|

काठमाडौं : मानवसेवा आश्रमले ७५ हजार राशिको ‘बाल हितकारी पुरस्कार’ प्राप्त गरेको छ। मानवीय सेवामा उत्कृष्ट कार्य गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफुनो ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको हो।

सडकमा बेवारिसे भएका बालबालिका तथा सडकमै बलात्कार भएर जन्मिएका बालबालिका तथा असहाय अपांगता भएका एवं मनारोगीहरूको उद्धार, उपचार, परामर्शसेवासँगै शिक्षादिक्षामा आश्रमले योगदान पुर्‍याउँदै आएको छ। आश्रमले बच्चादेखि वृद्धसम्मलाई उद्धार गरी सहयोग गर्ने गर्छ।

बुधबार आश्रमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले कदरपत्रसहित सम्मान प्रदान गरेका थिए। मन्त्री यादवले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारी नारालाई यथार्थमा परिणत गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अध्यक्ष लक्ष्मीदास मानन्धरले सरकारले दिएको जिम्मेवारी पूरा गर्दै सामाजिक सेवालाई समेत ध्यानमा राखी संस्थागत एवं सामाजिक उत्तरादायित्वअन्तर्गत यस्ता संघसंस्थाहरूलाई पुरस्कार तथा सम्मान गरेर हौसला प्रदान गर्दै आएको प्रतिक्रिया दिए।

आश्रमले विशेष गरी सडकमा रहेका बेवारिसे, असहाय, मनोरोगी तथा मागेरसमेत खान नसक्नेहरूलाई आश्रमले उद्धार गरेर पालनपोषण गरी परिवारमा समेत पुनर्स्थापित गर्दै आएको छ।

जसमा गर्भवती, भर्खरै जन्मिएका बालबालिकादेखि वृद्धवृद्धासम्मलाई आश्रमले उद्धार गर्दै आएको छ। अहिलसम्म आश्रमले देशभर गरेर एक हजारभन्दा बढीको उद्धार गरिसकेको छ। हाल आश्रममा ५०० जनाले सेवा लिइरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। करिब ४०० जनालाई परिवारमा पुनर्स्थपित समेत गरिसकिएको छ। हेटौँडा मुख्य कार्यालय रहेको आश्रमको चितवनसँगै, काठमाडौं ललितपुर, भक्तपुर, गोरखा, लमजुङलगायत १० जिल्लामा शाखा विस्तार गरेर सेवा दिँदै आएको छ।

यसमध्ये देशभर गरेर असहाय तथा सडकमै बलात्कृत भएका महिलाबाट जन्मिएका तथा बेवारिसे अवस्थामा फेला परेका ५३ जना बालबालिकालाई आश्रमले पालपोषण र शिक्षादिक्षा दिँदै आएको छ। उनीहरू सबैलाई आश्रमको गोरखा शाखामा राखेर सेवा गर्द आइएको गोरखाकी संयोजक सृजना ओलीले बताइन्।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले उक्त बालहितकारी पुरस्कारलाई यसवर्ष २५ हजार थपेर ७५ हजार बनाइएको जानकारी दिँदै उपभोक्ताहरूको हितमा कार्य गर्दै आएको र आगामी दिनमा समेत सेवा र क्षेत्र विस्तार गर्दै लगिने बताइन्। 

आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले  सरकारी निर्दशनअनुसार कर्पोरेशनले  सामाजिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएकोमा प्रशंसा गरे।

कर्पोरेशनको कर्मचारी संगठनका अध्यक्ष मेघराज ज्ञवालीले संस्थाको विकास र प्रगतिका लागि कर्मचारीहरू अहोरात्र लागेको भन्दै कर्मचारीका हितमा समेत सरकारले ध्यान दिनुपर्नेमा जोड दिए।

कर्पोरेशनको चितवनका प्रमुख बुद्धिविनोद दाहालले समाजमा अरू संस्थाभन्दा पृथक सेवा गरेको आश्रमले यसरी पुरस्कार पाउँदा अझै यस्ता कार्यगर्न हौसला मिल्ने बताए।

कर्पोरेशनको चितवनकै सिफारीसमा आश्रम सम्मानित भएको हो। आश्रम चितवन शाखाकी संयोजक रूपा केसीले सम्मानल काम गर्नमा अझै हौसला मिलेको प्रतिक्रिया दिइन्।

सो क्रममा साल्ट ट्रेडिङ कर्पोरेशनले आश्रमसँगै हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार, ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार प्रदानसँगै २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरेको थियो। सो क्रममा कर्मचारीका उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.