|

नवलपरासी : उखु जति गुलियो र मीठो छ उखु किसानले भोगेको पीडा तितो र नमीठो रहेको छ। उखु खेतीबाटै जीवन निर्वाह गर्ने किसान जब चिनी मिललाई उखु बेच्छन् तब सुरु हुन्छ उनीहरूको पीडा। नत उचित मूल्य पाउँछन् नत समयमा मिलले भुक्तानी उपलब्ध गराउँछ। त्यसमाथि विचौलियाको मारमा पर्ने गरेका छन् किसानहरू।

नवलपरासीका उखु किसानले अहिले पनि सुगरमिल सञ्चालकहरूबाट करिव ४५ करोड रकम पाउन बाँकी रहेको छ। किसानको रकम भुक्तानीका लागि पटकपटक मिल सञ्चालकहरूसँग माग गरिए पनि सञ्चालकले भुक्तानी गर्न आनाकानी गरिरहेका छन्।

नवलपरासीमा सुस्ता गाउँपालिकाको कुडियामा रहेको वाग्मती सुगर मिल, प्रतापपुर गाउँपालिका लक्ष्मीपुरमा रहेको ईन्दिरा सुगर मिल र सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी मिलले किसानलाई करिव ४५ करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ।

किसानले आफूले पाउनुपर्ने रकम माग गरिरहँदा मिल सञ्चालकले चिनी बिक्री नभएको भन्दै भुक्तानी गर्न आनाकानी गर्दै आएका छन्। किसानको रकम भुक्तानीका लागि उखु उत्पादक कृषक समितिले पटकपटक मिल सञ्चाकलाई दबाव दिँदै आइरहेको छ। मिल सञ्चालकहरूसँग रकम भुक्तानीका लागि आग्रह गर्दा केही दिनभित्रै भुक्तानी गछौँ भन्दै झुलाउने गरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताए।

किसानसँग उखु खरिद गर्ने समयमा हारालुछ गरेर उखु उठाउने मिल सञ्चालकले नत किसानलाई सरकारले तोकेको मूल्य दिन तयार छन् नत समयमा भुक्तानी गर्न नै तयार हुन्छन्। उखु किसानको रकम भुक्तानीका लागि संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पटकपटक कडा निर्देन दिए पनि मिल सञ्चालकले बेवास्ता गर्दै आएका छन्।

मन्त्रीको चेतावनी आएपछि मिल सञ्चालकले नेपाल सरकारले आर्थिक वर्ष २०७४/०७५ का लागि तोकेको उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसाबाट प्रतिक्विण्टल ७० रुपैयाँ कम गरी भुक्तानी दिन सुरु गरेका थिए। उद्योगले अझै करिब ४५ लाख रुपैयाँ बराबरको रकम किसानलाई भुक्तानी गर्न अझै बाँकी रहेको छ।

उद्योगीले आफूले किसानलाई प्रतिक्विन्टल ४६४ रुपैयाँ ८० पैसा मात्र भुक्तानी गर्ने र बाँकी ७० रुपैयाँ सरकारले भ्याट र उखु प्रवर्द्धनको रकमबाट अनुदान उपलब्ध गराउने किसानलाई बताउँदै आएका छन्। भ्याट र उखु प्रवर्द्धनबापतको अनुदान रकम उद्योगीले बुझाउने कि सरकारले स्पष्ट नभएकोले किसानले अनुदान रकम पाउने/नपाउने अन्याेल रहेको छ।

चाडबाड नजिकिँदै गर्दा किसानले चाड मनाउने खर्चको समेत अभाव हुन थालेको गुनासो गरेका छन्। उखुको पैसा आउला र घर खर्च चलाउँला भन्ने आसमा रहेका किसान उद्योगले थमाएको पूर्जी हेर्दै दिन कटाउन बाध्य भएका छन्। चिनी मिल सञ्चालकले चिनी बिक्री नभएको कारण देखाएर किसानलाई झुलाइरहेको समयमा नेपाल सरकारले विदेशी चिनी आयात गर्दा उद्योगीलाई किसान ढाँट्न सजिलो भएको छ।

'उद्योगपतिले त किसानलाई शोषण गरेकै छन् राज्यले पनि किसान प्रति उदासिनता देखाएका कारण कृषक थप मारमा परेको बताउँछन्', उखु किसान लख्खु यादव। उद्योगीहरूले बिक्री भएको चिनीको समेत किसालाई भुक्तानी नगरी अन्यत्र लगानी गर्ने र किसानलाई पछि दिए पनि हुने भन्ने मानसिकताको विकास हुँदा किसानले समयमा भुक्तानी पाउन नसकेको यादवको भनाई छ।

'चाडबाड नजिकिँदै गर्दा घर खर्च कसरी चलाउने? बालबालिकाको स्कुलको 'फिस' कसरी तिर्ने? विरामी हुँदा उपचार गराउने रकम कहाँबाट ल्याउने? कमाई भनेको उखु बेचेको पैसा हो त्यहि पनि मिलले समयमा भुक्तानी गरेको छैन खर्च चलाउन अफ्ठेरो भइसक्यो किसानको मर्का कसले बुझिदिन्छ? राज्यले किसानको मर्का बुझेन किसानमा निरासा छाएको छ' उखु किसान यादवले गुनासो गरे।

बागमती सुगर मिलका सञ्चालक हुमकान्त लम्सालले किसानको अधिकांस रकम भुक्तानी गरिसकिएको र अब १५ देखि १६ करोड मात्र भुक्तानी गर्न बाँकी रहेको बताएका छन्। लम्सालले उद्योमा उत्पादित चिनी बिक्री हुन बाँकी रहेकोले बिक्री हुना साथ किसानको रकम भुक्तानी गरिने बताएका छन्। उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले भने नवलपरासीका तीनवटै उद्योगले करिब ४५ करोड किसानको रकम भुक्तानी गर्न बाँकी रहेको बताएकाछन्।

पहिल्लो समय उखु किसानले उद्योगबाट समयमा भुक्तानी नपाउने र उचित मूल्य नपाएपछि केरा खेतीतर्फ आकर्सित हुँदै गएका छन्। २०५९/०६० सालसम्म करिब ५८ लाख क्विन्टल उखु उत्पादन हुने नवलपरासीमा पछिल्लो समय १३ देखि १४ लाखसम्म मात्र उखु उत्पादन हुने गरेको बताइन्छ।

जिल्लामा कुल खेतीयोग्य जमिनमध्ये सात हजार १४१ हेक्टर क्षेत्रफलमा उखु खेती गरिँदै आइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.