|

काठमाडौं :  रङ र अक्षरसँग लामो समयदेखि रमाइरहेका छन्, चन्द्र रानहँछा। चन्द्र कवितालाई प्रेम गर्छन्, चित्रकलालाई जीवन ठान्छन्। गायक बन्न खोटाङबाट काठमाडौं छिरेका चन्द्र कवि बने। चित्रकार बने। गायक बने या बनेनन्, उनी आफैँलाई थाहा छैन। उनी साहित्यले पारिवारिक आर्थिक अवस्थालाई अपवादबाहेक परिवर्तन गर्न सक्दैन भन्ने ठान्छन्। तर समाज रूपान्तरणका लागि साहित्यको भूमिका महत्त्वपूर्ण रहेको उनको ठम्याइ छ।

स्कुल पढ्दाताका पढेका साहित्यकारको साहित्यिक रचना, व्यक्तित्व तथा विचारले समाजमा पारेको प्रभावले उनीहरूप्रतिको श्रद्धाले नै आफूलाई साहित्यकार बन्ने हुटहुटी जागेको उनले बताए। बालापनदेखि किशोरावस्थामा उकालो चढ्दै जाँदा यिनै साहित्यिक किताबको अन्तर्घुलनबाट नै यस क्षेत्रमा लाग्न अझ उत्प्रेरित गरेको बताउँछन् उनी। सुरुवाती चरणमा आफ्नो लेखनले कसलाई कस्तो प्रभाव पार्‍यो भन्ने कुरा त्यति ज्ञान नहुने तर आफ्ना रचनाहरूमा समाजका केही अवयवहरू जोडिन थालेपछि मात्र प्रभावले क्षेत्र विस्तार गर्ने उनको तर्क छ। 'त्यसपछि मात्र लेखकमा जिम्मेवारी बढेको महसुस हुने गर्छ। लेख्दै जाँदा आफ्नो लेखनको मूल्य र शक्ति पनि थाहा हुन्छ', उनी भन्छन्।

खोटाङको श्री मनकामना जनकल्याण माविमा पढेका उनी नेपाली पढाउने गुरुहरूले साहित्य लेखनमा उत्प्रेरित गरेको बताउँछन्। पाठ्यपुस्तक बाहिरका पुस्तकले पनि आफूभित्रको साहित्यिक चेतलाई उजागर गर्न सफल भएको उनको भनाइ छ।

कविता र चित्रकला नै जिन्दगी जिउने आधार बन्छ भन्ने कुरा आफूलाई कहिल्यै नलागे पनि समयको चक्रसँगै यसैमा आफू मिसिन आइपुगेको बताउँछन् उनी। 'आफ्नो जीवन र वास्तविकता नबुझेसम्म जीवनमा के लक्ष्य लिने भन्ने कुरा थाहा हुँदैन। गाउँमा कुनै पनि कला परिस्कृत गर्ने माध्यम थिएनन्', उनी भन्छन्, 'जे गर्थें, मनमोजी काम गर्थें।' स्कुल पढ्दादेखि नै रङसँग लुकामारी खेलेका उनी उच्च शिक्षा हासिल गर्नका निम्ति वि.सं. २०५४ काठमाडौं आइपुगे। चित्रकलामा आफूलाई अझ निखार्नका निम्ति कुनै क्लास नलिएको बताउँछन् उनी तर अक्षर पेन्टिङका निम्ति भने उनले बानेश्वरस्थित दिवाकरराज भट्टराईसँग अक्षर पेन्टिङ सिकेको बताउँछन्। भट्टराईसँग उनी पाँच वर्ष बसे। त्यसपछि उनी वागबजारमा 'साकेला आर्ट'लाई आफ्नो कार्यथलो बनाएर बसेका छन्।

त्यसबेला उनी गीत पनि लेख्थे। वि.सं. २०५६ सालमा 'चिनो रूमाल' भन्ने गीत बजारमा ल्याए तर उनका गीतहरू खासै चलेनन्। उनी खिस्स हाँस्दै भन्छन्, 'मेरो गायनले हावा नै खायो।' उनले त्यसबेला उपन्यासको पाण्डुलिपि पनि तयार पारेका थिए तर उनले त्यो उपन्यासको पाण्डुलिपि जतन गर्न सकेनन्। उनी भन्छन्, 'त्यो पाण्डुलिपिको कहिलेकाहीँ बहुत याद आउँछ।'

