|

गुल्मी : पछिल्लो अवस्थामा स्वदेशमा रोजगारी भएन भन्दै बिदेसिने युवाहरूको संख्या ह्वात्तै बढिराखेको समयमा गुल्मीका एक युवाले नेपालमै गरे के हुँदैन र! चाहे सुन पनि नेपालमै फलाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन्। 

जिल्लाको रेसुंगा नगरपालिका- १० सिमिचौरका ४० वर्षीय विनोद कुँवरले व्यावसायिक कृषि गरेर मासिक दुई लाख रुपैयाँ आम्दानी गर्ने गरेका छन्। कुँवरको छ जनाको परिवार छ। उनले सात जनालाई मासिक १० हजार रुपैयाँका दरले रोजगारीसमेत दिएका छन्। कुँवरले विनोद कृषि फर्म दर्ता गरी ६० रोपनी जग्गामा ५० लाख रुपैयाँ लगानी गरेर अहिले लटरम्मै घिरौँला, लौका, सिमी फलाएका छन्। 

कुँवरले आठवटा प्लाष्टिक टनेलमा लगाएको व्यनसरी जातको टमाटर फल्ने क्रममा रहेको छ भने उनले सिँचाइका लागि तीनवटा प्लाष्टिक पोखरीमा पानी जम्मा गरी राखेका छन्। उनले तरकारीबाहेक लोकल कुखुरा, ब्रोइलर र बाख्रासमेत पाल्दै आएका छन्। जिल्लामा आउने ठूलाबडाहरूका लागि लोकल कुखुरा चाहिएमा कुँवलाई पहिले नै फोन जान्छ। कँुवर भन्छन्, ‘सात आठ जनाको परिवार पाल्न, छोराछोरीहरू पढाउन र मासिक दुई लाख कमाउन कोरिया जानुपर्दैन। परिवारसँग बसेर काम गर्न र सँगै साँझ बिहान खानको आनन्द फरक छ।’  

पहिले विदेश जानका लागि योजना पनि बनाए उनले तर नेपालमा नै केही गर्नुपर्छ भनेर लागे। सुरुसुरुमा काम गर्न लाग्दा ‘अरूका छोराहरूले विदेशमा गएर पैसा कमाएका छन्, यसले बिग्रिने काम गर्दै छ’ जस्ता शब्दहरू समेत गाँउलेहरूले भन्ने गरेको उनले स्मरण गरे। अहिले उनीहरूले नै स्याबासी दिने गरेको कुँवरको भनाइ छ। 

उनका दुई छोरा र एक छोरी रिडर्स बोर्डिङमा अध्यन गर्दै आएका छन्। कुँवर बिहान ६ बजेदेखि फर्ममा नै व्यस्त हुन्छन्। उनले जिल्ला कारागार कार्यालयमा र रिडर्स बोर्डिङलाई तरकारी पु¥याउने ठेक्कासमेत लिएको बताए। 

युवाहरूलाई विदेश नजान आग्रह

कुँवरले अहिले नेपालका ऊर्जावान् युवाहरूलाई विदेश नजान आग्रह गरेका छन्। नेपाल कृषिप्रधान देश भएकाले नेपालमा हावापानी र माटोले पनि साथ दिएको उनको बुझाइ छ। त्यसैले नेपालको माटोलाई सदुपयोग गरी सुन फलाउन सकिने उनी बताउँछन्। विदेशमा गएर विदेशीको गुलाम बन्नुभन्दा र दलालीको हातबाट नफसी घरपरिवारसँग हाँस्दै रमाउँदै मासिक दुई लाख रुपैयाँसम्म कमाउन सक्ने आधारहरू भएकाले कृषिमा नै लाग्न उनले सुझाव दिए। ‘काम गर्न सक्ने उमेर विदेशमा नै खर्चिने र पछि उमेर सकिएपछि पछुताउने चलनलाई अन्त्य गर्नुपर्छ’, उनले भने, ‘यस्तो परिपाटीलाई अन्त्य गर्नका लागि युवाहरू नै लाग्नुपर्छ। हामी जस्ताले नगरे कसले गर्ने?’  

कार्यालयको पनि सहयोग 

विनोद फर्मलाई जिल्ला कृषि विकास कार्यलय गुल्मीले नौ लाख रुपैयाँको मिस्टिङ सिँचाइ पूर्वाधारसहितको नर्सरी निर्माणका  लागि ग्रिन हाउस ७५ प्रतिशत अनुदानमा सहयोग गरेको प्राविधिक साहायक सनबहादुर रानाले बताए। रानाले कृषि कार्यालयले काम गर्ने युवाहरूका लागि सहयोग गरिराखेको र अब स्थानीय तहहरूले युवाहरूलाई स्वदेशमा नै टिकाइराख्नका लागि युवा लक्षित कार्यक्रमहरू ल्याउन आवश्यक रहेको बताए।

यता, रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले भने नेपाल कृषिप्रधान देश भएकाले कृषि गर्ने युवाहरूलाई नगरले दिल खोलेरै सहयोग गर्ने बताए। ‘किसानलाई सहयोग नगरे हामीले कसलाई सहयोग गर्ने?’, उनले भने, ‘त्यसैले युवाहरू व्यावसायिक  कृषिमा  लाग्नुहोस्, हामी सहयोग गर्छौं।’

उत्पादन भएका वस्तुहरूको बजारमा समस्या हुन नदिनका लागि नगरले हाट बजारसमेत संचालनमा ल्याउन लागेकाले ढुक्क भएर पेसामा लाग्न उनले आग्रह गरे। कुँवरले जिल्ला कृषि विकास कार्यालयबाट मात्रै नभई प्याक्टबाट पनि १० लाख रुपैयाँ बराबरको अनुदान पाइसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.