|

नवलपरासी  : गैंडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले उपप्रमुखले आफ्नो कार्यकक्षमा तालाल गाई नेम प्लेटसमेत तोडफोड गरिदिएपछि चौतारोमै पत्रकार सम्मेलन गरेका छन्। तत्कालीन एमालेबाट निर्वाचित भएका प्रमुख पौडेल चौतारोमै बसिरहँदा कांग्रेसबाट निर्वाचित उपप्रमुख विष्णु कँडेल भने आफ्नो कार्यकक्षमै बसिरहेकी थिइन्।

हरितालिका तीजको दिन उपप्रमुख कँडेल महिलाहरूको दलबलसहित कार्यकक्षमा रमाइरहँदा प्रमुख पौडेल भने नगरपालिका गेट बाहिरको चौतारोमा पत्रकार सम्मेलन गर्दै पत्रकार अजय गोर्खाली कुटिएको विषय र कार्यकक्षमा ताला लगाएको विषयमा संचारर्कीहरूलाई जानकारी गराइरहेका थिए।

भदौ २२ गते  जनप्रतिनिधिले पत्रकार अजय गोर्खालीलाई हातपात गरेको र लछारपछार गरेको विषयमा भने उपप्रमुख कँडेलले बचाउ गरेकी छन्। कँडेलले कार्यपालिका बैठक चलिरहेको समयमा बिनापरिचय भित्र आएपछि कुटपिट गरिएको नभई बाहर निकालिएको बताएकी छन्।

नगरपालिकाका प्रमुख पौडेलले पत्रकार सम्मेलनका लागि पत्रकारहरूलाई खबर गरे पनि केही समय पत्रकार सम्मेलन कहाँ गर्ने भन्ने अन्यौलमा देखिन्थे। केहीबेरको अन्यौलतापछि पौडेलले चौतारोमै पत्रकार सम्मेलन गरेर उपप्रमुख कँडेलले माग्दैमा हिसाकिताब नदेखाउने भन्दै कँडेलले हिसाब हेर्ने बाहनामा महत्त्वपूर्ण कागजात घरमा लैजाने र नष्ट गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए।

प्रमुख पौडेलले गत भदौ १० गते नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम षड्यन्त्रपूर्वक कम्प्युटरबाट डिलिट गरिएको भन्दै उपप्रमुख कंडेलमाथि आफ्नो विश्वास नभएको बताए। पौडेलले भने 'उपप्रमुखलाई मात्र किन म नगर भित्रका सबै जनता, पत्रकार नागरिक समाज बुद्धिजीवि सबै सामु हिसाब देखाउन तयार छु तर कँडेललाई घरमा लिएर जान दिन्न।'

पत्रकारमाथी भएको हातपातको विषयमा भने पौडेलले दोषी ठहर भए जुनसुकै हालतमा कारबाहीको दायरामा ल्याउने दाबी गरे। नगरपालिकामा झडप हुन सक्के अवस्थालाई मध्यनजर गरी बाक्लो सुरक्षाकर्मीको उपस्थिति रहेको थियो।

पत्रकार अजय गोर्खालीले आफूलाई कुटपिट गर्ने दोषी भएपछि जनप्रतिनिधि नै भए पनि कानुनी कारबाही हुनुपर्ने बताएका छन्। जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गराएपछि इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक लोक जिसी ले प्रमुख, उपप्रमुख र सबै जनप्रतिनिधिको रोहबरमा छलफल गर्ने भनी नगरपालिकामा बोलाएकोमा आफू एक्लै नआउने र यो विषयमा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको रोहबरमा मात्र छलफल हुने भनी जानकारी दिएको बताएका छन्।

विवाद समाधानका लागि सात सदस्यीय कार्यदल गठन

नगरपालिकाको गत आर्थिक वर्षको हिसाब किताबको विषलाई लिएर उपप्रमुख कँडेलले प्रमुख छत्रराज पौडेलको कार्यकक्षमा तालाबन्दी गरिदिएपछि उत्पन्न विवाद समाधानका लागि कार्यदल गठन भएको छ। जिल्ला प्रशासन कार्यालयमा बैठक बसी कार्यदल गठन भएको हो।

नगरपालिकाको आर्थिक पाटो छानबिनका लागि कोष तथा लेखा प्रमुख कोष नियन्त्रक मोहनसरण भण्डारीको संयोजकत्वमा कार्यदल गठन भएको हो। कार्यदलको सदस्यमा नगर उपप्रमुख कँडेल, वडा नम्बर २ का वडा अध्यक्ष ध्रुवराम पौडेल, कार्यपालिका सदस्य कुमारी रेखा पौडेल, नगरसभा सदस्य कृष्ण सापकोटा, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द शर्मा भुसाल र नगरपालिकाका लेखा अधिकृत दुर्गा दत्त शर्मा रहेका छन्।

कार्यलले गत आर्थिक वर्षको २०७५ असार मसान्त सम्मको आर्थिक कारोबारसम्बन्धी श्रेस्ताको निरीक्षण गरी प्रमुख जिल्ला अधिकारी समक्ष प्रतिवेदन पेस गर्ने निर्णय भएको छ। जिल्ला प्रसासन कार्यालयमा बसेको बैठकमा पत्रकारमाथि हातपात भएको विषयमा भने कुनै छलफल नभएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.