साम्य होला त पूर्वएमालेभित्रको विवाद?

|

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले पार्टीको सांगठनिक र तल्ला तहको एकतालाई आज पनि पूर्णता दिन सकेन। तत्कालीन एमाले र माओवादीको एकतापछि प्रदेश कमिटीको घोषणा गर्ने भनेर बसेको सचिवालय बैठकले एकताका क्रममा देखिएका विवादलाई साम्य पार्न एकीकरणको विधि र मान्यता बनाएर अगाडि बढ्ने निर्णय गरेको छ। 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बिहीबार प्रदेश र सांगठनिक एकतालाई पूर्णता दिन बैठक बस्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

प्रवक्ता श्रेष्ठले आजको बैठकमा सांगठनिक एकीकरणका कामहरूलाई अगाडि बढाउने सन्दर्भमा छलफल भएको बताए। बैठकपछि उनले भने, 'बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्षहरूको परामर्शबाट पारित भएको प्रतिवेदन सचिवालय बैठकमा प्रस्तुत गरेका थिए, जसमा अध्यक्षद्वयले थप कुरा राखेका थिए।' 

अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले कुरा राखेपछि थप छलफल भएको श्रेष्ठले जानकारी दिए। उनले पार्टीको तल्लो तहको एकता पनि टुंगो लाग्नेतर्फ गएको जानकारी दिए। 'उक्त कुराहरूमाथि छलफल गर्दै त्यसलाई टुंग्याउने दिशामा अगाडि बढ्ने क्रममा आज समय पर्याप्त नभएकाले बिहीबार ३ बजे बैठक बस्ने गरी आजको बैठक सकिएको छ', उनले भने। 

श्रेष्ठका अनुसार प्रदेश र जिल्ला तहको एकताका लागि विधि र मान्यता बनाएर अगाडि बढ्नुपर्ने कुरा सचिवालय बैठकमा उठेको थियो। आजको बैठकको प्रमुख निर्णय नै 'विधि र मान्यतालाई समझदारीमा टुंग्याउने र प्रदेश कमिटीलगायत अन्य कमिटी र संगठनको एकतालाई टुंगो लगाउने' रहेको श्रेष्ठको भनाइ थियो। 

पार्टी एकतालाई लिएर नेकपाभित्र शीर्ष तहमा नै असन्तुष्टि चुलिँदै आएको छ। पूर्व एमालेमा यो समस्या बढ्दै गएको सार्वजनिक भएको छ। अध्यक्ष ओलीले नेता नेपालको वर्चश्व रहेका जिल्लाहरूमा विधि र मान्यता मिचेको भन्दै विवाद सार्वजनिक भएको थियो। नेकपाले संघदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरूलाई पार्टी जिम्मेवारी नदिने र त्यसबाहेकका जिल्ला अध्यक्ष र सचिवलाई मुख्य रूपमा जिम्मेवारी दिने विधि बनाए पनि नेता नेपाल पक्षको वर्चश्व रहेका पश्चिमका कतिपय जिल्लामा अध्यक्ष र सचिवलाई नेतृत्व नदिएर आफूनिकट कनिष्ठलाई नेतृत्वमा प्रस्ताव गरेको भन्ने गुनासा आएका थिए। उक्त विवाद उठेपछि पहिलो पटक बसेको सचिवालय बैठकले उक्त विवाद साम्य पार्न पनि समझदारीमा नै विधि र मान्यता बनाएर अगाडि बढ्ने निर्णय गरेको हो।

हाल नेकपाका भ्रातृ संगठनहरू र प्रदेश, जिल्लालगायतका संगठनहरू एकताको प्रक्रियामा रहेका छन्। यीमध्ये अधिकांशले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाइसेका छन्। नेतृत्व नटुंग्याइएका ती प्रतिवेदनमा सहमति जुटाउन दुवै अध्यक्षहरूलाई जिम्मा दिइएको छ। 

गठबन्धन बनाएर संघीय र प्रदेशको चुनावमा गएका तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रको एकता जेठ ३ गते भएको थियो। त्यसपछि तल्लो कमिटी र भ्रातृ संगठनको एकता टुंग्याउने मिति तोकिए पनि पटक पटक सर्दै आएको छ। अहिले भने दुवै अध्यक्ष र सचिवालय पार्टी एकतालाई टुंगोमा पुर्‍याउने भनेर छलफलमा जुटेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.