|

पोखरा : पोखरा आइपुग्नेहरू फेवाताल अनि तालबाराही नपुग्ने कमै हुन्छन्। तालबाराही मन्दिर दर्शन गर्न जानेहरू तालको आडैमा रहेको टिकट काउण्टरमा टिकट काट्छन्, लाइफ ज्याकेट लिन्छन्। त्यही टिकट काट्ने ठाउँभन्दा करिब १० मिटर वर चौतारीमुनि एउटा युवक छाता ओडेर घुत्रुक्क परेर सधैँ बसिरहेका छन्। 

मन्दिर दर्शन गर्न जानेहरू उनलाई देखेर मुखले च्वच्व आवाज निकाल्दै तालबाराही पुग्छन्। फर्केर आउँदा पाँच, दशदेखि सय रुपैयाँसम्म सहयोग गरेर फर्कन्छन्। कसैले देख्नेवित्तिकै खल्तीबाट पैसा निकालेर सहयोग गरिहाल्छन्। सहयोग गर्नेहरूलाई उनले भन्छन्, ‘तपाई्रहरूलाई तालबाराही माता र बाग्लुङ भगवतीले रक्षा गरून्।’ 

विगत सात वर्षदेखि बाग्लुङको जैरी गाउँमा घर भएका ३१ वर्षीय दुर्गाबहादुर परियार (दुर्गे) तालबाराही मन्दिरको अगाडिपट्टि मागेरै बसिरहेका छन्। हात, खुट्टा सबै छन् तर उनको ज्यानले आफ्नै टाउको धान्न सक्ने स्थिति छैन। खुट्टा फिटिक्कै चल्दैनन्, काम गर्दैनन्। दुई हातको भरमा ज्यान अड्याएर बस्नुपर्ने बाध्यता छ उनको।

‘बाआमाले पनि छाडे’

जन्मेर बढ्दै जाँदा हिँड्न डुल्न नसकेपछि हो उनलाई बाआमाले छाडेको। मामा मोहन परियारले नै उनको रेखदेख गर्न थाले। दुर्गेलाई आफूले गर्दा मामाले दुःख पाएको कुरा मनमा खड्किरहन्छ। ‘मैले गर्दा मामाले कति दुःख पाउनुभएको छ’, दुर्गेले भने, ‘के गर्नु त मर्न पनि सकिएन। कि आमा कि मामा भन्ने उखान सुनेको थिएँ, त्यस्तै भयो भनेर चित्त बुझाएको छु।’ 

दुर्गेलाई बिहान बेलुका कोठामा ल्याउने लैजानेदेखि नुहाइदिने धोइदिने, शौचालय लगिदिने काम उनै मामाले गर्छन्। मामा पोखरामा सिलाइ कटाइको काम गर्ने भएकाले दुर्गेलाई पनि बाग्लुङबाट पोखरा ल्याएर तालबाराही मन्दिर अगाडि राखिदिएका हुन्।

‘सँगैका साथी देख्दा मन भक्कानिन्छ’ 

‘यो जुनीमा यस्तै भयो’, उनले भने, ‘यस्तै मागेर बसे पनि अर्काे जुनीमा म देश विदेश गएर कमाएर राम्रो ठाउँमा बस्छु। साथीहरू जसरी नै  रमाउँदै डुल्दै हिँड्छु। अर्काे जुनीमा चाहिँ राम्रो भएर जन्मन पाऊँ भनेर भगुमानसँग दिनदिनै मागिरहेको छु।’

आफूसँगैका साथीहरू देखेपछि दुर्गे मन थाम्नै सक्दैनन्। अनि आफू अपांग भएको, थला परेको सप्पै दोष भगवानलाई थुपार्छन्। ‘के गर्नु, भगुवानले जस्तो दे, त्यस्तै भोग्ने हो। कस्लाई दोष दिनू भगुमानले नै यस्तो पारिदिएपछि?’, उनले भने, ‘सँगैका साथी सबै हिँड्दा, सबै डुल्दा देश विदेश जाँदा, आउँदा आफूलाई पनि रहर लाग्छ नि!’ तर दुर्गेले कल्पना गरेका यी सबै कुराहरू आकाशको फल आँखा तरी मर भनेजस्तो भएका छन्। 

अर्काे जुनीमा विदेश जाने धोको 

एक पटक जन्मिएर मरेपछि मान्छेको सारा इहलीला समाप्त हुन्छ। तर दुर्गेलाई अर्काे जुनी हुन्छ र त्यो जुनीमा मानिसहरू यसरी नै जीवन चलाइरहेका हुन्छन् भन्ने विश्वास छ। अर्काे जुनीमा आफ्ना अहिलेका साथीहरू जसरी नै ठमठम गरेर हिँड्ने ठूलो धोको छ उनको। ‘यो जुनीमा यस्तै भयो’, उनले भने, ‘यस्तै मागेर बसे पनि अर्काे जुनीमा म देश विदेश गएर कमाएर राम्रो ठाउँमा बस्छु। साथीहरू जसरी नै  रमाउँदै डुल्दै हिँड्छु। अर्काे जुनीमा चाहिँ राम्रो भएर जन्मन पाऊँ भनेर भगुमानसँग दिनदिनै मागिरहेको छु।’  

प्रहरीले खेदेर हैरान 

अर्काको सहाराबिना दायाँबायाँ पनि फर्कन नसक्ने दुर्गेलाई बेलाबेला प्रहरी र नगरपालिकाका कर्मचारीले दुःख दिँदारहेछन्। ‘म कसैलाई केही घच्च नलगाई बसे पनि यो बैदामको पुलिस र नगरपालिकाले बसी खानु दिँदैनन्’, उनले भने, ‘यो पोखराका दाजुभाइ दिदीबहिनीले पनि इन्डियाको मान्छेलाई मागेर खान दिने, नेपाली दाजुभाइ, म जस्तो अपांगलाई नदिने गर्दाचाहिँ साह्रै नमजा लाउँछ। यहाँबाट गइहाल भन्छन्, साह्रै मन रुन्छ। कहिलेकाहीँ त रुन्छु पनि।’ 

तालबाराहीको अगाडि नै मर्ने रहर 

उनलाई मामाले बिहान ७ बजे नै तालबाराही अगाडि छाडेर जान्छन्। साँझ लिन आउँछन्। दिनभरमा पाँच–सात सयदेखि एक हजार रुपैयाँसम्म जम्मा हुन्छ। त्यो सबै मामालाई दिन्छन् उनले। ‘मामाले नै मेरो सेवा गर्नुभएको छ, मेवा त उहाँले खानै पर्‍यो’, उनले भने, ‘मामा हुनुहुन्थ्यो र त म यहाँ भगुमानको अगाडि आएर मागेर बस्न पाएको छु।’ उनलाई आफ्नो शरीरको स्वरूप नै एक भगवानको स्वरूपझैँ लाग्छ। ‘भगुमानको रूप लिएर जन्मेको छु, भगुमानकै अगाडि मर्न चाहन्छु। त्यै भएर त म भगुमानकै अगाडि बसेको हुँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.