|

लहान : संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले जनमुखी काम गरेर नेपालमा कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी २५ वर्षसम्म शासन गर्ने बताएका छन्।  

नेकपाद्वारा सप्तरीको खडक नगरपालिका ५ खरचुहिया बजारमा बुधबार अपरान्ह आयोजित बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले अबको एक सूत्रीय एजेण्डा विकास रहेको र विकासका लागि यो सरकारले जनमुखी काम काम गर्ने उल्लेख गरे।

‘वर्तमान सरकारले ६५ प्रतिशत बजेट मधेसको विकासका लागि छुट्ट्याएको छ’ जनसभामा मन्त्री महासेठले भने ‘आगामी तीन वर्षभित्र हुलाकी राजमार्गको काम सम्पन्न गरी मधेसको समृद्धि र विकासलाई अगाडि बढाइने छ।’ मधेसवादी र कांग्रेसले तत्कालीन समयमा एमालेलाई मधेश विरोधी भनेर दुष्प्रचार गर्दै लामो समयसम्म मधेसको विकास नदिएको चर्चा गर्दै उनले भने ‘मधेसवादी दलहरू पटक–पटक सरकारमा गए पनि मधेसको पक्षमा काम गर्न नसकेको काम कम्युनिस्ट सरकारले गर्दैछ।’

मन्त्री महासेठले संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी परितयाग गरी नेकपामा प्रवेश गरेका जिल्लाका नेताहरूलाई योग्यता र क्षमताका आधारमा पार्टीभित्र उचित स्थान दिने अस्वासन दिए।

क्षेत्रीय अध्यक्षसहित पाँच सय प्रवेश

जनसभामा मन्त्री महासेठले संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष अयुव राईनको नेतृत्वमा करिब पाँच सय जनाको संख्यामा फोरम र राजपाका नेता कार्यकर्ताहरूलाई फूलमाला र अबिर दलेर पार्टीमा भित्र्याए। फोरम नेपालबाट खडक नगरपालिका ४ का निर्वाचित वडाध्यक्ष गंगाराम चौधरी पनि नेकपमा प्रवेश गरेका छन्। 

फोरम नेपालका जिल्ला सदस्य एवं खडक नगरपालिका ९ का वडाध्यक्ष उम्मेदवार, मो. सुलेमान मियाँ, राजपाका ५ नम्बर क्षेत्रीय अध्यक्ष मो. युनुस, तामाङ् घेदुङ्का सप्तरी जिल्ला अध्यक्ष सन्तमान तामाङ महिला फोरम नेपालकी क्षेत्रीय अध्यक्ष एवं जिल्ला सदस्य प्रेमशिला देवी कर्ण, महिला फोरमका जिल्ला सदस्य ललिता सदायलगायतका नेता कार्यकर्ताहरू नेकपा प्रवेश गरेका हुन्।

पार्टीमा नवप्रवेशी अयुव राईनले संघीयताका लागि आन्दोलन गरेको दावी गर्ने फोरमले संघीयताको मर्म बुझ्न नसकेको आरोप लगाउँदै भने ‘जातिवाद र नातावादले ग्रसित फोरमका नेताहरूको देखाउने र चपाउने दाँत फरकफरक रहेकाले पार्टीभित्र इमान्दार नेता कार्यकर्ता अटाउन सकेनन्।’

जनसभामा राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, प्रदेशसभा सदस्यद्वय गोविन्द न्यौपाने, रुवी कर्ण, नेकपाका केन्द्रीय नेता शेराज फारुक लगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले नव प्रवेशीहरूको स्वागत गर्दै बधाई दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.