|

लहान : सिरहाको मिर्चैया नगरपालिका ६ स्थित संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले तीन दिनको खाजा खर्च कटाएर ब्रेन ट्युमरले थलिएका किशोरलाई सहयोग गरेका छन्। 

उपचारका लागि रकम नहुँदा ब्रेन ट्युमरले थलिएका सिरहाको कर्जन्हा नगरपालिका ९ दनुवारी टोलका बासिलाल पासमानका जेठो छोरा १३ वर्षीय पप्पु पासमानको उपचारका लागि मिर्चैयास्थित टाइम्स स्कुलका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका हुन्।

स्कुलका विद्यार्थीहरुले बुधबार पासवानको घरमै पुगेर ३७ हजार नौ सय पाँच रुपैयाँ सहयोग गरेको स्कुलका प्रमुख विनोद पूर्वेले जानकारी दिए। ‘विद्यार्थीहरूले मंगलबारसम्म तीन दिनको खाजा खर्च जोगाएर पासवानलाई उपचार खर्च सहयोग गरिएको हो’ प्रमुख पूर्वेले भने। 

उपचार गर्न सकस

पाँच  स–साना छोराछोरी, श्रीमतीसहित सात जनाको परिवारका लागि दैनिक ज्याला मजदूरी गरिरहेका पासवान जेठा छोरा १३ वर्षीय पप्पुलाई भएको ब्रेन ट्युमरको उपचारका लागि तत्काल डेढ लाख रुपैयाँ नहुँदा अप्ठ्यारोमा परेका छन्। स्थानीय जनसेवा माविमा कक्षा ६ मा पढिरहेका छोरा पप्पुलाई पछिल्लो साउनमा विराटनगरस्थित न्यूरो अस्पतालमा १८ दिनसम्म उपचार गराउँदा पौने तीन लाख रुपैयाँ खर्च भएको पासवानले  बताए। 

‘गाउँलेहरुसँग चन्दा उठाएको पौने तीन लाख रुपैयाँ उपचारमा सकियो तर रोग निको भएन’ उनले भने ‘चन्दाबाट संकलन भएको रकम रित्तिएसँगै चिकित्सकले तत्काल भरतपुर क्यान्सर अस्पताल लैजान सुझाएपछि छोरा लिएर घर फर्किएँ' उनले भने, ‘गाउँमा उठाएको चन्दाको रकम पनि उपचारमा सकियो तर रोग निको भएन, छोराको अवस्था दिनदिनै खस्किएको छ। सम्पत्तिको नाममा दुई धुर घडेरी मात्र भएका पासवान भन्छन् ‘रकम नहुँदा छोरा उपचार नपाएर पीडामा छ।’

पप्पुका ठूलोबा दुखिन्द्र पासवानले स्थानीय गाउँले, इष्टमित्रहरुले पछिल्लो साउनदेखि नै ‘पप्पुको जीवन रक्षाका लागि सहयोग अभियान’ सञ्चालन गरेको बताए। अभियान अन्तर्गत पप्पुको उपचारमा सहयोग गर्न चाहनेहरूले कर्जन्हास्थित माछापुच्छ्रे बैंकमा रहेको खाता ७५–७६–५२४–६४७१४४–०१–५  मा सहयोग उपलब्ध गराइदिन पासवानले आग्रह गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.