|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीहरूलाई पत्ता नलगाएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले निर्मलाको बलात्कार र हत्यामा शक्तिशाली व्यक्तिको संलग्नता रहेको भन्दै उनीहरूलाई सरकारले सार्वजनिक गर्नुपर्ने बताए।

उनले उक्त काण्डको छानबिनका लागि गठन गरिएको उच्च स्तरीय समितिका सदस्य विरेन्द्र केसीको राजीनामा पनि निर्मलाका परिवारले न्याय नपाउने र उनलाई हत्याको धम्की आएकाले भएको बताए। २५ गते राजीनामा दिएका केसी बुधबार समितिमा फर्किसकेका छन्।

बडुले राज्य संयन्त्र नै अपराधमा संलग्न अपराधीलाई बचाउन लागेको भनेर आरोप लगाए। उनले राज्य संयन्त्रहरूलाई सरकारले चलाइरहेको छ वा कोही बाह्य शक्तिले भन्ने प्रश्न गरेका थिए।

बडुले तरुण दल रोल्पा नगरपालिकाका अध्यक्ष रोहित पुनको हत्या र खोजतलासका सम्पादक राजु बस्नेतको पक्राउको पनि विरोध गरेका थिए।

सभामुख कृष्णबहादुर महराले सरकारलाई प्रतिपक्षीले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गरेका थिए।

सभामुखले कांग्रेसका सांसदहरूलाई बस्न आग्रह गरेपनि बसेका थिएनन्। त्यसपछि संसद १० मिनेटका लागि स्थगित गरिएको थियो। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.