यस्ता छन् अन्य निर्णय

|

पोखरा : बुधबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषदको २२औँ बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गरेको छ। बाग्लुङ नगरपालिका १ खुर्कोटका गोविन्दबहादुर नेपालीलाई राजनीतिक सल्लाहकारको रूपमा नियुक्त गरेको हो।

हाल नेकपाको केन्द्रीय सदस्यसमेत रहेका नेपाली २०३२ फागुन १२ गते पर्वत कुस्मा खुर्कोटस्थित बगैंचामा बाबु भीमबहादुर र आमा मनरुपाको कोखबाट जन्मेका हुन्। पृथ्वीनारायण क्याम्पसबाट राजनीतिक शास्त्रमा एमए गरेका नेपाली हाल खुल्ला विश्वविद्यालयबाट एमफिल अध्ययनरत छन्। उनले २०४५ सालमा अनेरास्ववियूबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन्।

‘मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको कार्य व्यवस्थापनका लागि राजनीतिक सल्लाहकार नियुक्त गरिएको छ’ प्रदेशका प्रवत्ता रामशरण बस्नेतले भने।

अस्पताल व्यवस्थापन समिति तोक्दै प्रदेश

गण्डकी प्रदेश भित्रका अस्पतालहरूको विकास समितिका अध्ययक्षहरू प्रदेश सरकारले तोक्ने भएको छ। बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको २२औँ बैठकले प्रदेशभित्र रहेका ११ वटा अस्पतालहरूको अध्यक्ष प्रदेशले नै तोक्ने भएको हो। अस्पताल विकास समिति गठन आदेश २०७५ पास गरेसँगै यसका लागि बाटो खुलेको प्रदेशका प्रवक्ता भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए।

‘अस्पताल विकास समिति यसअघि नै विघटन भएको हो’ मन्त्री बस्नेतले भने ‘अस्पताललाई चुस्तदुरुस्त बनाएर सूचारु गर्नका लागि समिति आवश्यक थियो  त्यसैका लागि समिति गठन गर्ने बाटो खुला भएको हो।’

अस्पताल विकास समितिका अध्यक्ष भने प्रदेश सरकारले तोक्नेछ। समितिको अन्य सदस्यहरूमा स्वास्थ्य र सामाजिक क्षेत्रमा क्रियाशिल एवं प्रतिष्ठित ब्यक्ति, स्थानीय तहको प्रमुख वा उपप्रमुख, उद्योग वाणिज्य संघ, वा वाणिज्य संघका प्रतिनिधि, जिल्लामा स्वास्थ्य क्षेत्रमा क्रियाशिल संघसंस्थाको प्रतिनिधि, अध्यक्षको सिफारिसमा मन्त्रालयले तोकेको दुई जना महिला र सम्बन्धित अस्पतालको मेडिकल सुपरिटेण्डेन सदस्य सचिव रहने ब्यवस्था छ। समितिको अध्यक्षले स्नातक तह पास गरेको हुनुपर्नेसमेत उल्लेख गरिएको छ।

‘अस्पताल विकास समितिले स्थानीय स्तरमै स्रोत साधन जुटाई, सेवा चुस्त र दुरुस्त रुपमा प्रदान गर्ने काम गर्छ,’ बस्नेतले भने ‘त्यस्तै अल्पकालिन, दीर्घकालीन योजनाहरू बनाउँछ। अस्पतालको भौतिक संरचनाहरु मर्मत संहारको काम, लक्षित वर्गलाई निःशूल्क उपचारको व्यवस्था समितिले गर्नेछ।’ अस्पताल विकास समिति गठन आदेशसँगै बुधबारको बैठकमा पाँच वटा एजेण्डाहरू पेस भएका थिए।

प्रदेश समन्वय परिषदको बैठक सञ्चालन कार्यविधि पास

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत नै प्रदेश समन्वय परिषदको बैठक सञ्चालन कार्यविधि स्वीकृत गरी पास गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन दफा १०५ ले परिषदको बैठक गर्ने व्यवस्था गरेअनुसार कार्यविधि स्वीकृत भएको कानुन सचिव धर्मराज कुइँकेलले जानकारी दिए।

‘स्वीकृत भएको कार्यविधि आगामी मंसिरभित्र बस्ने बैठकबाट पास हुन्छ’ उनले भने ‘गत बैशाख १४ गते बसेको पहिलो बैठकको कार्ययोजनाअनुसार बैठक कसरी चल्ने, बैठकमा कस्को भूमिका के रहने, प्रस्तावहरू कसरी लैजाने बोल्न चाहने ब्यक्तिले आफ्नो भनाई कसरी राख्ने भन्ने विषय अन्योल थियो अब यो स्वीकृत थियो। मंसिरभित्र बस्ने बैठकले यसलाई पारित गर्छ।’

कार्यविधी पास भएपछि बैठकहरु ब्यवस्थित हुने कुइँकेलको विश्वास छ। परिषदको बैठकले स्थानीय तहसँग समन्वय गर्न, योजना कार्यान्वयन गर्न भूमिका खेल्नेछ।

प्रदेश नीति तथा योजना आयोगको संगठन संरचना र दरबन्दी माग

बुधबार अर्को निर्णय पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसम्बन्धी नै भएको छ। बैठकले प्रदेश नीति तथा योजना आयोगको संगठन संरचना र दरबन्दी स्वीकृतका लागि संघीय सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ। विभिन्न सातवटा शाखामा २१ जना कर्मचारी दरबन्दी माग गर्ने निर्णय भएको हो।

सातवटा शाखाहरूमा प्रशासन शाखा, आर्थिक प्रशासन शाखा, अर्थ तथा वाणिज्य शाखा, भौतिक पूर्वाधार शाखा, सामाजिक विकास शाखा, सार्वजनिक नीति तथा साझेदारी शाखा र तथ्यांक शाखा रहनेछन्। आयोगको अध्यक्ष भने मुख्यमन्त्री रहेछन्। 

औषधि व्यवस्था विभागको माग

त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयमार्फत् औषधि ब्यवस्था विभाग औषधि ब्यवस्था कार्यालय गण्डकी प्रदेशमा स्थापना गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय गरेको छ। जिल्ला जिल्लामा औषधि वितरण, अनुगमन, औषधिको गुणस्तर मापन गर्ने लगायतका कामहरू प्रभावित भएको भन्दै  कार्यालय स्थापना गर्न माग गरेको मन्त्री बस्नेतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.