|

झापा : २६ वर्षदेखिको झापाको दमक नगरपालिकामा रहेको भुटानी शरणार्थी शिविर बेलडाँगी १ खाली भएको छ। शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो। 

शरणार्थी तेस्रो मुलुक पुनर्वास तथा बाँकी रहेकालाई अन्यत्र स्थानन्तरण गरिएपछि दमक नगरपालिका–२ को उक्त शिविर खाली भएको शिविरका पूर्वसचिव सञ्चहाङ सुब्बाले बताए। खाली गर्ने क्रममा थोरै संख्यामा त्यहाँ बस्दै आएका शरणार्थीलाई बेलडाँगी –२ र ३ मा घर निर्माण गरी सारिएको सुब्बाले बताए। बेलडाँगीमा तीन वटा शिविर खडा गरेर शरणार्थीलाई राखिएको थियो। 

भत्काउन बाँकी केही पुराना छाप्रा र शरणार्थी रेखदेख कार्यालयको कंक्रिट घरबाहेक अन्य सबै घर भत्काएर सो क्षेत्रबाट शरणार्थी हटाइसकिएको छ। शरणार्थी शिविर स्थापनापछि बेलडाँगीमा १ मा धेरै संख्या २५ हजार रहेको र स्थानन्तरणको समयमा ७७४ जना रहेको शिविर व्यवस्थापन समितिले जानकारी दिएको छ। 

सन् २००७ देखि सुरु भएको तेस्रो मुलुक पुनर्वासपछि हाल बाँकी रहेका बेलडाँगी २ र ३ तथा पथरी शनिश्चरे शरणार्थी शिविरमा गरी जम्मा छ हजार १४३ जना मात्र दर्ता भएका शरणार्थी रहेको शिविर व्यवस्थापन समितिले जनाएको छ। शरणार्थी दर्ता हुनबाट बञ्चित भुटानी शरणार्थीको संख्या एक हजार ७४१ रहेको शरणार्थीले दावी गरिआएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.