|

रुकुम :  निजी क्षेत्रको प्रतिनिधिमुल संस्था जिल्ला उद्योग वाणिज्य संघमा आपसी विवादको कारण दुई महिनादेखि ताला लागेको छ। गत असार २२ गते देखि लगाइएको ताला अहिलेसम्म खुलेको छैन।

संस्था संञ्चालनका क्रममा बिभिन्न अवैधानिक काम भएको र वर्तमाण कार्यसमितिले आर्थिक पारदर्शिता कायम गर्न नसकेको आरोप लगाउँदै केही व्यवसायी र संघकै केही सदस्‍यहरूले रुकुम पश्चिमको सदरमुकाम खलंगामा रहेको कार्यालयमा तालावन्दी गरिएको छ। तालाबन्दीको कारण  संघको साधारण सभा तथा अधिवेशन समेत अन्यौलमा परेको छ भने कार्यालयबाट हुने नियमित कामकाजमा पनि प्रत्यक्ष असर परेको छ।

वि.सं. २०५२ सालमा स्थापना भएको रुकुम उद्योग वाणिज्य संघको ११ औँसाधारण सभा तथा अधिवेशन गत असार २२ र २३ गते गर्ने भनि तय भएकोमा अधिवेशन उद्घाटन हुनै लाग्दा संघका साधारण सदस्य तथा अन्य व्यवसायिहरूले साधारण सभामा अध्यक्ष, महासचिव र कोषध्यक्षद्धारा पेश गरिने प्रतिवेदन छलफलबाट अनुमोदन गरेर ल्याउनुपर्नेमा त्यसो नगरेकोे र हरेक बर्ष हुनुपर्ने साधारण सभा तिन बर्षसम्म हुन नसकेको आरोप छ।

त्यस्तै सदस्यता शुल्क, नविकरण शुल्क र दुई बर्ष अघि संघको आयोजनामा गरिएको महोत्सवको आय–व्यय सार्वजनिक नभएको तथा संघ मातहत रहेर सञ्चालन भैरहेका बिभिन्न परियोजनाको अवस्था एवम् संस्थाको अन्य आम्दानी र खर्चको विषयमा स्पस्ट नपारुन्जेल साधारण सभा तथा अधिवेशनको कार्यक्रम अगाडी बढ्न नदिने भन्दै विरोध गरेपछि भएपछि उक्त मितिमा निर्वाचन नगरी ताला लगाइएको थियो।

विवाद यतिमा मात्र समिति भएन अघिल्नो आर्थिक बर्ष २०७४/०७५ मा जिल्ला प्रशासन कार्यालयमा संस्था नविकरण नभएको भन्दै टेकबहादुर पुनको नेतृत्वमा रहेको रुकुम उद्योग वाणिज्य संघको वर्तमाण कार्यसमिति नै अबैधानिक भएको आरोप यतिबेला एक पक्षले लगारहेको छ भने पुन पक्षले यसको बचाउ गर्दै साधारण सभा पछि मात्रै संस्था नविकरण हुने दावी गर्दै आएको छ। 

संघका वर्तमान महासचिव नवराज गिरीको नेतृत्वमा एउटा र कोषध्यक्ष राजन पुनको नेतृत्वमा  अर्को फरक–फरक प्यानल बनाएर नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा जाने तयारी गरिएको थियो।  गिरीलाई वर्तमान अध्यक्ष पुनको समर्थन रहेको छ भने पुनलाई निवर्तमान अध्यक्ष वसन्त पुनको समर्थन रहेको छ। आफूले हार्ने देखेपछि बखेडा झिकेर पुन पक्षले अधिवेशन स्थगित गरेर तादलावन्दी समेत गरेको गिरी प्यानलले आरोप लगाएको छ भने पुन पक्षले भने आफूहरू संस्थालाई विधानतः लैजानुपर्छ भन्ने पक्षमा रहेको र आफूहरूले संस्थाको हितका लागि र सम्पर्ण व्यवसायीको पक्षमा आवाज उठाएको बताउँदै यो सबैको मुद्धा भएको बताए।

विधानतः निर्वाचित भएको तिन बर्ष कार्यकाल रहने कार्यसमितिको कार्यकाल गत मंसिर १ गतेसम्म थियो। त्यस बेला आम निर्वाचन परेका कारण अधिवेशन गर्न नसकिने भन्दै ६ महिना म्याद थपि गत असार २२ र २३ गतेका लागि अधिवेशन तोकिएको थियो। तोकिएको समयमा अधिवेशन हुन नसकी स्थागित भएपछि एक पक्षले वर्तमान कार्यसमितिको विधानतः कार्यवधी सकिएकोले अब तदर्थ समिति गठन गरेर जानुपर्ने बताईरहेको छ भने वर्तमान अध्यक्ष टेकहादुर पुनले अर्को निर्वाचन नहुञ्जेल आफ्नै नेतृत्वमा रहेको कार्यसमितिले नै अधिवेशन बनाएर संस्थालाई अगाडी बढाउने बताईरहेका छन्। ‘संस्था संञ्चालनका लागि आवश्यक पर्ने सबै प्रक्रिया र पद्धती पुरा गरिएको छ।’ अध्यक्ष पुनले भने, ‘सबै कुरा अहिलेको अहिल्यै सार्वजनिक गर्नुपर्ने भन्ने हुदैन। 

अनावश्यक वखेडा झिकेर हामिलाई विवादमा ल्याउने काम गरियो।’ कसैलाई पनि कुनै शंका लागेको खण्डमा स्वतन्त्र छानविन समिति गठन गरेर जान सकिने अध्यक्ष पुनले बताएका छन्। कार्यालयमा ताला नै लगाएर विरोध गर्नु उचित नभएको भन्दै अध्यक्ष पुनले तोकिएको मितिमा अधिवेशन गर्न नसकेको दुःख गरेका छन्।  यथासक्य चाडो अधिवेशन तथा साधारण सभा गराउनका लागि सरोकारवालाहरूसंग आवश्यक छलफल भैरहेको पनि अध्यक्ष पुनले बताए।

‘जसरी पनि अबिधेशन त गर्ने पर्यो, त्यसका लागि हामी बृहत छलफलमै छौं, अबको एक दुई सातामै समस्या समाधान भएर अधिबेशन गर्ने सोच हाम्रो हो’ उनले भने। लामो समय देखि उद्योग बाणिज्य संघमा ताला लागेपछि आन्तरिक राजश्य तिर्ने र व्यवसाय संचालनका लागि स्थायी दर्ता नम्बर लिने काममा समस्या भएको छ। आन्तरिक राजश्व कार्यालय दाङले रुकुमका व्यवसायीहरूलाई सहज बनाउन उद्योग बाणिज्य मार्फत मार्फत काम गर्दै आएको छ।   
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.