|

बाँके : फौजदारी अभियोगमा अदालतले कैद सजाय र आर्थिक जरिवाना फैसलापछि फरार भएकालाई बाँके प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। भदौयता सात जना फरार रहेका दोषीलाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ। 

जघन्य अपराधमा अदालतले कैद तथा जरिवाना फैसला गरेकालाई पक्राउ गर्ने अभियान थालिएपछि एकपछि अर्को अदालतबाट दोषी करार ब्यक्ति धमाधम पक्राउ पर्न थालेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) अरुण पौडेलले बताए। उनले अभियानका क्रममा १५ भाद्र यता सात जना दोषीलाई पक्राउ गरेको जानकारी दिए। ‘अदालतबाट कैद तथा जरिवाना फैसला सुनाए पनि सजाय भुक्तान नगर्नेलाई पक्राउ गरि अदालतमा बुझाउन प्रहरीले अभियान थालेको छ,’ उनले भने।

२०७० सालदेखि लागू भएको ‘फैसला कार्यान्वयन’ लाई निरन्तरता दिँदै प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको उनले बताए। वन मुद्दामा नौ हजार चार सय जरिवाना तोकिएका साविक रझेना गाविस–२ का खेमलाल थारुलाई अभियान सुरु भएकै दिन पक्राउ गरिएको थियो।

प्रहरीकाअनुसार, लेनदेन मुद्दामा अदालतले एक वर्ष कैद तोकेको मुद्दामा नेपालगन्ज उपमहानगरपालिका–१९ का तिर्थराम कलवारलाई १८ भाद्रमा र लागू औषध मुद्दामा १३ दिन कैद सजाय फैसला सुनाइएका नेपालगन्ज उपमहानगरपालिका–१ का सरोज थापालाई २४ भाद्रमा पक्राउ गरिएको प्रहरी प्रमुख पौडेलले जानकारी दिए। 

त्यसैगरि, चोरी मुद्दामा दुई महिना चार दिन कैद र २१ हजार रुपैयाँ जरिवाना तोकिएका कोहलपुर नगरपालिका–२ का राजेश वैगारलाई २२ भाद्रमा र जवरजस्ती करणी मुद्दामा तीन बर्ष ६ महिना कैद सजायको फैसला भएका वैजनाथ गाउँपालिका–१ का पदम सुनारलाई १६ भाद्रमा पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ। यस अवधीमा कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक र जवरजस्ती करणी मुद्दामा फरार रहेका अर्का एक जनालाई पनि पक्राउ गरि अदालतमा बुझाइएको एसपी पौडेलले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.