|

झापा (दमक): प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिम्मत कार्कीले प्रदेशको नामाकरण र राजधानी तोक्ने विषय दसैँअघि नै टुंग्याउने तयारी गरेको बताएका छन्।

झापाको गौरादहमा बुधबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले यसका लागि आन्तरिक तयारी तीव्र पारिएको जनाए। यस्तै, संसदीय समितिका सभापतिहरुको टुंगो पनि मन्त्रिमण्डल विस्तारसँगै टुङ्ग्याइने उनले बताएका छन्। प्रदेश-१ को नामाकरणका लागि कोसी, सगरमाथा, कञ्चनजंगा, किरात, मेची, लिम्बुवान लगायतका नामहरू बहसमा आए पनि सबैको राय परामर्शमा मात्र नाम राखिने उनको भनाइ छ।

त्यसैगरी, राजधानी राख्ने विषयमा विराटनगर, गाठगाउँ, धरान, धनकुटा, इटहरी लगायतका नामहरु प्रस्तावित भएकाले राजधानीको टुंगो पनि निकट समयमा उपयुक्त ठाउँमा राखिने उनले बताए। प्रदेश-१ का नागरिकहरुलाई सहज हुने स्थान, यातायात र  सुरक्षाका दृष्टिकोणले उपयुक्त स्थानमा राजधानी राखिने धारणा राखेका मन्त्री कार्कीको छ। प्रदेशको राजधानीभन्दा अन्य ठाउँमा पनि मन्त्रालयहरु राख्न सकिने बताउँदै मन्त्री कार्कीले भौतिक योजना, वातावरण, पर्यटन, भूमिसुधार, कृषि मन्त्रालयहरु दसैँअगाडि नै राखिसक्ने बताए।

प्राथमिकतामा कानुन निर्माण

मन्त्री कार्कीले प्रदेश-१ को प्रदेशसभा तथा सरकारले कानुन निर्माणलाई प्राथमिकता दिएको दाबी गरेका छन्। प्रदेश सरकारले हालसम्म  २१ वटा कानुन बनाइसकेको,  पाँचवटा कानुन बनाउने तयारीमा रहेको,  पाँचवटा कानुन बनाउन केन्द्रमा सिफारिस गरिसकेकाले दसैँ अगाडिसम्ममा ३० वटा कानुन बनाइसक्ने जानकारी गराए। प्रदेश-१ भित्र ७० वटा गाउँपालिकामा एम्बुलेन्स, प्रहरी चौकीहरूलाई यस वर्ष २ सय वटासम्म मोटरसाइकल दिने लक्ष्य रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.