|

काठमाडौं : साझा प्रकाशनले संस्थामा लागेको ऋण तिर्न सरकारसँग ४० करोड रुपैयाँ आर्थिक सहयोग मागेको छ।

साझा प्रकाशनको टोलीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै विभिन्न समयमा लिएको ऋण तिर्न सरकारसँग आर्थिक सहयोग माग गरेको हो। ऋण तिर्न नसकेपछि ललितपुरको पुल्चोकस्थित केन्द्रीय कार्यालयको जग्गा लिलामीको लागि बैकले सूचना प्रकाशित गरेपछि साझा प्रकासनले सरकारसँग आर्थिक सहयोग मागेको हो। केन्द्रीय कार्यालय रहेको जग्गा लिलामीको लागि राष्ट्रिय सहकारी बैंकले सूचना निकालिसकेको छ। 

प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै संस्थानका अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्र शर्माले सरकारले आर्थिक सहयोग नगरे आफ्नो स्वामित्वका विभिन्न जग्गा बेचेर भएपनि केन्द्रीय कार्यालय रहेको जग्गा सकार्ने जानकारी दिए। आर्थिक अभावका कारण कर्मचारीलाई तलव खुवाउन र सेवा निवृत्त भएका कर्मचारीलाई उपदान उपलब्ध गराउन पनि समस्या परेको भन्दै महाप्रवन्धक शर्माले भूकम्पका कारण क्षति भएको कार्यालयको मर्मत गर्न नसक्दा पुस्तक संरक्षण गर्न पनि समस्या परेको बताए।

सरकारले सहयोग नगरे साझाले आफ्नो स्वामित्वमा रहेका विभिन्न सम्पति बेचेर ऋण तिर्ने सञ्चालक समितिले निर्णय गरिसकेको छ। साझाले तत्कालीन समयमा राष्ट्रिय सहकारी बैकबाट ४ करोड ६० लाख रुपैया ऋण लिएको थियो।

ऋणको व्याजसहित जनक शिक्षा लगायत अन्य सरकारी संस्थान र निकायसँगको ऋण पनि बढ्दै गएपछि साझा आर्थिक रुपमा धराशायी बनेको हो। ललितपुरको पुल्चोकमा चार रोपनी क्षेत्रफलमा साझाको केन्द्रीय कार्यालय छ। आर्थिक व्यवस्थापन गर्न नसक्दा विगतमा नाफामा रहेका सरकारी संस्थानहरु बिस्तारै धरासयी बन्दै गएका छन्। साथै साझाका प्रकाशन पनि पछिल्लो समय रोकिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.