|

काठमाडौं : प्रहरीको हातहतियार लुट्ने र सरकारी कार्यालयमा बम विष्फोट गराउने तयारी गरेको एक समूहलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ।

मंगोल मुलबासी राष्ट्रिय फोर्स नामको भूमिगत संगठनका अध्यक्षसहित १३ जनालाई हातहतियार र विस्फोटक पदार्थसहित आइतबार प्रहरीले पक्राउ गरेको हो। उनीहरुले  विभिन्न प्रहरी कार्यालयमा आक्रमण गरी हतियार लुट्ने र सरकारी कार्यालयमा  विस्फोटन गराउने योजना बनाएको प्रहरीको दाबी छ।

पक्राउ पर्नेमा फोर्सका अध्यक्ष रुकुमका उपेन्द्र घर्तीमगर, पूर्वी क्षेत्र इन्चार्ज ताप्लेजुङका पृथ्वीनारायण लिम्बु र मध्य क्षेत्र इन्चार्ज रामेछापका टेन्डी शेर्पा छन्। यस्तै फोर्सको  केन्द्रीय सदस्य  बताउने पाँचथरका सचिन पालुङ्वा, एसटीएफ निमित्त कमाण्डर खोटाङका सुवास राई, सक्रिय सदस्यहरु सिन्धुपाल्चोकका रविन श्रेष्ठ, बनबहादुर स्याङबो, अजय तामाङ, रोल्पाका रामबहादुर बुढामगर, लोकबहादुर बुढामगर, चन्द्रबीर घर्तीमगर, दुजमान घर्तीमगर र जोगबहादुर घर्तीमगरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

उनीहरुको साथबाट प्रहरीले दुई नाल कटुवा पेस्तोल, दुई वटा रिभल्वर, त्यसको गोली १२ राउण्ड, विस्फोटक पदार्थ र पार्टीका विभिन्न दस्तावेजहरु बरामद गरेको छ। त्यसैगरी रोल्पाको सिउरीबाट नौ वटा भरुवा बन्दुक, दुई सय ग्राम बारुछ, शिशाको गोली २२ वटा र शिशाको छर्रा एक सय वटा, कम्ब्याट ड्रेस तथा पार्टीका दस्तावेजहरु बरामद गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले जानकारी दिए। 

'प्रहरी कार्यालय र सरकारी कार्यालयमा आक्रमण गर्ने योजनाका साथ उनीहरुले काठमाडौं र रोल्पामा हतियारसहित तयारी गरिराखेको अवस्थामा पक्राउ गरिएको हो, उनले भने,' हामीले गोप्य सूचनाको आधारमा पत्ता लगाई पक्राउ गरेका हौं। '

 प्रहरी इकाईहरुको निगरानी गरेर हतियार लुट्ने योजना बुन्दै गरेको १३ जनालाई नियन्त्रणमा लिइएको एआइजी थापाले बताए। पक्राउ परेकाहरुले  बैंक, वित्तीय संस्था र व्यवसायीहरुलाई लुट्ने योजना पनि बनाएका थिए। बैंक, वित्तिय संस्था र सुन पसलहरुमा समेत उनीहरुले निगरानी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको एआइजी थापाले जानकारी दिए।

 मंगोल नेशनल फोर्स, मुलबासी फोर्स (किराँत) र संयुक्त जातीय मुक्ति मोर्चाका केही व्यक्तिहरु मिलेर २०७२ सालमा मंगोल मुलबासी राष्ट्रिय फोर्स गठन गरेका थिए। उनीहरुले मंगोल नेशनल आर्मी भनेर मंगोल मुक्ति सेना र मंगोल मुक्ति कमाण्डो गरी दुई किसिमका सैन्य दस्ता समेत गठन गरेका थिए। विशेष प्रयोजनका लागि भन्दै ‍सैन्य कार्यदल समेत गठन गरेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.