त्यसपछि मात्र उनले कविता लेखनमा हात हालेका हुन्। उनले २०५७ सालमा 'सम्झनाको आकाश' कविता लेखे। प्रेम गर्ने उमेरमा पुगेका उनले आफ्नो पहिलो कविता नै आफ्नी प्रेमिकाको नाममा प्रकाशित गरिदिए। 'प्रेममा सबथोक जायज हुन्छ भन्छन्, मसँग जे थियो सबथोक उसैको जस्तो लाग्थ्यो', उनी भन्छन्, 'तत्कालीन अवस्थामा मसँग कविता थियो। कविता नै मैले उनको नाममा गरिदिएँ।' त्यसपछि उनी लामो हाँसो हाँसे। साहित्य रचनाले पत्रपत्रिकामा स्थान पाउँदै जाँदा बजारमा उनको चर्चा हुँदै गयो।

समकालीन साहित्यकारहरूसँग घुलमिल हुँदै गयो उनको। श्रवण मुकारूङ, विप्लव ढकाल, शशि लुमुम्बू, राजन मुकारुङलगायतसँग संगत थियो। त्यसपछि स्वप्निल स्मृति, चन्द्रवीर तुम्बापो, रावतसँग चिनजान बढ्दै गयो। आठ र नौ कक्षामा उनलाई राजन मुकारुङले पढाएका थिए। उनलाई नेपाली साहित्यमा प्रवेश गर्न प्रेरणा दिने व्यक्तिका रूपमा राजन मुकारुङ पनि एक हुन्। 'शेरबहादुर थापा सरले नेपाली पढाउँदा किताबकै आन्तरिक कुरा बढी पढाउने गर्नुहुन्थ्यो', उनी भन्छन्, 'जब राजन सर आउनुभयो, तब किताबका मात्र होइन, बाह्य साहित्यका पुस्तकसँग पनि परिचित गराइदिनुभयो।' मुकारुङले साहित्यको सीमा, सौन्दर्य, भाषिकचेत तथा बोधका बारेमा ज्ञान दिएको उनी सम्झन्छन्।

पछि गीत लेखन र कविता लेखनको तीव्रता बढ्दै गयो। २०६७ सालमा आधा गीत र आधा कविताको 'मनमा आँधी चलेपछि' संग्रह उनले बजारमा ल्याए। तर उक्त कृति त्यति चर्चामा आउन सकेन। उनी भन्छन्, 'यस कृतिमा मेरा एकदमै आलाकाँचा रचना थिए।' साहित्यकारको सर्कल र साहित्यप्रतिको लगावले उनले २०६८ सालमा 'भाउजू लडेको भीर' कथासंग्रह बजारमा ल्याए। यो संग्रहले भने आफूलाई साहित्यमा स्थापित गरायो कि भन्ने महसुस भएको बताउँछन् उनी।

'कुनै पनि कवि वा कविता आफैँमा पूर्ण हुँदैन। यसका लागि अरूको कुरा सुन्न, बुझ्न र ग्रहण गर्न सक्नुपर्छ', उनी भन्छन्, 'हाम्रो सिर्जनाको जजमेन्ट अरूले गरेको मनपराउँदैनौँ हामी।'

विस्तारै कविहरूको संगत, अन्तर्क्रियात्मक गोष्ठीले कविताप्रति लगाव उनमा बढ्दै गयो। कतिपय कुराहरूको रहस्य पढेर भन्दा पनि साथीहरूको संगतले सिकाउने उनको तर्क छ। २०७१ सालमा उनले 'थिविया चराको गीत' (किराँती महिलाको आत्मा भन्ने चलन छ) कवितासंग्रह बजारमा ल्याए। नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले यो कृति छापेको थियो भने दोस्रो संस्करण कवि जीवित खड्का मगरले प्रकाशन गरिदिए। यस कृतिले प्रशस्त पुरस्कारहरू समेत पायो। सामान्य प्रतियोगितामा पनि भाग लिइरहन्थे उनी।

