|
प्रतीकात्मक फोटो

चितवन : भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापन गुरुयोजना निर्माणका लागि कोरियाली संस्थासँग बिहीबार सम्झौता सम्पन्न भएको छ। कोरियाली सरकारको मातहतमाको सुडोनोन ल्याण्डफिल साइट म्यानेजमेन्ट कर्पोरेशनसँग सम्झौता भएको हो।

सम्झौतापत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेशनका तर्फबाट अध्यक्ष सियो जु वनले हस्ताक्षर गरे। सम्झौतापत्रमा एक वर्षभित्रमा महानगरको फोहोरको अवस्था अध्ययन गरी फोहोर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख छ।

फोहोरको प्रकृति, मौसमअनुसारको फोहोरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिने छ। अध्ययनका लागि सात करोड रुपैयाँ खर्च हुने र सो रकम कोरियाली सरकारले व्यहोर्ने जनाइएको छ। सो अवसरमा महानगरपालिकाका प्रमुख रेणु दाहालले चितवनसहित छिमेकी जिल्लाको फोहोर व्यवस्थापन गर्नसक्ने गरी विस्तृत अध्ययन गरिने बताइन्।

कर्पोरेशनका अध्यक्ष वनले हाल सो संस्थाले विभिन्न देशका दुई करोड ५० लाख जनसङ्ख्याको फोहोर व्यवस्थापन गरिरहेको बताए। अध्ययनपछि फोहोर व्यवस्थापनका लागि कोरियाली सरकारले सहयोग गर्नसक्ने विश्वास व्यक्त गरे।

यसअघि सो संस्थासँग सन् २०१८ को जनवरी र मे मा छलफलपछि बिहीबार सम्झौता भएको हो। भरतपुर महानगरपालिकामा दैनिक ६५ टन फोहोर सङ्कलन हुने गर्दछ। निजी क्षेत्र र महानगरले त्यसको व्यवस्थापन गर्दै आएको छ । महानगरपालिका १ देखि ५ र ७ देखि १२ सम्म निजी क्षेत्रले र बाँकी सबै क्षेत्रको फोहोर महानगरपालिकाले सङ्कलन गर्दै आएको छ। महानगरमा २९ वडा छन्।

हाल महानगरपालिका३ स्थित नारायणी नदी किनारमा फोहोर व्यवस्थापन गरिँदै आएको छ। दीर्घकालीनरूपमा यसको व्यवस्थापन गर्न महानगरपालिका११ स्थित जलदेवी सामुदायिक वनमा १५ बिगाहा जग्गा छुट्याइएको छ। महानगरले वनलाई क्षतिपूर्तिबापत जिल्लाको माडी नगरपालिकामा जग्गा खरीद गरी वृक्षरोपण गरेको छ। कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, मिलनबाबु श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य ईश्वरी भट्टराई, नेपाली कांग्रेसका सभापति जीतनारायण श्रेष्ठ, महानगरका उपप्रमुख पार्वती शाह, कोरियाली कम्पनी प्रतिनिधि, वडाअध्यक्षहरू लगायतको उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.