु ठूलो कुरा नभएको र त्यसको मर्मत गर्ने काम ग्याँस प्लाण्ट निर्माण कम्पनीका प्राविधिकले गरिरहेको बताए। उनका अनुसार बाँकी रहेको ४८ घरमा पाइप ओछ्याएपछि एकै पटक नियमित ग्याँस आपूर्ति गर्ने योजना रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.