नेपालका अपवाद कविबाहेक सबैलाई एक पटक प्रज्ञाप्रतिष्ठानको कविता प्रतियोगितामा भाग लिएर पुरस्कृत हुने इच्छा हुन्छ। यो इच्छाबाट उनी पनि पर भाग्न सकेनन्। उनको इच्छा थियो, बरु तेस्रो स्थान नै किन नहोस् एकचोटि पुरस्कृत हुन पाए हुन्थ्यो। फलस्वरूप उनले नेपाल प्रज्ञाप्रतिष्ठानलाई लगातार चार पटक कविता पठाए। २०७४ मा उनको 'आँधीको यात्रा' कविताले प्रथम स्थान हासिल गर्‍यो। उनी भन्छन्, 'म प्रज्ञामा कविता पठाएर पुरस्कृत नभए पनि कविताले प्रशंसा बटुल्थ्यो, म यसैमा खुसी हुन्थेँ।'

खुसीको एउटा आयु हुन्छ। कवि भनेको परिवारका लागि बोझ हो भन्ने कुराको कहिलेकाहीँ महसुस हुने उनले बताए। आफ‍्नी जीवनसाथी अम्बिका राईको साथले मात्र कविता यात्रामा आफूलाई सहज भएको उनी बताउँछन्।  'कविता अनुत्पादक कुरा हो। कविता सिर्जना गर्ने समय अन्य कुनै क्षेत्रमा दिने हो भने हाम्रो आर्थिक हैसियत धेरै माथि जाने थियो', उनी भन्छन्, ' यस मानेमा भनेचाहिँ श्रीमती र परिवारलाई समेत मैले समय नदिइरहेको अवस्थामा आफू परिवारको बोझ भएँ कि भन्ने लाग्छ।'

लामो समय कविता लेखनमा लागेका उनी नेपाली कविको कमजोरी भनेको आफ्नो कविताको जजमेन्ट आफैँ गर्दै हिँड्ने भएको बताउँछन्। 'कुनै पनि कवि वा कविता आफैँमा पूर्ण हुँदैन। यसका लागि अरूको कुरा सुन्न, बुझ्न र ग्रहण गर्न सक्नुपर्छ', उनी भन्छन्, 'हाम्रो सिर्जनाको जजमेन्ट अरूले गरेको मनपराउँदैनौँ हामी।' यो मानसिकताबाट माथि उठ्नुपर्ने उनको धारणा छ। अहिलेको नेपाली कविता लेखनको विषयवस्तु धेरै फराकिलो भए पनि हामीले गहिराइमा पुगेर कविता लेख्न नसकेको अनुभव छ उनको।  'कवितामा सधैँ समस्याको चाङ मात्र थुपारेको अवस्था छ तर यी समस्याको समाधान पनि हामीले नै खोज्नुपर्छ', उनी थप्छन्, 'अर्को कुरा भोलिका दिनको सम्भावित  घटना परिवेश र सामाजिक अवयवहरू हामीले लेख्नुपर्छ।' 

नयाँ विषयमा पनि कवि लेख्न नखोजेको हो कि भन्ने भान हुन्छ उनलाई। दुई लाइन नयाँ विषयवस्तु हालेर फेरि आफ्नै पुराना कविताको बिम्ब हालेर टालटुले कविता लेख्ने प्रवृत्ति हामीकहाँ रहेको उनको दाबी छ भने कविता पनि मोहन कोइराला, भूपि शेरचन, गोपालप्रसाद रिमाल र बैरागी काइँलाको धारबाहेक अरू निर्माण गर्न नसकेको उनी बताउँछन्। 

यस वर्षको युवा वर्ष मोती पुरस्कार केशव सिग्देल र उनले प्राप्त गरेका छन्। चालीस वर्ष भन्दा कम उमेरका स्रष्टालाई मोतीराम भट्टको सम्झनामा दिइने यो पुरस्कारले आफूमा थप साहित्यप्रति जिम्मेवारीबोध भएको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.